कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ स्टार्टअप, कसरी गर्ने अनलाइन भोटिङ ?

यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ स्टार्टअप, कसरी गर्ने अनलाइन भोटिङ ?

आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ स्टार्टअप छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १२ स्टार्टअपबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । 

अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ स्टार्टअप छनोट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।

स्टार्टअप आइसिटी अवार्ड आईटी प्रडक्ट, सर्भिसेस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका स्टार्टअप कम्पनीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न प्रदान गरिन्छ ।

यस विधामा विगत ४ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट स्टार्टअप

भोजमाण्डु

भोजमाण्डु फुड प्रालि अनलाइन फुड डेलिभरी तथा क्लाउड किचेन स्टार्टअप कम्पनी हो । काठमाडौं उपत्यकाबाट सुरू भएको भोजमाण्डु विरगंजमा समेत विस्तार भएको छ । अन्य ठाउँमा समेत विस्तार गर्ने कम्पनीको योजना छ ।  भोजमाण्डुले राती ११ बजेदेखि बिहान ३ बजेसम्म पनि आफ्नो सेवा दिदै आएको छ । भोजमाण्डुले रातमा ३० देखि ४५ मिनेट र दिनमा सकेसम्म १ घण्टामा अर्डर डेलिभरी गर्दै आएको छ ।

दियो एआई टेक्नोलोजी

दियो एआई टेक्नोलोजी प्रालिले एआई प्रविधिमा काम गर्ने कम्पनी हो । दियो एआईले विशेष गरी अहिले एआई प्रविधिमा आधारित च्याटबटमा काम गरिरहेको छ । कम्पनीले मल्टी ल्याङ्वेज सपोर्ट, अटोमेट रेस्पोन्स, ओम्नी च्यानल इन्टिग्रेसन र सञ्चालनलाई प्रभावकारी बनाउने सुविधासहितको च्याटबट बनाउँदै आएको छ ।

दियो एआईले तयार पारेका च्याटबट विभिन्न सरकारी निकायदेखि निजी संस्थाहरूले समेत प्रयोग गरिरहेका छन् । दियो एआईले स्थानीय तहका लागि मुना च्याटबट बनाएको छ भने मनोरञ्जन, क्विज, जोक, राशिफल लगायतका लागि गोलु च्याटबट तयार पारेको छ । यस बाहेक कम्पनीले व्यवसायहरूको आवश्यकता अनुसार च्याटबट निर्माण समेत गर्दै आएको छ ।

ह्याप्पी माइन्ड्स

ह्याप्पी माइन्ड्स अनलाइनबाटै मानसिक स्वास्थ्य सम्बन्धि परामर्श दिने कम्पनी हो । ह्याप्पी माइन्ड्सले परामर्शका साथसाथै जनचेतना र मानसिक स्वास्थ्य पढेका प्रोफेसनहरूलाई जोड्ने काम समेत गर्दै आएको छ ।

कम्पनीले मानसिक स्वास्थ्य सम्बन्धि व्यक्तिगत परामर्श, ग्रुप परामर्श र विभिन्न कम्पनीका कर्मचारीलाई सहायता सेवा पनि दिइरहेको छ ।

रासन टेक्नोलोजीज

रासन टेक्नोलोजिज प्रालि व्यवसाय देखि व्यवसाय (बिटुबी) सप्लाइ चेन व्यवस्थापन गर्ने कम्पनी हो । स्थापना एक वर्षको रासन ४ हजार रिटेल शपमा पुगिसकेको छ । रासनको मोबाइल एप र वेबसाइटबाट व्यवसायीहरूले एफएमसीजी र ग्रोसरी सामानहरू अर्डर गर्न सक्छन् । त्यसपछि व्यवसायीको पसलसम्मै उक्त सामान पुग्ने छ । रासन टेक्नोलोजिज पब्लिक कम्पनीमा रूपान्तरण हुने योजना बनाएको छ ।

यार्सा टेक

यार्सा टेक कन्जुमर इलेक्ट्रोनिक प्रडक्ट बनाउने कम्पनी हो । पोखरामा प्रधान कार्यालय रहेको यार्सा टेकले अहिलेसम्म निजी पावर, अडिक्युआर, जुनकिरी, अटोमेटिक वाटर लेभल कन्ट्रोलर र अडिक्युआर प्रडक्ट बनाएको छ । नेपालको माटो सुहाउँदै नेपालीलाई आवश्यक पर्ने प्रडक्ट बनाइरहेको कम्पनीको दावी छ ।

उत्कृष्ट ५ स्टार्टअपलाई कसरी गर्ने भोटिङ ? 

स्टार्टअप आइसिटी अवार्ड २०२३ मा उत्कृष्ट ५ मा पर्न सफल भएका स्टार्टअपलाई डिजिटल वालेट हाम्रो पेबाट भोटिङ गर्न सकिन्छ । यसका लागि सुरूमा आफ्नो मोबाइलमा हाम्रो पात्रो मोबाइल एप डाउनलोड गर्नुहोस् । त्यसपछि त्यहाँ हाम्रो पे लेखिएको देखिने छ, त्यसमा क्लिक गर्नुहोस् ।

हाम्रो पेमा क्लिक गरिसकेपछि भोट फर आइसिटी अवार्ड लेखिएको ठाउँमा क्लिक गर्नुहोस् । यति गरेपछि स्टार्टअपमा क्लिक गरी त्यहाँ आफुलाई मन पर्ने उत्कृष्ट ५ स्टार्टअपलाई भोट गर्न सक्नुहुनेछ ।