कीवर्डहरू -

विद्युत र प्रविधिको अन्तर्राष्ट्रिय प्रदर्शनी ‘फिन इलेक्ट्रो-टेक २०२६’ जेठ २२ देखि सुरु हुँदै

विद्युत र प्रविधिको अन्तर्राष्ट्रिय प्रदर्शनी ‘फिन इलेक्ट्रो-टेक २०२६’ जेठ २२ देखि सुरु हुँदै

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको बृहत् प्रदर्शनी "फिन इलेक्ट्रो–टेक २०२६" आगामी जेठ २२ देखि २५ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा सम्पन्न हुँदैछ ।

नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँचको विस्तार र डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको सन्दर्भमा सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको महत्त्व झन् बढ्दै गएको छ । उपभोक्ता, व्यवसायी तथा प्राविधिक क्षेत्रलाई नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली र ऊर्जा दक्ष समाधानबारे अद्यावधिक जानकारी दिने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिँदैछ ।

के के हेर्न पाइनेछ ?
प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, वायर, केबुल तथा कन्डक्टर, एलईडी लाइटिङ, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन, सूचना प्रविधि तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामाग्रीहरू प्रदर्शन गरिनेछन् । भिजिटरहरूले एकै स्थलमा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरू तुलना गर्ने र प्राविधिक जानकारी लिने अवसर पाउनेछन् ।

व्यवसायीका लागि अवसर
यस प्रदर्शनीले नेपालमा विद्युतीय उद्योगको विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन, विदेशी प्रविधि तथा लगानी आकर्षण र व्यवसायिक सञ्जाल विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रदर्शक कम्पनीहरूका लागि यो मञ्च ब्रान्ड प्रवर्द्धन, नयाँ उत्पादन सार्वजनिकीकरण, सम्भावित ग्राहक–वितरकसँग प्रत्यक्ष सम्पर्क र नेपाली बजारको सम्भावना अध्ययनका लागि उपयुक्त प्लेटफर्म सावित हुनेछ । उल्लेखनीय छ कि प्रदर्शनीका सबै स्टल पहिल्यै बुकिङ भइसकेका छन् ।

प्रायोजक र साझेदारहरू
टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रा. लि.) रहेको छ । पावर बाईमा ह्याभेल्स इन्डिया लिमिटेड र प्लेटिनम स्पोन्सरमा जनता केबल इन्डस्ट्रिज प्रा. लि. छन् । डायमण्ड स्पोन्सरमा लेजर इन्डिया र ग्रेटहाइट ग्लोबल प्रा. लि., भने गोल्ड स्पोन्सरमा ब्रिलेन्ट एलईडी (एस.एम.सी. ग्लोबल) रहेका छन् ।

अफिसियल बैंक नविल बैंक लिमिटेड र अफिसियल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड छन् । अफिसियल क्यारियर एस.के.बी. ग्रुप, टेक्नोलोजी पार्टनर जुलाई टेक ल्याब्स र इन्टरनेट पार्टनर सजिलो नेट रहेका छन् । कार्यक्रमको व्यवस्थापन मिडिया स्पेसले गर्दैछ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससहित विभिन्न सरोकारवाला संस्थाहरूको सहयोगमा आयोजना हुने यस प्रदर्शनीमा उद्योगी, व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी र आम नागरिकसहित हजारौं आगन्तुकको उपस्थिति रहने अपेक्षा गरिएको छ ।