काठमाडौं । फिफा विश्वकप २०२६ नि:शुल्क रूपमा हेर्न सकिने प्रलोभन देखाउँदै अनलाइन माध्यमबाट ठगी गर्ने घटना बढेपछि साइबर ब्युरोले सर्वसाधारणलाई सचेत गराएको छ ।
सोमबार एक सूचना जारी गर्दै ब्युरोले सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन प्लेटफर्ममार्फत फैलाइएका भ्रामक विज्ञापन र लिंकप्रति सतर्क रहन आग्रह गरेको हो ।
ब्युरोका अनुसार प्रयोगकर्तालाई विश्वकप नि:शुल्क हेर्न सकिने भन्दै एन्ड्रोइड इन्स्टलर फाइल (.apk) डाउनलोड गर्न लगाइने र त्यसपछि मोबाइलका संवेदनशील अनुमति (permissions) स्वीकृत गराइने गरिएको छ ।
अनुमति प्राप्त भएपछि मालवेयरको माध्यमबाट मोबाइल बैंकिङ एपहरूमा पहुँच पुर्याई आर्थिक ठगी गर्ने जोखिम उच्च रहेको ब्युरोले जनाएको छ ।
ब्युरोका अनुसार ठगीकर्ताले .apk, .exe, .bat र .sh जस्ता शंकास्पद फाइल एक्सटेन्सन भएका एप तथा फाइलहरू प्रयोग गरी प्रयोगकर्ताको डिभाइस नियन्त्रणमा लिने प्रयास गर्छन् ।
साइबर ब्युरोले यस्ता कुनै पनि अनधिकृत एप वा फाइल डाउनलोड तथा इन्स्टल नगर्न र बैंक तथा वित्तीय सेवासम्बन्धी अपडेटका लागि केवल आधिकारिक सूचना र विश्वसनीय माध्यम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
यदि कुनै शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोको इमेल [email protected] मा उजुरी दिन सकिने ब्युरोले जनाएको छ ।
आईसीटी समाचार