कीवर्डहरू -

मेटाले ल्यायो सोचलाई टेक्स्टमा बदल्ने नयाँ एआई

मेटाले ल्यायो सोचलाई टेक्स्टमा बदल्ने नयाँ एआई

काठमाडौं । मेटाले मस्तिष्कका संकेतलाई टेक्स्टमा रूपान्तरण गर्न सक्ने नयाँ कृत्रिम बौद्धिकता (एआई) प्रणाली Brain2Qwerty v2 सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो प्रविधिले भविष्यमा कुनै शल्यक्रिया वा मस्तिष्कमा चिप (इम्प्लान्ट) जडान नगरी केवल सोचकै आधारमा टाइप गर्न सकिने सम्भावनाको ढोका खोल्नेछ ।

मेटाले यो प्रविधि विशेषगरी मस्तिष्कमा चोट लागेका, पक्षघात भएका वा बोल्न नसक्ने व्यक्तिहरूका लागि उपयोगी हुने जनाएको छ । यसले उनीहरूलाई आफ्ना विचार सहज रूपमा व्यक्त गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

Brain2Qwerty v2 गत वर्ष सार्वजनिक गरिएको Brain2Qwerty परियोजनाको परिष्कृत संस्करण हो । यसले मस्तिष्कमा इम्प्लान्ट नगरी नै व्यक्तिले टाइप गर्न खोजेको शब्द वा वाक्य मस्तिष्कका संकेतबाट बुझ्न सक्ने क्षमता विकास गरेको मेटाले जनाएको छ ।

यो प्रणालीले म्याग्नेटोएन्सेफालोग्राफी (Magnetoencephalography–MEG) प्रविधि प्रयोग गर्छ । विशेष हेल्मेटमार्फत मस्तिष्कबाट निस्कने सूक्ष्म चुम्बकीय संकेत मापन गरेर एआईले त्यसको विश्लेषण गर्छ । कम्पनीका अनुसार यो विधि मस्तिष्कमा चिप जडान गर्नुपर्ने प्रविधिको तुलनामा सुरक्षित, कम जोखिमयुक्त र कम आक्रामक (Non-invasive) छ ।

मेटाका अनुसार Brain2Qwerty v2 लाई नौ जना स्वयंसेवकले करिब २२ हजार वाक्य टाइप गर्दा सङ्कलन गरिएको मस्तिष्क गतिविधिको डाटाबाट प्रशिक्षण दिइएको हो । कम्पनीले यो प्रणालीले कच्चा मस्तिष्क संकेतबाटै भाषा बुझ्न सक्ने क्षमता हासिल गरेको जनाएको छ ।

परीक्षणका क्रममा यसले औसत ६१ प्रतिशत शब्द शुद्धतासहित टेक्स्ट पहिचान गरेको छ भने उत्कृष्ट नतिजा प्राप्त गर्ने सहभागीमा शुद्धता ७८ प्रतिशतसम्म पुगेको मेटाले जनाएको छ । भविष्यमा थप डाटा उपलब्ध हुँदै जाँदा यसको शुद्धता अझ बढ्ने कम्पनीको अपेक्षा छ ।

Brain2Qwerty v2 मेटाको डिजिटल ब्रेन प्रोजेक्ट अन्तर्गत विकसित अनुसन्धानमूलक प्रविधि हो । यस परियोजनाअन्तर्गत मस्तिष्क र कृत्रिम बौद्धिकतासम्बन्धी अन्य प्रविधिको विकाससमेत भइरहेको कम्पनीले जनाएको छ ।