एलन मस्कले ट्विटर खरिद गरेपछि अहिले यो 'एक्स' भइसकेको छ । पछिल्लो समय एक्स प्रयोगकर्ताहरूलाई ब्लुस्काईमा सिफ्ट भइरहेका छन् ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि कमला ह्यारिस समर्थकले ब्लूस्काई प्रयोग गर्न थालेका थिए किनभने यस निर्वाचनमा ट्रम्पलाई एक्सका सिईओ मस्कले सहयोग गरेका थिए ।
एक्स र ब्लुस्काई उस्तै उस्तै भएपनि यी प्लेटफर्ममा केही फरक छ । एक्स मस्कको नियन्त्रणमा रहेको छ भने ब्लुस्काई डिसेन्ट्रलाज्ड प्लेटफर्म हो ।
प्रयोगकर्ताहरूले साइटका आधिकारिक सर्भरहरूमा निर्भर हुनुको सट्टा आफ्नै सर्भरहरू सञ्चालन गर्न सक्छन् । प्रयोगकर्ताहरू आफ्नो प्रयोगकर्ता नाम, टाइमलाइन वा मित्र सूची परिवर्तन नगरी जुनसुकै बेला सर्भर परिवर्तन गर्न सक्छन्।
एक्स
करिब ६०० मिलियन प्रयोगकर्ता भएको सामाजिक सञ्जाल प्लेटफर्म हो, एल्स । आफ्नो माइक्रोब्लगिङ फर्म्याटका लागि प्रख्यात, यो प्लेटफर्म समाचार, विचार र मल्टिमिडिया सेयर गर्नका लागि प्रयोग गरिन्छ ।
एलन मस्कको नेतृत्वमा आएपछि यसमा सदस्यता (सब्सक्रिप्सन) र पेड प्रमाणिकरण (पेड भेरिफिकेसन) जस्ता सुविधाहरू थपिएको छ जसले आम्दानीको मोडेल (मोनेटाइजेसन) मा ध्यान केन्द्रित गरेको छ ।
त्यसअनुसार साधारण प्रयोगकर्ताहरूका लागि २८० क्यारेक्टर सीमा पेड सब्सक्राइबरहरूका लागि १० हजार सीमा तोकिएको छ । यसले ट्रेन्डिङ टपिक्स, व्यक्तिगत फिड र बुस्ट गरिएका पोस्टलाई प्राथमिकता दिने गरेको छ ।
मस्कले एक्समा कन्टेन्ट पोलीसीमा पनि केही परिवर्तन ल्याएका छन् । यद्यपी मस्कका केही परिवर्तनले विवाद समेत निम्त्याएको छ ।
ब्लूस्काई
ट्विटरका संस्थापक ज्याक डोर्सीले विकास गरेको नयाँ विकेन्द्रित (डिसेन्ट्रलाइज्ड) सामाजिक सञ्जाल प्लेटफर्म हो, ब्लुस्काई । ट्विटर छोडेपछि डोर्सीले ब्लुस्काई सुरू गरेका थिए ।
यसको उद्देश्य एटी प्रोटोकलमार्फत सामाजिक सञ्जालका लागि वैकल्पिक दृष्टिकोण प्रस्ताव गर्नु हो, जसले प्रयोगकर्ताको नियन्त्रण, अन्तर–सञ्चालन क्षमता, र विकेन्द्रित संरचनालाई प्रवर्द्धन गर्दछ ।
ब्लुस्काई ओपन–सोर्स र सामुदायिक आधारित कम्युनिटी–ड्रिभन हुन्छ । यसमा प्रयोगकर्ताले व्यक्तिगत फिडलाई नियन्त्रण गर्न सकिन्छ । साधारण इन्टरफेस रहेको प्लेटफर्ममा आम्दानीका विकल्पहरू कम छन् । यसमा विज्ञापन भने आउँदैनन् ।
ब्लूस्काईले प्रयोगकर्तालाई बढी गोपनीयता प्रदान गर्दछ ।