कीवर्डहरू -

पुस ७ गते सिएनआइवाइइएफ स्टार्टअप फेस्ट हुँदै, लगानीको समेत अवसर

पुस ७ गते सिएनआइवाइइएफ स्टार्टअप फेस्ट हुँदै, लगानीको समेत अवसर

नेपाल उद्योग परिसंघ अन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुस ७ गते स्टार्टअप फेस्ट आयोजना गर्ने भएको छ ।
सरकारसँगको सहकार्यमा नबिल बैंक प्रिजेन्ट्स सिएनआइवाइइएफ स्टार्टअप फेस्ट २०२३ आयोजना हुने भएको हो । 

नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउने, नवीन सोच भएका स्टार्टअपलाई लगानी जुटाउन सहयोग गर्ने, मेक इन नेपाल स्वदेशी अभियानको प्रवद्र्धन एवं नीतिगत बहस गर्ने उद्देश्यले स्टार्टअप फेस्ट आयोजना गर्न लागिएको आयोजकले जानकारी गराएको छ ।

स्टार्टअप प्रवर्द्धनमा विदेशमा भइरहेका सफल अभ्यास तथा उपलब्धिका विषयमा पनि विभिन्न सत्रमा छलफल हुने आयोजकले जनाएको छ । सिएनआइवाइइएफ स्टार्टअप फेस्टमा दुर्ई सय ५० भन्दा बढी स्टार्टअप्सले लगानीका लागि परियोजनासहित प्रस्ताव पेश गरेका छन् । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ उत्कृष्ट स्टार्टअपलाई फेस्टमा प्रस्तुतीकरणको अवसर प्रदान गरिने बताइएको छ । 

पुँजी लगानीका लागि टेलि-भेन्चर, एनआइएमबी एस क्यापिटल, रिलायबल भेन्चर, लोटस होल्डिङ, अल्फा प्लस भेन्चर, हिमालयन क्यापिटल, टिम भेन्चर, ग्लोबल इक्विटी फण्ड, अध्यान्ता फण्ड म्यानेजमेन्ट, नियोटेरिक नेपालले प्रतिबद्धतासमेत जनाइसकेका सिएनआइवाइइएफले जनाएको छ ।

स्टार्टअप फेस्टमा मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध स्वदेशी कम्पनीको प्रदर्शनी एवं स्टार्टअप्सले आफ्ना वस्तु तथा सेवाको प्रदर्शनी पनि गर्नेछन् । सिएनआइवाइइएफ स्टार्टअप फेस्टको टाइटल स्पोन्सरमा नबिल बैंक लिमिटेड रहेको छ । २०२२ को पहिलो संस्करणको फेस्टमा २४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी जुटेको थियो ।