कीवर्डहरू -

घरभाडाको हिसाब राख्न, बिल वितरण गर्न र बहालको हिसाब बुझाउन मिल्ने एप ‘ईज्यालो’

घरभाडाको हिसाब राख्न, बिल वितरण गर्न र बहालको हिसाब बुझाउन मिल्ने एप ‘ईज्यालो’

काठमाडौंमा कोठा भाडामा लिएर लाखौं मानिस बस्दै आएका छन् । उनीहरूबाट घरधनीले भाडा, पानी, बिजुली लगायतको शुल्क उठाउनु पर्ने हुन्छ । यी  सबै शुल्क कुनै ढड्डा  वा कापिमा राख्ने  चलन छ ।

यो हिसाब राख्ने मात्र नभई समयमै भाडा र विद्युतको महसुल नतिर्ने, तिरे पनि आंशिक तिर्ने, मिटर छेडछाड गर्ने, अनुचित बिल विभाजनको गुनासो नदिने वा दिएपनि कम दिने समस्या घरधनीले भोग्दै आएका हुन्छन् ।

यही समस्यालाई ध्यानमा राख्दै १ वर्ष अगाडि सुरू भएको स्टार्टअप मेटासेप्ट इन्कर्पोरेसनले बनाएको एप हो, ईज्यालो । ईज्यालोका सीईओ महेश महर्जनले बहालमा लगाएको हरेकको घरभाडा र बिजुलीको बिल मोबाइल एपबाटै हेर्न मिल्ने र महसुलको बिल एसएमएस र इमेल  मार्फत बहालवालालाई पठाउन सकिने बताए । 

‘घरधनीले इज्यालो एपबाट बहालवालाको बिजुलीको बिल हेर्न मिल्छ,’ उनले आईसीटी समाचारसँग भने, ‘ ‘यदि लामो समय सम्म पनि पैसा नतिरेको वा बिल रकम धेरै भएको खण्डमा घरधनी र बहालवाला बिचको पुर्व सम्झौता अनुसार जरिवाना स्वरुप घरबेटीले आफैले मोबाइलको माध्यबाट एक क्लिकमा बत्ति अफ गर्न पनि सकिन्छ ।’ 

ईज्यालो एपले घरभाडा र बिजुली खपतको रेकर्ड राख्न, बिल बनाउन र भुक्तानी स्थिति ट्रयाक गर्न मद्दत  गर्छ । प्रयोगकर्ताले सजिलैसँग आफ्नो वा आफ्नो भाडामा लिनेहरूको बिजुली खपत ट्रयाक गर्न र स्वचालित रूपमा बिलहरू गणना गर्न सक्ने छन् ।

ईज्यालोबाट बहालवालाको बिल कति उठ्यो, कहिलेसम्मको पैसा तिर्न बाँकी छ सबै हेर्न मिल्छ । यसबाट बिजुलीको प्रयोगलाई एपमा सजिलैसँग रेकर्ड राख्न र बिलहरु गणना गर्न सकिने उनको भनाइ छ । बिलको विवरण एसएमएसमार्फत सहि  समयमा बहालवालाहरुलाई  पनि पठाउन सकिन्छ । यसका लागि एपमा घरधनीले पहिलो एकपटक आफ्नो आवश्यकता अनुसार  सेटिङमा मिलाउनु पर्ने हुन्छ । 

महर्जनका अनुसार एपले सबै भाडावालालाई कोठा–कोठामा गई बिलहरू वितरण गर्न हुने कठिनाइ तथा ढिलाइलाई मात्र सहज नबनाई बहालवालालाई उनीहरूको भाडासंग सम्बन्धित बिलहरूको बारेमा तुरुन्तै सूचना दिने र समयमा नै बिल तिर्ने बानीको विकास गराउने अपेक्षा राखेको छ । 

सुरूवाती दिनमा सर्वसाधारणलाई डिजिटलाइजेसनको आवश्यकता र फाईदाहरु बुझाउन समस्या परेता पनि पछिल्लो समयमा धेरैले यसको उपयोगिता बुझ्न थालेका छन् । अब एपमा पेमेन्ट गेटवे जोडेर यसबाटै बिजुलीको बिल भुक्तानी गर्ने सुविधा ल्याउने समेत कम्पनीको योजना छ । 

इज्यालो एप चलाउन पनि सजिलो छ ।  यो एप निःशुल्क तथा सःशुल्क दुबै भर्सनमा उपलब्ध छ । निःशुल्क भर्सनमा सिमित सुविधाहरु मात्र  उपलब्ध छन् भने सःशुल्क भर्सनमा बिल एस एम एस मा जाने देखि पुर्ण स्वचालित सुविधाहरु रहेका छन् ।

सःशुल्क भर्सनको महिनाको शुल्क ३५० रूपैयाँदेखि सुरु हुन्छ । तर यदी तपाईले एकै पटक एक वर्षको शुल्क भुक्तानी गर्नुभयो भने २ महिना निःशुल्क सेवा पनि पाउनु हुनेछ । यो शुल्क अनलाइनबाटै तिर्न सकिन्छ । 

६ जनाको टिमले एक वर्ष अघि पूर्ण रुपमा सञ्चालनमा ल्याएको  इज्यालोमा हालसम्म ५०० बढीले घरधनीले प्रयोग गरिरहनु भएको छ । 

महिना पुग्ने बित्तिकै बिल तिर्न थप शुल्क नलागोस भनेर घररधनीलाई महिना पुग्ने समयमा नोटिफिकेसन पठाउने तथा आवश्यकता अनुसार सुविधा ल्याउने योजना कम्पनीको रहेको  छ ।