कीवर्डहरू -

नेपालकै पहिलो महिला कम्प्युटर इन्जिनियरः गुण केशरी प्रधान

नेपालकै पहिलो महिला कम्प्युटर इन्जिनियरः गुण केशरी प्रधान

गुणकेशरी प्रधान मानन्धर नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर हुन् । नेपालको आईटी क्षेत्रमा ३५ वर्ष लामो योगदान गरेकी प्रधानसँग नेपाल टेलिकम र सरकारी संस्थामा मात्रै करिब ३१ वर्ष काम गरेको अनुभव छ ।

उनको करियर नेपाल टेलिकमको कम्प्युटर इन्जिनियरको रूपमा शुरू भएको थियो । प्रधानले आईसिटी क्षेत्रमा करियर बनाउन युवा र महिलालाई उत्प्रेरित गरिरहेकी छन् ।

\"\"

विभिन्न किसिमका सूचना प्रविधि सम्बन्धि जनचेतना कार्यक्रम र आधारभूत कम्प्युटर कोर्षमा समेत उनी सक्रिय छिन् । प्रधान अहिले वुमन इन इन्फर्मेसन टेक्नोलोजीको अध्यक्ष तथा क्यान महासंघको सदस्य छन् ।

यसअघि उनले नेपाल टेलिकमको निर्देशक पदमा समेत काम गरिसकेकी छन् । प्रधान हाल नेपाल टेलिकमबाट अवकाश पाइसकेकी छन् ।

प्रधान नेपाल इन्जिनियरिङ एशोसिएसन र मित्र कुञ्जकी आजिवन सदस्य समेत हुन् । आइटीमा नेपाली महिलाको नाम लिने बित्तिकै सम्झिइने नाम हो, गुणकेशरी प्रधान । प्रधानले आफ्नो बाल्यकाल भक्तपुरकोमा बिताएकी थिइन ।

एसएलसी पछि आर्किटेक्चर इन्जिनियरिङ गर्न पुल्चोक क्याम्पसमा भर्ना भइन् । तर उनको रूची भने कम्प्युटर क्षेत्रमै केही गर्ने थियो । त्यही रूचीले उनलाई नेपालको पहिलो कम्प्युटर इन्जिनियर बनायो ।

साइन्स तथा कम्प्युटर इन्जिनियरिङमा मास्टर्स डिग्री पढ्न छात्रवृत्तिमा उनी युक्रेन गइन् । २०४२ सालमा युक्रेनबाट कम्प्युटर इन्जिनियर गरेर नेपाल फर्केकी प्रधानले नेपाल टेलिकमको अफिस भिजिट गर्न गएकै दिन सातौं तहको इन्जिनियरको नियुक्ति पाएकी थिइन् ।

टेलिकममा टेलिफोनको रकम भुक्तानी कार्य कम्प्युटराइज्ड गरेर करियर सुरु गरेकी उनले सिस्टम एनालाइसिस र अपरेशन, सफ्टवेयर डेभलपमेन्टमा काम गरिन् ।

नेपालमा जिएसएम मोबाइल र इन्टरनेट विस्तार हुँदा त्यसको सुपरिवेक्षण पनि प्रधानले गरेकी थिइन् । हाल उनी टेलिकमको सेवाबाट रिटाइर्ड भैसकेकी छिन् । यसअघि उनि टेलिकममा अपरेशन्स एन्ड मेन्टेनेन्स डिपार्टमेन्टकी म्यानेजर रहेकी छन् ।

\"\"

प्रधानले कहिले प्रवक्ता त कहिले डिपार्टमेन्टको प्रमुख भएर पनि कार्यभार सम्हालिन । 'नेपाल टेलिकममा के के अवसर छ भनेर कार्यालय गएकै दिन तुरुन्तै तपाइहरु हामीलाई चाहिएको छ, आजै नियुक्ति पत्र लिएर जानु भनेर आधा घण्टामै नियुक्ति दिइयो । त्यसपछि दूरसञ्चार कम्पनीमै करियर सुरु भयो,’ उनले भनिन् ।

जुन उमेरमा महिला एग्रेसिभ्ली बिजनेश सेक्टरमा आउन सक्छन्, त्यतिबेला घरायसी समस्या जस्तै बिहे गर्नुपर्ने, घर रेखदेख, बालबाच्चा स्याहार गर्नुपर्ने लगायतका कारण महिला घरमै सिमित हुनुपरिरहेको उनी बताउछिन् ।

नेपाल टेलिकम कम्पनीमा उनको समुहले पहिलो पटक माइक्रो कम्पुटरको काम गरेको थियो । उनको समूहले कम्प्युटराइज्ड बिलिङ सिस्टमको विकास समेत गर्यो  ।

उक्त सफ्टवेयर बजारमा आएपछि कम्प्युटरको भन्दा पनि म्यानुअलबाट काम बढी प्रभावकारी भएको भन्दै प्रधान आलोचन समेत भएको थियो ।

तर प्रधानको टिमले निरन्तर उक्त प्रणालीमा काम गर्‍यो, जसको नतिजा अहिले देख्न सक्छौं । नेपाल टेलिकममा प्रि–पेड प्रणाली लागु गर्न पनि प्रधानको मुख्य भूमिका छ ।

अहिलेपनि निरन्तर आइसिटी क्षेत्रमा क्रियासिल प्रधान वुमन इन आइटी संस्था स्थापना गरेर आईसिटी क्षेत्रमा करियर बनाउन महिलालाई उत्प्रेरित गरिरहेकी छन् ।

क्यान, मित्र कुञ्ज र अन्य सामाजिक क्षेत्रमा समेत संलग्न प्रधान सूचना प्रविधि सम्बन्धि जनचेतना कार्यक्रम र ट्रेनिङ कार्यक्रमहरुमा समेत सक्रिय छिन् ।

आइसिटी क्षेत्रमा ३ दशक लामो यात्रा तय गरेकी उनी नेपाली महिला तथा विद्यार्थीहरुका लागि ठूलो प्रेरणाको स्रोत बनेकी छन् ।

प्रधानलाई यस अघि नेपालको सूचना प्रविधिमा उल्लेखनीय योगदान पुर्‍याएकोमा एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ नेपालको गुण केशरी प्रधानलाई प्रदान गरिएको थियो ।