कीवर्डहरू -

टेलिटकद्वारा पोको ‘एम८’ सिरिजका दुई नयाँ ५जी स्मार्टफोन सार्वजनिक

टेलिटकद्वारा पोको ‘एम८’ सिरिजका दुई नयाँ ५जी स्मार्टफोन सार्वजनिक

काठमाडौं । नेपाली बजारमा स्मार्टफोनको पहुँच र आधुनिक प्रविधिलाई प्रवर्द्धन गर्दै पोकोको आधिकारिक वितरक टेलिटकले ‘एम८’ सिरिज अन्तर्गत दुई नयाँ फाइभ-जी स्मार्टफोनहरू बजारमा ल्याएको छ । कम्पनीले उत्कृष्ट कार्यसम्पादन र अत्याधुनिक फिचर्ससहित पोको एम८एस ५जी र पोको एम८ प्रो ५जी नेपाली बजारमा ल्याएको हो ।

यी दुवै फोनहरू दैनिक प्रयोगलाई सहज बनाउन पानीका छिटा र धुलोबाट सुरक्षित रहने गरी ‘IP’ वाटर तथा डस्ट रेसिस्टेन्स क्षमताका साथ उपलब्ध छन् । टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानका अनुसार प्रतिस्पर्धी मूल्यमा आधुनिक प्रविधि उपलब्ध गराउँदै धेरैभन्दा धेरै उपभोक्तामाझ गुणस्तरीय प्रविधिको पहुँच पुर्याउने पोकोको प्रतिबद्धतालाई यी फोनहरूले थप सुदृढ बनाएका छन् ।

यस सिरिजको पहिलो मोडल पोको एम ए८एस ५जी विशेष गरी लामो ब्याट्री ब्याकअप खोज्नेहरूका लागि उत्कृष्ट विकल्पका रूपमा आएको छ, जसमा ७,००० एमएएचको विशाल ब्याट्री, ३३ वाट टर्बो चार्जिङ र १८ वाट रिभर्स चार्जिङ सुविधा दिइएको छ ।

यो फोनमा ६.९ इन्चको फुल एचडी प्लस डिस्प्ले १४४ हर्ज रिफ्रेस रेट र स्न्यापड्रैगन ६एस जेन ३ अक्टा-कोर प्रोसेसर रहेको छ भने फोटोग्राफीका लागि ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा जडान गरिएको छ । 

कालो र सेतो रङमा उपलब्ध यस फोनको ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ३७ हजार ९९९ र ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४४ हजार ९९९ तोकिएको छ ।

त्यसैगरी, थप परिष्कृत र प्रिमियम अनुभवका लागि बजारमा ल्याइएको पोको एम ए८ प्रो ५जीमा ६.८३ इन्चको क्रिस्टलरेस एमोलेड डिस्प्ले छ, जसले १.५के रिजोल्युसन, १२० हर्ज रिफ्रेस रेट र ३ हजार २०० निट्सको पिक ब्राइटनेस सपोर्ट गर्छ ।

४ नानोमिटर प्रविधिमा आधारित स्न्यापड्रैगन ७एस जेन ४ प्रोसेसरद्वारा सञ्चालित यस प्रो मोडलमा ६ हजार ५०० एमएएचको ब्याट्री छ, जसलाई १०० वाटको तीव्र हाइपरचार्ज र २२.५ वाट रिभर्स चार्जमार्फत इन्धन दिन सकिन्छ ।

उत्कृष्ट फोटो र भिडियोका लागि यसमा ५० मेगापिक्सेलको मुख्य, ८ मेगापिक्सेलको अल्ट्रा-वाइड र ३२ मेगापिक्सेलको शक्तिशाली सेल्फी क्यामेरा समावेश छ । कालो, हरियो र सिल्भर रङमा उपलब्ध ८ जीबी र्याम र २५६ जीबी स्टोरेज क्षमताको यस प्रो स्मार्टफोनको मूल्य ५६ हजार ९९९ निर्धारण गरिएको छ ।

उपभोक्ताको आर्थिक सहजता र व्यावसायिक विश्वासलाई ध्यानमा राख्दै पोकोले यी सबै मोडलहरूमा १ वर्षको आधिकारिक ब्रान्ड वारेन्टी र अधिकतम ९ महिनासम्मको ईएमआई सुविधा समेत उपलब्ध गराएको छ । यी दुवै स्मार्टफोनहरू ग्राहकहरूले अब देशभरका टेलिटकका आधिकारिक शोरुम, खुद्रा विक्रेता तथा अनलाइन सपिङ प्लेटफर्म दराज मार्फत सहजै खरिद गर्न सक्नेछन् ।