कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ सोसल इन्नोभेसन

यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ सोसल इन्नोभेसन

आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कृष्ट १३ सोसल इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।

आफुलाई मन परेको उत्कष्ट ५ सोसल इन्नोभेसन मध्येबाट एउटा इन्नोभेसनलाई हाम्रो पात्रो भित्र रहेको हाम्रो पे सेक्सनमा गएर भोटिङ गर्न सकिने छ ।सोसल इन्नोभेसन आइसिटी अवार्ड समाजमा सकारात्मक रूपान्तरण ल्याउने खालका परियोजनालाई प्रदान गरिन्छ ।

यस वर्ष थप भएको सोसल इन्नोभेसन विधामा विगत ५ वर्षको अवधिमा विकास भएका इन्नोभेसनले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ सोसल इन्नोभेसन:

कता हो 

कताहो नेपालको ठेगाना प्रणाली व्यवस्थित गर्न र कुनै पनि ठाउँको नाम दोहोरिन नदिने बहुउपयोगी स्थानीय डिजिटल ठेगाना प्रणाली हो । पाँच वर्षको अनुसन्धानपछि विकास भएको कताहोबाट सहजै डिजिटल ठेगानाहरू सिर्जना गरेर शेयर गर्न र खोज्न सकिन्छ । नेपाली शब्द र अंक मिलाएर बनाएको यस वैज्ञानिक ठेगाना प्रणाली कताहो निःशुल्क प्रयोग गर्न सकिने छ । 

ई कागज पत्र 

सरकारी सेवा प्रवाहलाई सहज र सजिलो बनाउन विकास भएको प्लेटफर्म हो, ईकागजपत्र । सरकारी सेवा लिनका लागि चाहिने आवश्यक कागतपत्र, प्रक्रिया र गर्ने तरिका जानकारी भिडियोसहित ईकागजपत्रमै उपलब्ध हुन्छ । साथै यसमा ट्रान्सलेसनको समेत सुविधा छ, जसले गर्दा अंग्रेजीमा टाइप गर्दा आफै नेपाली भाषामा अनुवाद हुनेछ । 

जिओकृषि  

समग्र कृषि इकोसिस्टमलाई डिजिटलाइज गरिरहेको प्लेटफर्म हो, जिओकृषि । जिओकृषिले किसान, प्राविधिक, सप्लायर, बजार र स्थानीय सरकारलाई एउटै माध्यममा जोड्ने काम गरिरहेको छ । अहिलेसम्म जिओकृषिमा २ लाख बढी किसान जोडिएका छन् । 

एलएमसी अलर्ट 

नगरबासीहरूको सहजताका लागि ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको एप हो, एलएमसी अलर्ट । यो एपबाटै नगरबासीहरूले आफ्नो गुनासो पठाउनेदेखि समस्या वा विपत्तीस समेत जानकारी सिधैं नगर प्रहरीलाई दिन सक्ने छन् । 

दमकल, एम्बुलेन्स, शववाहन बोलाउनदेखि कालो बजारी भइरहेको देखिएमा, बिना स्वीकृति संरचना निर्माण भएकोबारे, फुटपाथमा व्यापार गरेको, अनधिकृत विज्ञापन गरेको, सार्वजनिक जग्गा हडपेको देखिएमा पनि एपमार्फत नै गुनासो गर्न सकिने छ । यसबाट इन्टरनेट नभएको अवस्थामा पनि जानकारी दिन सकिने छ । 

सफा नेपाल

सफा नेपाल फोहोर व्यवस्थापन गर्न र वातावरणीय दिगोपनमा सघाउनका लागि विकास गरिएको नवीन डिजिटल प्लेटफर्म हो । नागरिक, स्थानीय सरकार र फोहर व्यवस्थापन गर्ने कम्पनीहरू सहकार्य गर्दै सफा नेपालले सफा र स्वस्थ समुदाय निर्माण गर्न काम गरिरहेको छ । यसमा जीपीएस ट्रयाक, गुनासो दर्ता, जियो लोकेसन एण्ड म्यापिङ, डेटा ड्रिभन निर्णय लगायतका सुविधाहरू समेत रहेका छन् ।