कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १४ प्रडक्ट

यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १४ प्रडक्ट

आइसिटी अवार्ड २०२३ मा उत्कृष्ट १४ प्रडक्ट छनोट भइसकेका छन् ।

आइसिटी अवार्डको प्रडक्ट विधामा प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र सल्लाहकार समितिले विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट १४ प्रडक्टको नाम छनोट गरेको हो ।

प्रडक्ट आइसिटी अवार्डमा कुनै पनि नेपाली कम्पनी, संस्था, समुह वा व्यक्तिले गत एक वर्षकोबीचमा विकास गरेको आइटी प्रडक्टले आवेदन दिन सक्ने व्यवस्था रहेको छ । 
यस वर्षको आइसिटी अवार्डका उत्कृष्ट १४ प्रडक्ट यस प्रकार छन् ।

विधि एचआर एण्ड पेरोल व्यवस्थापन सफ्टवेयर

विधि एचआर (ह्युमन रिसोर्स) एण्ड पेरोल व्यवस्थापन सफ्टवेयर क्लाउडमा आधारित प्रणाली हो । सफ्वटवेयर कम्पनी विधिले विकास गरेको यसमा कर्मचारी सूचना, पेरोल एण्ड बेनिफिट, रिपोर्ट, रिक्रुटमेन्ट एण्ड हाइरिङ, एटेन्डेन्स, लिभ, सीफ्ट, इभेन्ट, नोटिस, लोन, कर व्यवस्थापन लगायत ४० बढी मोड्युलहरू रहेका छन् । विधि सफ्टवेयर १०० बढी संस्थाले प्रयोग गरिरहेका छन् भने २८ जनाले रोजगारी पाएका छन् । 

बिस्कुन डटकम

बिस्कुन डटकम अनलाइन मार्केटिङ प्लेटफर्म हो । सन् २०१७ मा बिस्कुनको कन्सेप्ट आएपनि सन् २०२३ को मेमा मात्रै सार्वजनिक भएको थियो । यसले कुनै पनि सेवा वा वस्तु किन्ने र बेच्नेलाई जोड्ने काम गर्दछ । एडभरटाइजर र सिकरबीचको ग्यापलाई कम गर्न तयार पारिएको बिस्कुनमा ३२५ बढी क्याटेगोरीहरू छन् । यसमा ३ हजार बढी भेरिफाइड प्रयोगकर्ता छन् भने १ हजार बढी नियमति प्रयोगकर्ता रहेका छन् । 

डिजिबज

डिजिबज पब्लिक अनाउन्समेन्ट प्रणाली हो । क्लाउडमा आधारित डिजिबजमा रियल टाइममा जुनसुकै ठाउँमा समेत कन्टेन्ट अपलोड गर्न सकिन्छ । यसबाट कुनै सूचना, सेवा, प्रडक्ट वा जनचेतनाका अडियो तथा भिडियो सामग्री देखाउन सकिन्छ । यसमा भेहिकल ट्रयाकिङ गर्न सकिने सुविधा समेत छ । यो सिस्टम अहिले देशका ६९ बढी बसमा चलिरहेको छ । 

ईमेडी वेयर

ईमेडी वेयर वेबमा आधारित क्लाउड बेस्ड अस्पताल व्यवस्थापन सफ्टवेयर हो । यसले अस्पतालको सञ्चालन, व्यवस्थापन र रिपोर्टिङ सघाउँछ । यो सफ्टवेयर अहिले २० बढी अस्पतालमा प्रयोग भइरहेको छ । सिस्टमबाट दैनिक ३ सय बढी अपोइनमेन्ट हुँदै आएको छ ।  

फास्टबैंकिङ

फास्टबैंकिङ स्विफ्ट टेक्नोलोजी विकास गरेको डिजिटल बैंकिङ प्रडक्ट हो । यो एक वृहत र उन्नत डिजिटल बैंकिङ प्रणाली हो, जो ओम्नी च्यानलमा आधारित छ । फास्ट बैंकिङ १.८ मिलियन प्रयोगकर्ताले प्रयोग गरिरहेका छन् भने त्यसबाट दैनिक औसतमा १ लाख ९० हजार कारोबार हुँदै आएको छ ।  

जस्ट चेक
जस्ट चेकले कम्पनी दर्ता गर्ने र त्यसपछिको सेवा प्रदान गर्दै आएको छ । यसले निश्चित शुल्क लिएर कम्पनी दर्ता, कानुनी, अकाउन्टिङ, रिन्युअल, पोष्ट रजिष्ट्रेसन सेवा प्रदान गर्ने गर्दछ । हाल जस्ट चेकमा ३ जना कार्यरत छन् । 

खातापाना

खातापाना वित्तीय कारोबारको हिसाब किताब राख्ने मिल्ने प्लेटफर्म हो । यसबाट दैनिक कारोबारको जानकारी राख्नेदेखि रिपोर्टसम्म निकाल्न मिल्छ । खातापाना निःशुल्क र सःशुल्क प्रयोग गर्न सकिन्छ । निःशुल्क सेवामा सिमित फिचर मात्रै प्रयोग गर्न सकिन्छ । तर आवश्यकता अनुसार सःशुल्क सेवा समेत प्रयोग गर्न सकिन्छ, जुन एकदमै सस्तो रहेको छ । सार्वजनिक भएको ५ महिनामा खाता पाना एप ५ हजार बढीले डाउनलोड गरेका छन् भने २ हजारले नियमित प्रयोग गरिरहेका छन् । २५ बढीले सःशुल्क लिएका छन् । 

