काठमाडौं । उद्योग संगठन मोरङको आयोजनामा आगामी पुस २ देखि ११ गतेसम्म (डिसेम्बर १७ देखि २६, २०२६) विराटनगरको डिग्री क्याम्पस परिसरमा ‘विराट एक्स्पो २०२६’को नवौँ संस्करण आयोजना हुने भएको छ ।
‘द इकोसिस्टम अफ अपर्च्युनिटीज’ (अवसरहरूको पारिस्थितिकी प्रणाली) भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
करिब तीन दशकअघि व्यापार र उत्पादन प्रदर्शनमा मात्र सीमित रहेको एक्स्पोलाई यसपटक भने अवसरहरूको प्लेटफर्मका रूपमा विकास गरिएको छ ।
उद्योगीलाई दक्ष जनशक्ति, स्टार्टअपलाई लगानी, युवालाई रोजगारी, विद्यार्थीलाई करियर मार्गदर्शन र लगानीकर्तालाई सम्भावनासँग जोड्ने उद्देश्यका साथ एक्स्पोलाई १० वटा अवसर क्षेत्र र ६ वटा एकीकृत प्लेटफर्ममार्फत डिजाइन गरिएको छ ।
एक्स्पोमा ‘लर्न फर द फ्युचर’, ‘स्टार्टअप एन्ड इन्टरप्रेन्योरसिप पभिलियन’, ‘बिडिएस कनेक्ट’ (व्यावसायिक विकास सेवा), ‘विराट बिजनेस समिट २०२६’, ‘बिजनेस एक्जिबिसन’ र दैनिक साँस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षणका रूपमा रहनेछन् ।
तीन दिने बिजनेस समिटमा १८ वटा जिल्लाका आर्थिक तथा व्यावसायिक सम्भावना प्रस्तुत हुनुका साथै नेपाल-भारत र नेपाल-बंगलादेश बिजनेस फोरम तथा अफरचुनिटी वाल (अवसर पर्खाल) समेत राखिनेछ ।
कुल २७५ भन्दा बढी स्टलहरू रहने यस एक्स्पोमा १५० भन्दा बढी औद्योगिक तथा कर्पोरेट, ५० कृषि तथा साना उद्यम, २० अटोमोबाइल र १२ खाद्य स्टलहरू रहनेछन् ।
कोशी प्रदेशका १४ वटै जिल्लाका कृषि, महिला, घरेलु तथा साना उद्यमीका उत्पादनका साथै सुनसरी-मोरङ औद्योगिक करिडोरका प्रमुख उत्पादनहरूलाई विशेष प्राथमिकता दिइनेछ । हाल एक्स्पोको तयारी तीव्र गतिमा भइरहेको र छठ पर्वपछि निर्माणको काम सुरु गरिने आयोजकले जनाएको छ ।
एक्स्पोमा २ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता, ३०० भन्दा बढी कम्पनी, २५ हजार विद्यार्थीको सहभागिता, २ हजार युवालाई रोजगारीको अवसर र २० वटा लगानीयोग्य स्टार्टअपलाई लगानीकर्तासमक्ष प्रस्तुत गर्ने लक्ष्य राखिएको छ ।
यस वर्षको टाइटल स्पोन्सर ‘एक्सट्रिम इनर्जी ड्रिंक्स’ रहेको छ भने ‘पावर्ड बाइ’ मा ‘सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्स’ रहेको छ । त्यसैगरी डाइमन्ड, गोल्ड र सिल्भर स्पोन्सरका रूपमा विभिन्न प्रतिष्ठित उद्योग तथा वित्तीय संस्थाहरू जोडिएका छन् ।
प्रदेश सरकार, विराटनगर महानगरपालिका तथा स्थानीय व्यावसायिक संघ संस्थाहरूको प्रवर्द्धन र सहयोगमा एक्स्पो सञ्चालन हुन लागेको हो ।
आईसीटी समाचार