कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ प्रडक्ट, कसरी गर्ने अनलाइन भोटिङ ?

यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ प्रडक्ट, कसरी गर्ने अनलाइन भोटिङ ?

आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ प्रडक्ट छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १४ प्रडक्टबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । 

अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ प्रडक्ट छनोट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।

प्रडक्ट आइसिटी अवार्डमा कुनै पनि नेपाली कम्पनी, संस्था, समुह वा व्यक्तिले गत एक वर्षकोबीचमा विकास गरेको आइटी प्रडक्टले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । कस्ता छन् उत्कृष्ट ५ प्रडक्ट ? आउनुहोस् जानौं ।

 डिजिबज

डिजिबज पब्लिक अनाउन्समेन्ट प्रणाली हो । क्लाउडमा आधारित डिजिबजमा रियल टाइममा जुनसुकै ठाउँमा समेत कन्टेन्ट अपलोड गर्न सकिन्छ । यसबाट कुनै सूचना, सेवा, प्रडक्ट वा जनचेतनाका अडियो तथा भिडियो सामग्री देखाउन सकिन्छ । यसमा भेहिकल ट्रयाकिङ गर्न सकिने सुविधा समेत छ । यो सिस्टम अहिले देशका ६९ बढी बसमा चलिरहेको छ ।

फास्टबैंकिङ

फास्टबैंकिङ स्विफ्ट टेक्नोलोजी विकास गरेको डिजिटल बैंकिङ प्रडक्ट हो । यो एक वृहत र उन्नत डिजिटल बैंकिङ प्रणाली हो, जो ओम्नी च्यानलमा आधारित छ । फास्ट बैंकिङ १.८ मिलियन प्रयोगकर्ताले प्रयोग गरिरहेका छन् भने त्यसबाट दैनिक औसतमा १ लाख ९० हजार कारोबार हुँदै आएको छ ।

मनिमित्र

मनिमित्र सम्पूर्ण वित्तीय ज्ञान प्रदान गर्ने प्लेटफर्म हो । फाइनान्सियल सुपर एपको रूपमा अडि बढेको मनिमित्रमा गुरूमन्त्र, ब्रोकर चिरफार, वृद्धि, आइडियाप्रेनर ज्ञान र आइडियाप्रेनर कोर्ष गरी ५ प्रकारका सुविधा उपलब्ध छन् । मनिमित्र मोबाइल एप र वेबसाइटबाट प्रयोग गर्न सकिन्छ । मनिमित्र निःशुल्क र सःशुल्क रूपमा प्रयोग गर्न सकिन्छ । निःशुल्क रूपमा सिमित सुविधा मात्रै उपलब्ध छन् भने शुल्क तिरेर आवश्यकता अनुसार थप सुविधा प्रयोग गर्न मिल्छ । हाल मनिमित्र ३६ हजार बढीले प्रयोग गरिरहेका छन् ।

क्विक आरपीए

क्विक आरपीए अटोमेसन प्रडक्ट हो । क्विक आरपीएले पटक पटक दोहोरिने कामलाई अटोमेट गरेर दक्षता, शुद्दतामा सुधार गर्ने र सञ्चालन खर्च समेत घटाउने कम्पनीको भनाइ छ । अहिलेसम्म क्विक आरपीएले १०० बढी प्रक्रियालाई अटोमेट गरिसकेको छ भने त्यसका लागि आवश्यक पर्ने १ लाख समय समेत बचत गरेको छ । यसलाई दञरसञ्चार कम्पनीदेखि बैंकसम्मले प्रयोग गरिरहेका छन् ।

यात्री पीवान

यात्री पी वान नेपालमै बनेको विद्युतीय मोटरसाइकल हो । यो मोटरसाइकल चार्ज हुन २ घण्टा लाग्छ । रेन्ज ११० किलोमिटरसम्म रहेको छ । पहिलो वर्ष नै यात्री पी वानको २५० बढी प्रिबुकिङ भइसकेको छ । यसले अहिलेसम्म ३ मिलियन बराबरको इन्धन खर्च बचत गरेको छ ।

उत्कृष्ट ५ प्रडक्टलाई कसरी गर्ने भोटिङ ? 

प्रडक्ट आइसिटी अवार्ड २०२३ मा उत्कृष्ट ५ मा पर्न सफल भएका प्रडक्टलाई डिजिटल वालेट हाम्रो पेबाट भोटिङ गर्न सकिन्छ । यसका लागि सुरूमा आफ्नो मोबाइलमा हाम्रो पात्रो मोबाइल एप डाउनलोड गर्नुहोस् । त्यसपछि त्यहाँ हाम्रो पे लेखिएको देखिने छ, त्यसमा क्लिक गर्नुहोस् ।

हाम्रो पेमा क्लिक गरिसकेपछि भोट फर आइसिटी अवार्ड लेखिएको ठाउँमा क्लिक गर्नुहोस् । यति गरेपछि प्रडक्टमा क्लिक गरी त्यहाँ आफुलाई मन पर्ने उत्कृष्ट ५ प्रडक्टलाई भोट गर्न सक्नुहुनेछ ।