काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) ले आफ्ना आईओएस (iOS) प्रयोगकर्ताका लागि नयाँ भिडियो एडिटर फिचर सार्वजनिक गरेको छ । कम्पनीले प्रयोगकर्तालाई मौलिक (Original) भिडियो सामाग्री सिर्जना गरी पोस्ट गर्न प्रोत्साहित गर्ने उद्देश्यले यो सुविधा ल्याएको हो ।
एक्सका प्रोडक्ट हेड निकिता बियरले नयाँ भिडियो एडिटर तथा रेकर्डर टुलमा विभिन्न उपयोगी फिचर समावेश गरिएको बताएका छन् । यसमार्फत प्रयोगकर्ताले विभिन्न भाषामा आफ्नो रोजाइअनुसार भिडियो क्याप्सन थप्न सक्नेछन् । साथै, भिडियोको पृष्ठभूमि परिवर्तन गर्न ग्रीन स्क्रिन फिचर पनि उपलब्ध गराइएको छ ।
बियरका अनुसार एक्सको प्राथमिकता क्रिएटरहरूलाई नयाँ–नयाँ सिर्जनात्मक उपकरण उपलब्ध गराएर मौलिक भिडियो बनाउन प्रोत्साहित गर्नु र उत्कृष्ट सामाग्री सिर्जना गर्ने प्रयोगकर्तालाई पुरस्कृत गर्नु हो । उनले आगामी दिनमा भिडियो एडिटरमा थप नयाँ सुविधाहरू पनि समावेश गरिने जानकारी दिएका छन् ।
हाल यो सुविधा आईफोन प्रयोगकर्ताका लागि मात्र उपलब्ध भएपनि कम्पनीले एन्ड्रोइड एपमा पनि सुधारको काम गरिरहेको जनाएको छ । त्यसैले निकट भविष्यमा यो फिचर एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि उपलब्ध हुने अपेक्षा गरिएको छ ।
एक्सले अन्य प्लेटफर्मबाट कपी गरेर पुन: पोस्ट (Repost) गरिएका भिडियोको पहुँच सीमित गर्ने नीति अपनाएको छ । त्यसैले कम्पनीले प्रयोगकर्तालाई अरूको भिडियो पुन: पोस्ट गर्नुको सट्टा आफ्नै आवाज र सिर्जनात्मकतामा आधारित मौलिक भिडियो तयार गरी पोस्ट गर्न आग्रह गरेको छ ।
आईसीटी समाचार