कीवर्डहरू -

६ महिनामा टेलिकमको कुल आम्दानी करिब २२ अर्ब, नाफा ३ अर्ब ८९ करोड

६ महिनामा टेलिकमको कुल आम्दानी करिब २२ अर्ब, नाफा ३ अर्ब ८९ करोड

नेपाल टेलिकमले ६ महिनामा ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रूपैयाँ नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव)को पुस मसान्तसम्म ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रूपैयाँ खुद नाफा कमाएको हो ।

टेलिकमले प्रकाशित गरेको वित्तिय प्रतिवेदन अनुसार गत आवको दोस्रो त्रैमासिकको पुस मसान्तसम्मको मुनाफा भन्दा यो आवको पुससम्म १८.४९ प्रतिशत अर्थात ६० करोड ८४ लाख ८१ हजारले वृद्धि भएको हो ।

कम्पनीले गत आवको दोस्रो त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु. १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ पुस मसान्त) सम्ममा रु. १ अर्ब ४८ करोड २३ लाख ३ हजार (अर्थात ८.३६ प्रतिशत) ले वृद्धि भई रु. १९ अर्ब २० करोड ७२ लाख १६ हजार रहेको छ ।

टेलिकमले चालु आवको पुससम्म २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार कुल आम्दानी गरेको छ । गत आवको सोही अवधिको भन्दा यो आवमा १ अर्ब ४१ करोड ३२ लाख ६३ हजारले वृद्धि भई रु. २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार कुल आम्दानी गरेको छ ।

गत आवको द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) मा मात्र कम्पनीको कुल सञ्चालन आय रु. ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ पुस मसान्त) को मात्र कुल सञ्चालन आय रु. ३४ करोड २३ लाख ४९ हजार (अर्थात, ३.७७ प्रतिशत) ले वृद्धि भई रु. ९ अर्ब ४३ करोड १९ लाख २३ हजार रहेको छ ।

फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँज विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि भई आम्दानी बढेको टेलिकमले जनाएको छ ।
यसैगरी टुजी/थ्रीजी सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत टुजी/थ्रीजी र फोरजी सेवाको पहुँच विस्तार गरिएको कारणले ग्राहक आधार वृद्धि हुन गएको कम्पनीको दाबी छ ।

कम्पनीको एफटीटीएच सेवा प्रति ग्राहकको आकर्षणमा वृद्धि भई एफटीटीएच मार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आईपीटीभी सेवाका ग्राहकहरु वृद्धि हुन गई फिक्स्ड नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको बताइएको छ ।

कोभिड १९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलब्ध गराइएको हुँदा सोबाट प्रत्यक्ष रुपमा राजश्व वृद्धि हुने अवस्था नरहेतापनि कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाहरुप्रति ग्राहकवर्ग आकर्षित हुन सकेको तथा सोही कारणले गर्दा सेवाको उपयोगमा वृद्धि भएको कम्पनीले दाबी गरेको छ ।

कोभिड १९ महामारी, अन्तर्राष्ट्रिय यात्रा सहज नभई सकेको वास्तविकता तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहेतापनि अनलाइन व्यवसाय, अनलाइन कक्षा, सोशल नेटवर्किङ्ग लगायत आदिमा भएको वृद्धिको कारणले कम्पनीको भ्वाइस सेवा, डाटा सेवा, एसएमएस सेवा र भास सेवामा गत आवको द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) को तुलनामा चालु आवको सोही अवधिमा सुधार आएको कम्पनीले जनाएको छ ।