कीवर्डहरू -

साइबर सुरक्षादेखि हेल्थकेयरसम्म: ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ मा नेपाली टेक कम्पनीलाई अवसर

साइबर सुरक्षादेखि हेल्थकेयरसम्म: ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ मा नेपाली टेक कम्पनीलाई अवसर

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा सेवाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतिष्ठित ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ (ASOCIO Digital AI Award 2026) का लागि आवेदन आह्वान गरिएको छ ।

एसियन–ओशिनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (ASOCIO) द्वारा आयोजना हुने उक्त अवार्डमा नेपालका तर्फबाट डिजिटल अर्थतन्त्र तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याइरहेका कम्पनी, संस्था तथा स्टार्टअपहरूले सहभागिता जनाउन सक्नेछन् ।

यस वर्षको अवार्डको मुख्य थिम ‘नेपाली टेक उद्यमीका लागि विश्वव्यापी अवसर : आफ्ना उत्पादन र सेवाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै एसोसियो डिजिटल एआई अवार्ड २०२६ जित्ने अवसर’ रहेको जनाइएको छ ।

अवार्डबारे जानकारी दिँदै एसोसियोका उपाध्यक्ष नवराज कुँवरले यो नेपाली प्रविधि उद्यमीहरूका लागि आफ्ना उत्पादन तथा सेवाको गुणस्तर र प्रभावकारितालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित गर्ने महत्वपूर्ण अवसर भएको बताए ।

उनका अनुसार उक्त मञ्चले नेपाली प्रविधि कम्पनीहरूलाई विश्वव्यापी पहिचान स्थापित गर्न तथा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हासिल गर्न सहयोग पुर्‍याउनेछ ।

त्यसैगरी, क्यान महासंघ (CAN Federation) का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपाली प्रविधि कम्पनी, स्टार्टअप तथा सरोकारवाला संस्थाहरूलाई आफ्नो संस्थागत प्रोफाइल दर्ता गरी सहभागिता जनाउन आग्रह गरेका छन् ।

उनले यस अवार्डलाई नेपाली समाजमा स्थानीय प्रविधिले पारेको सकारात्मक प्रभाव विश्वसामु प्रस्तुत गर्ने तथा नेपाली प्राविधिक प्रतिभाको क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन् ।

क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले आवेदन प्रक्रियालाई थप सहज, प्रभावकारी तथा पहुँचयोग्य बनाउन महासंघले पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यी हुन् अवार्डका आठ विधा
यस वर्ष आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमार्फत विभिन्न क्षेत्रमा परिवर्तन ल्याउने उत्कृष्ट पहलहरूलाई आठ विधामा पुरस्कृत गरिने जनाइएको छ ।

यीमध्ये एआई इन साइबर सेक्युरिटी, एआई फर पब्लिक गुड, एआई इन एजुकेसन, एआई इन हेल्थकेयर, एआई इन स्मार्ट एग्रिकल्चर, एआई इन फाइनान्सियल सर्भिसेज, एआई इन वर्कफोर्स एन्ड फ्युचर स्किल्स तथा एआई इन म्यान्युफ्याक्चरिङ/सप्लाइ चेन विधा समावेश छन् ।

यी विधाअन्तर्गत साइबर सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, वित्तीय सेवा, डिजिटल सीप विकास तथा औद्योगिक उत्पादन र आपूर्ति प्रणालीमा एआईको प्रभावकारी प्रयोग गर्ने संस्थाहरूलाई सम्मान गरिनेछ ।

क-कस्ले आवेदन दिन सक्छन् ?
अवार्डका लागि साना तथा मझौला उद्यम (SMEs), ठूला कर्पोरेट कम्पनी, स्टार्टअप, सरकारी निकाय, शैक्षिक तथा अनुसन्धान संस्था र गैर-नाफामूलक संस्था आवेदन दिन योग्य हुने जनाइएको छ ।

आवेदनका लागि प्रस्तावित एआई समाधान कम्तीमा पाइलट चरणमा कार्यान्वयन भएको हुनुपर्नेछ र विगत २४ महिनाभित्र स्पष्ट परिणाम देखाएको हुनुपर्ने मापदण्ड तय गरिएको छ । साथै, एक आवेदकले केवल एक विधामा मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।