काठमाडौं । सम्पत्ति छानबिन आयोगले उपसचिव वा सोभन्दा माथिल्लो तहका बहाल तथा अवकाशप्राप्त कर्मचारीहरूले विभिन्न आम्दानीका शीर्षकअन्तर्गत तलबी आम्दानीको निस्सा पेश गर्न विभागमा चाप बढेको भन्दै विभागले भीड व्यवस्थापन गर्न डिजिटल सेवा प्रणाली सुरु गरेको जनाएको छ ।
आयोगले जारी गरेको सूचनाअनुसार हाल विभागमा सेवाग्राहीको अत्यधिक चाप बढेपछि सबै सेवा “फेसलेस (faceless)” प्रणालीमा रूपान्तरण गरिएको छ । यसअनुसार सेवाग्राहीले अब विभागमा भौतिक रूपमा उपस्थित हुन आवश्यक नरहेको उल्लेख गरिएको छ ।
आयोगले “Digital Document Access Service” सुरु गरिएको जानकारी दिँदै आवश्यक कागजात प्राप्तिका लागि दुई वैकल्पिक माध्यम उपलब्ध गराएको छ ।
पहिलो विधि (WhatsApp सेवा)
सेवाग्राहीले आफ्नो नाम, पद र संकेत नम्बर आयोगको WhatsApp नम्बर ९७१४४९९२४० मा पठाउनुपर्नेछ । आयोगका अनुसार प्राप्त विवरण २४ घण्टाभित्र प्रशोधन गरिनेछ । तर अत्यधिक मागका कारण सबै अनुरोध सोही अवधिभित्र सम्बोधन नहुन सक्ने र कुनै प्रतिक्रिया नआएमा पुन: पठाउन अनुरोध गरिएको छ ।
आयोगले सार्वजनिक बिदाका दिन समेत “वर्क फ्रम होम” मोडेलमार्फत सेवा सञ्चालन भइरहेको जनाएको छ ।
दोस्रो विधि (इमेल सेवा)
सेवाग्राहीले आफ्नो नाम, पद र संकेत नम्बर इमेलमार्फत [email protected] मा पठाउन सक्ने व्यवस्था गरिएको छ । आयोगका अनुसार यो विधि तुलनात्मक रूपमा दिगो र विश्वसनीय भएको उल्लेख गरिएको छ । सूचनामा इमेल प्रणालीमा पठाइएका विवरणहरू सुरक्षित रहने र छिटो सेवा प्राप्त गर्न सहयोग पुग्ने जनाइएको छ ।
प्राविधिक तथा अन्य जानकारी
आयोगले प्राविधिक कारणले विवरणमा त्रुटि हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै सेवाग्राही स्वयंले आवश्यक गणना गर्नुपर्ने जनाएको छ । साथै आयोगको वेबसाइटमा सन् २०१७ देखि हालसम्मको पद, तलब स्केल र ग्रेडसम्बन्धी विस्तृत विवरण “तलब र ग्रेड शीट” शीर्षकअन्तर्गत उपलब्ध रहेको पनि जानकारी दिएको छ ।
आयोगले डिजिटल प्रणालीमार्फत सेवा प्रभावकारी, छिटो र पहुँचयोग्य बनाउने उद्देश्य राखिएको बताएको छ ।
आईसीटी समाचार