मनिमित्र

मनिमित्र सम्पूर्ण वित्तीय ज्ञान प्रदान गर्ने प्लेटफर्म हो । फाइनान्सियल सुपर एपको रूपमा अडि बढेको मनिमित्रमा गुरूमन्त्र, ब्रोकर चिरफार, वृद्धि, आइडियाप्रेनर ज्ञान र आइडियाप्रेनर कोर्ष गरी ५ प्रकारका सुविधा उपलब्ध छन् । मनिमित्र मोबाइल एप र वेबसाइटबाट प्रयोग गर्न सकिन्छ । मनिमित्र निःशुल्क र सःशुल्क रूपमा प्रयोग गर्न सकिन्छ । निःशुल्क रूपमा सिमित सुविधा मात्रै उपलब्ध छन् भने शुल्क तिरेर आवश्यकता अनुसार थप सुविधा प्रयोग गर्न मिल्छ । हाल मनिमित्र ३६ हजार बढीले प्रयोग गरिरहेका छन् । 

निजी पावर

निजी पावर यार्सा टेकले नेपालमै बनाएको बनाएको पावर ब्याकअप प्रडक्ट हो । विद्युत आपूर्ती नभएको बेला मोबाइल, ट्याबलेट, क्यामेरा, राउटर, सीसीटीभी लगायतका विद्युतीय डिभाइसमा आवश्यक विद्युत आपूर्ति गर्न सकिन्छ । केही महिना अगाडि मात्रै सार्वजनिक भएको यसले ६ देखि ८ घण्टासम्म पावर व्याकअप सुविधा दिनेछ । 

प्रतिक

प्रतिक, सुन्न र बोल्न नसक्ने व्यक्तिहरूका लागि तयार पारिएको एआईमा आधारित एक सांकेतिक भाषा प्लेटफर्म हो । यसले संकेतलाई अडियोमार्फत नेपाली भाषामै बुझाउँछ । हाल वेबमा रहेको यो सुविधा भविष्यमा मोबाइल एप, म्यासेन्जर प्लगिन र स्मार्ट ग्लासेसमा ल्याउने योजना छ । 

क्विक आरपीए

क्विक आरपीए अटोमेसन प्रडक्ट हो । क्विक आरपीएले पटक पटक दोहोरिने कामलाई अटोमेट गरेर दक्षता, शुद्दतामा सुधार गर्ने र सञ्चालन खर्च समेत घटाउने कम्पनीको भनाइ छ । अहिलेसम्म क्विक आरपीएले १०० बढी प्रक्रियालाई अटोमेट गरिसकेको छ भने त्यसका लागि आवश्यक पर्ने १ लाख समय समेत बचत गरेको छ । यसलाई दञरसञ्चार कम्पनीदेखि बैंकसम्मले प्रयोग गरिरहेका छन् ।

सफा नेपाल

सफा नेपाल भनेको फोहोरमैला व्यवस्थापनमा सघाउने प्रणाली हो । यसले स्थानीय तहसँग मिलेर काम गरिरहेको छ । यसबाट विशेष गरी स्थानीय तहलाई फोहोर सम्बन्धि गुनासोहरू गर्न सकिन्छ । त्यस बाहेक फोहोरको अवस्थाको बारे जानकारी र फोहोर लिन आउने गाडीको सूचना समेत पाइन्छ । 

सफा नेपालले अहिलेसम्म स्थानीय तहमा २ हजार ६८३ वेस्ट पूर्वाधार म्याप्ड गरिसकेको छ । यसबाट २ हजार ७०६ कम्प्लेन दर्ता भएको छ, जसमा २ हजार ६१४ कम्प्लेन स्थानीय तहले नै समाधान गरिसकेका छन् । 

साइनेज प्लस 

साइनेज प्लस स्मार्ट स्क्रिनमार्फत कन्टेन्ट डिस्प्ले गराउने क्लाउडमा आधारित एउटा प्रणाली हो । साइनेज प्लस नेपाल टेलिकम, राहदानी विभाग, एभरेष्ट बैंक, साइन रेसुंगा बैंक लगायतका संस्थाहरूले प्रयोग गरिरहेका छन् । यसमा अनलाइन, अफलाइन, केन्द्रिकृत केन्टेन्ट नियन्त्रण, मल्टी लेआउट, सेड्युल लगायतका सुविधा छन् ।

यात्री पीवान

यात्री पी वान नेपालमै बनेको विद्युतीय मोटरसाइकल हो । यो मोटरसाइकल चार्ज हुन २ घण्टा लाग्छ । रेन्ज ११० किलोमिटरसम्म रहेको छ । पहिलो वर्ष नै यात्री पी वानको २५० बढी प्रिबुकिङ भइसकेको छ । यसले अहिलेसम्म ३ मिलियन बराबरको इन्धन खर्च बचत गरेको छ ।