काठमाडौं । आईएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त भएका छन् । आईएमईले एक कार्यक्रमका बीच सपुतलाई आफ्नो सांगीतिक एम्बासडरका रूपमा सार्वजनिक गरेको हो ।
रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले सपुतलाई आबद्ध गरिएको कम्पनीले जनाएको छ । आफ्ना मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतहरूका कारण सपुत नेपाली समाजमा लोकप्रिय छन् ।
रोजगारीका लागि विश्व श्रम बजारमा पुगेका आम नेपालीको भावनालाई सपुतले आफ्ना गीत संगीत मार्फत प्रस्तुत गर्दै आएका छन् । देशको अर्थतन्त्र र समाजलाई समृद्ध बनाउन रेमिट्यान्सले खेलेको भूमिकालाई आम मानिससम्म बुझाउन सपुतको आगमनले थप मद्दत पुग्ने विश्वास लिइएको आईएमईले जनाएको छ ।
सम्झौता कार्यक्रममा बोल्दै आईएमईका महाप्रबन्धक बद्री कटवालले भने, ‘सपुतको सिर्जनाले समाजको यथार्थ बोल्ने र मन छुने भएकाले यो सहकार्यले हाम्रो अभियानमा एउटा छुट्टै आफ्नोपन थप्नेछ ।’
साथै, उनले स्वदेश र विदेशको दूरीलाई कम गर्न संगीत सबैभन्दा बलियो माध्यम भएको र यसले प्रवासी नेपाली श्रमिकहरूका लागि सारथीको काम गर्ने उल्लेख गरे ।
त्यस्तै, गायक सपुतले आईएमई जस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा आफू निकै उत्साहित भएको बताए । उनले विश्वभर छरिएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संगीतको माध्यमबाट आफ्नो माटोसँग जोडीराख्ने प्रतिवद्धता जनाए ।
आईसीटी समाचार