कीवर्डहरू -

विद्यार्थीले बनाए नेपालको आफ्नै प्राइभेट ब्लकचेन नेटवर्क

विद्यार्थीले बनाए नेपालको आफ्नै प्राइभेट ब्लकचेन नेटवर्क

सगरमाथा कलेजमा पढ्ने ४ जना विद्यार्थीको समूहले तयार पारेको परियोजना हो, ब्लकचेन नेटवर्क फर ई–गभर्नेन्स । ललितपुरको सानेपा स्थित सगरमाथा इन्जिनियरिङ कलेजका विद्यार्थी प्रशान्त सोनी र राहुल यादव, रितिक कृष्ण श्रेष्ठ र निष्ता थापाले नेपालका लागि प्राइभेट ब्लकचेन नेटवर्क बनाउने गरी २ वर्ष अगाडि यो परियोजनामा काम गर्न सुरू गरेका थिए ।

पछिल्लो समय धेरै कम्पनीहरूले आफ्नै ब्लकचेन नेटवर्क बनाइरहेका छन् । तर त्यसको शुल्क एकदमै महंगो हुने गरेको छ । यही समस्यालाई ध्यानमा राखेर ब्लकचेन नेटवर्क फर ई–गभर्नेन्स सुरू गरिएको हो । यसमा सजिलैसँग सबै कम्पनीहरुले आ–आफ्नो सर्भर कनेक्ट गरेर नेटवर्क जडान गर्न सक्छन् र त्यो कम्पनीहले आफ्नो आफ्नो एप्लिकेसन नेटवर्कमा डिप्लोए गर्न सक्छन् । यसो गर्दा कष्ट कम हुन्छ । 

ब्लकचेन नेटवर्क फर ई–गभर्नेन्स, नेपालको कानुनमा आधारित रहेर काम गर्ने संरचना प्रोटोकलमा बनाइएको छ । यसले हरेक क्षेत्रका उद्यमी तथा सफ्टवेयर कम्पनीलाई डीएलटी प्रविधि अगाल्न सजिलो बनाउने ब्लकचेन नेटवर्क फर ई–गभर्नेन्सका संस्थापक प्रशान्त सोनीले बताए ।

‘अहिले हाम्रो देशमा धेरै सफ्ट्वेयर कम्पनीहरुले क्रिप्टाकरेन्सी सोलुसन बनाइरहेका छन्,’ उनले भने, ‘तर, नेपालमा क्रिप्टोकरेन्सी बन्द भएपछि ब्लकचेन नेटवर्क प्रयोग गर्न पाएका छैनन् । त्यसैले हामीले नेपालको लागि प्राइभेट ब्लकचेन नेटवर्क बनाएका हौं । जुन निजी हुन्छ ।’

यो प्राइभेट नेटवर्क नेपालमा मात्रै चलाउन मिल्छ । यसमा संस्थाहरू मात्रै जोडिन पाउँछन् । यो पब्लिक हुँदैन् । यसमा गोपनीयताको फिचर समेत छ । यसमा भएको प्राइभेसी फिचर इनेबल गरेपछि एउटा कम्प्युटरमा भएको डाटा अर्कोमा नजाने बताइएको छ । 

ब्लकचेन एकदमै प्राइभेट हुन्छ, जसले गर्दा आफूसँग भएको डाटा अन्य कम्प्युटरमा देखिदैन । यसलाई ह्याक गर्न पनि कठिन हुन्छ ।