कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसन

यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसन

आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनको नाम सार्वजनिक भइसकेको छ । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र सल्लाहकार समितिले विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनको नाम छनोट गरिएको हो ।

राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड उच्च शिक्षा तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि लक्षित अवार्ड हो । कलेजमा पढ्दै गरेका विद्यार्थीले बनाएका परियोजनालाई प्रोत्साहन र प्रवर्द्धन गर्न राइजिङ स्टार इन्नोभेसन अवार्ड प्रदान गरिन्छ ।

यस विधामा विद्यार्थीहरूले बनाएका आईटी प्रोजेक्ट तथा आईडियालाई नोमिनेशनको लागि समावेश गरिएको थियो । यस वर्षको आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १३ विद्यार्थीका आईडिया यस प्रकार छन् ।

इन्टर्नसाथी

इन्टर्नसाथी इन्टर्नसीप प्रदान गर्ने प्लेटफर्म हो । यसले इन्टर्नसीपको आवश्यकता भएका कम्पनी र व्यक्तिलाई जोड्ने काम गरेको छ । इन्टर्नसाथीबाट अहिलेसम्म ३८० बढीले इन्टर्नसीप पाइसकेका छन् । 

प्रष्ट नेपाली

प्रष्ट नेपाली, नेपाली व्याकरणको शुद्धाशुद्धी  पहिचान गर्ने, भाषा सच्याउने एवम् प्रवर्दन गर्ने सप्टवेयर हो । यस बाहेक प्रष्ट नेपालीमा हिज्जेको गल्ती सच्याउने, एआईको माध्यबाट व्याकरण परिक्षण गर्छ, वाक्य गल्ती भए पुनर्लेखन गर्ने समेत सुविधा छन् । 

ब्ल्यांकसर 

ब्ल्यांकसर, ई-कमर्स अर्थात अनलाइन व्यापार सञ्चालन गर्न सघाउने सजिलो माध्यम हो । यसबाट विभिन्न ई-कमर्सका लागि आवश्यक वेबसाइटहरू बनाउन सकिन्छ । यसमा छिटो रेस्पोनसिभ सुविधा, वेबसाइट कस्टुमाइजेसन, अनलाइन पेमेन्ट लगायतका सुविधा रहेका छन् ।  

क्याटल मनिटरिङ सिस्टम

क्याटल मनिटरिङ सिस्टमले गाईको हरेक गतिविधि निगरानी गर्न सकिने डिभाइस हो । यसबाट रियलटाइममा गाईले खाएको, सुतेको, स्वास्थ्य अवस्था, प्रडक्टिभिटी लगायत निगरानी गर्न सकिन्छ । यसमा जीपीएस लोकेशन ट्रयाकिङ पनि जडान गरिएको छ । 

दृश्य

दृश्य एउटा एआई असिष्टेन्ट स्मार्ट ग्लास हो, जसले आँखा नदेख्नेलाई उनीहरुलाई अगाडि के भैरहेको छ भनेर जानकारी दिन्छ । दृश्य प्रयोग गरेर डकुमेन्टहरुमा टेक्स्टमा छ भने त्यो टेक्टलाई एआईको माध्यबाट पढ्न सकिन्छ । अगाडी कुनै एक्टिभिटी भैरहेको छ भने त्यसलाई बुझ्न पनि सकिन्छ । 

इपिसेन्टर होस्टिङ

इपिसेन्टर होस्टिङ एउटा होस्टिङ प्लेटफर्म हो । आफ्नो सेवालाई भरपर्दो बनाउन इपिसेन्टर होस्टिङका २२ देशमा ३३ वटा सर्भरहरू रहेका छन् । सर्भर माइक्रोसफ्टले प्रदान गरेको छ । साथै यसमा सातै दिन २४ सै घण्टा ब्याकअपको सुविधा रहेको छ । 

लोचन

लोचन पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीले तयार पारेको मानिसलाई पहिचान र लोकेटिङ गर्ने एआईमा आधारित सिस्टम हो । यसका लागि सिस्टममा थर्मल इन्फ्रारेड इमेजेज र योलो प्रयोग गरिएको छ । लोचनमा जीआईएस र ड्रोन समेत एकीकृत गरिएको छ । 

ओम्निकल

ओम्निकल सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने प्रणाली हो । भेकललाई ट्रयाक गरेर ओनरलाई, प्यासेनजरलाई र बस अर्गनाइजेसनलाई रियल टाइममा मोबाइल एपको माध्यबाट जानकारी दिने काम ओम्निकलले गर्छ । ओम्निकलको मोबाइल एपबाट गाडी मालिकले गाडीको परफर्मेन्स, हेल्थ र रियल टाइम एक हेर्न सक्छन् भने यात्रुले एक ठाउँबाट अर्को ठाउँ जाँदा कुन गाडी कहाँबाट चढ्ने, गाडी कहाँ आएको छ र अहिले भाडा कति लाग्छ जस्ता आफूलाई चाहिने सबै जानकारी लिन सक्छन् । 

वेयरप्लान मिरर 

फेसन शपिङको अनुभवलाई उत्कृष्ट बनाउन वेयरप्लान मिररको डिजाइन गरिएको हो । यसबाट ऐनामा हेरेर कुन कपडा आफुलाई फिट हुन्छ वा हुँदैन चेक गर्न सकिन्छ । ऐनामा रहेको क्युआर स्क्यान गरेपछि मोबाइलमा कपडाको लिष्ट आउँछ र फोटो खिच्ने अप्सन पनि आउँछ । कपडाको लिष्टमा गएर आफूलाई मन परेको, सुहाउँदो कपडा त्यहाँबाट ट्राइ गर्न सकिन्छ । छाटो समयमा नै ऐनाले कपडा फिट गरिदिन्छ ।  

स्पीड डिटेक्सन एण्ड नम्बर प्लेट 

स्पीड डिटेक्सन एण्ड नम्बर प्लेट ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै डिजाइन गरिएको सिस्टम हो । यसले २४ सै घण्टा सर्भिलेन्स क्यामराको माध्यमबाट गाडीहरुलाई मोनिटर गरेर रियल टाइममा गाडीको स्पीड र नम्बर प्लेट पत्ता लगाउन सघाउछ । 

ड्रेसन

फोटोको माध्यबाट आफूलाई चाहिने कपडा छान्न सघाउने प्लेटफर्म हो, ड्रेसन । यसले स्किन अन्डरटोन, मेजरमेन्ट र शरिरको आकारलाई विश्लेषण गरे आफुलाई कुन कपडा फिट हुन्छ, त्यसको बारेमा जानकारी दिन्छ ।

ई-बाहन

ई बाहनले विद्युतीय सवारीसाधनको क्षेत्रमा काम गर्न खोज्दै छ । यसले आईसीमा आधारित सवारीसाधनलाई कन्भर्ट गरेर विद्युतीय सवारीसाधनमा लैजाने गरेको छ । च्यासिस र ब्याट्री समेत नेपालमै बनाउने तयारीमा छ । 

ब्लकचेन नेटवर्क फर ई-गभर्नेन्स

​​​​​​​नेपालको कानुनमा आधारित रहेर संरचना प्रोटोकलमा बनाइएको परियोजना हो, ब्लकचेन नेटवर्क फर ई-गभर्नेन्स । यसले उद्यमी, सफ्टवेयर कम्पनीलाई डीएलटी प्रविधि अगाल्न सजिलो बनाउछ ।