त्रिभुवन विश्वविद्यालयले ५०औं दीक्षान्त समारोहको अनलाइन फाराम खुलाएको छ । अनलाइन आवेदन फाराम भदौ २० गतेदेखि असोज २३ गतेसम्म खुला हुनेछ ।
वि.सं. २०८० साल असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेहरूले मात्र फाराम भर्न पाउने छन् ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा गएर वा यहाँ क्लिक गरी दीक्षान्त समारोहका लागि आवेदन दिन सकिने छ ।
आवेदन फारम भर्दा एआरपी साइजको फोटो, नागरिकताको प्रमाणपत्र र आफूले तह पार गरेको ट्रान्सक्रिप्टको स्क्यान कपी अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ ।
अनलाइन आवेदन भर्दा पठाएका डकुमेन्ट प्रिन्ट गरी सुरक्षित राख्नु पर्नेछ । गाउन स्कार्फ आदि लिन आउँदा सो डकुमेन्ट परीक्षा नियन्त्रण कार्यालयको तोकिएको शाखामा पेश गरी कार्यालयको छाप लगाई सुरक्षित राख्नु पर्नेछ ।
दीक्षान्त समारोहमा सहभागी हुन् स्नातक तहका लागि दीक्षान्त तथा प्रमाणपत्र शुल्क, गाउन/स्कार्फ धरौटी गरी ३७०० रूपैयाँ, स्नातकोत्तर तथा एमफिलका लागि ४२०० रूपैयाँ र विद्यावारिधिका लागि ४७०० रूपैयाँ शुल्क तोकिएको छ ।
दीक्षान्त समारोहमा २ जनासम्म अभिभावक सरिक गराउन सकिनेछ । अभिभावक सरिक गराउने भएमा थप ३०० रूपैयाँ प्रति अभिभावकका दरले शुल्क लाग्नेछ ।
शुल्क नेपाल बैंक वा ग्लोबल आईएमई बैंकमा अनलाइन बैंकिङबाट मात्र दाखिला गर्न सकिने छ । शुल्क बुझाउँदा अनिवार्य रुपमा रिसेप्ट तथा ट्रान्ज्याक्सन आईडी प्राप्त गरी सुरक्षित राख्नु पर्नेछ ।
धरौटी रकमबाट ३०० रूपैयाँ गाउन स्कार्फ आदिको मेन्टेनेन्स कट्टा गरिनेछ । दीक्षान्त समारोहको एक वर्ष भित्र आ-आफ्नो मूल प्रमाणपत्र लिई सक्नु पर्नेछ अन्यथा त्रिवि नियमानुसार थप जरिवाना शुल्क लाग्नेछ ।