कीवर्डहरू -

ट्राफिक व्यवस्थापनलाई स्मार्ट बनाउँदै ‘यार्सा टेक्नोलोजी’

ट्राफिक व्यवस्थापनलाई स्मार्ट बनाउँदै ‘यार्सा टेक्नोलोजी’

काठमाडौंको सडकमा देखिने अव्यवस्थित ट्राफिक, यहाँको मूख्य समस्या हो । शहरलाई विरुप बनाएको यहाँको ट्राफिक जामका कारण समस्यामा नपर्ने सायदै कोही होलान् ।

विभिन्न समयमा सरकारी तहबाट ट्राफिक जामलाई व्यस्थित पार्न प्रयासहरुको पनि थालनी भएका छन् । तर ती पूर्ण हुन सकेनन् ।

सिंगो प्रणालीले व्यवस्थित गर्न नसकेको ट्राफिक जाम समस्यालाई अहिले दुई नेपाली युवा समाधान गर्न कम्मर कसेर लागि परेका छन् । यी दुई युवा हुन् नवलपरासीका सिद्धिक अन्सारी र सिन्धुलीका राम चन्द्र खड्का ।

सन् २०१६ तिर काठमाडौं छिरेका यी दुई युवाले काठमाडौंका गल्ली तथा सडकहरुमा आखाँले हेर्न नभ्याउने गरी सडकमा ट्राफिक जाम देखे । यस्तो विकराल समस्यालाई त तत्काल समाधान गर्नैपर्छ भन्ने ठानेर त्यसपछि यी दुई युवाले स्मार्ट ट्राफिक लाइटको रिसर्च एण्ड डेभलपमेन्टमा जुटे ।

दिनरात त्यसैको अध्ययनमा जुटेपछि सोही वर्ष यी तन्नेरीहरुले स्मार्ट ट्राफिक लाइटको प्रोटोटाइप अर्थात नमुना पनि तयार पार्न सफल भए ।

यसरी तयार पारेको लाइटलाई बेच्न दुबैले सन् २०१७ मा यार्सा टेक्नोलोजीको नामका कम्पनी समेत दर्ता गराए । सिद्दिक अन्सारी कम्पनीको संस्थापक सीईओको भूमिकामा रहे ।

सौभाग्य भनौं वा संयोग सोही वर्ष ट्राफिक महाशाखा प्रमुखका रुपमा सर्वेन्द्र खनाल आए । ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनु पर्छ भन्ने खनालको सोच थियो । यता यार्सा पनि प्रोडक्टलाई बजारमा ब्रेकथ्रु लैजान बाटो खोजिरहेको थियो । यसैबीच सर्वेन्द्र खनाल र उनको भिजनबारे यार्साले थाहा पायो ।

अनि त्यसपछि त ट्राफिक महाशाखाको समन्वयमा यार्सा टरक्नोलोजी र भौतिक यातायात मन्त्रालयबीच छलफल सुरु भईहाल्यो । छलफल सकरात्मक रह्यो । मन्त्रालयले नयाँ वानेश्वर र नारायण गोपाल चोकमा ट्राफिक लाइटको पाइलट टेस्टिङ सुरू गर्न यार्सालाई निर्देशन दियो ।
पाइलट टेस्टिङ सफल भयो ।

‘त्यसैबेला देखि हामीले मन्त्रालय र हामीबीच सहकार्य सुरु भयो,’ अन्सारीले आईसीसी समाचारसँग भने, ‘अनि सडक र चोकहरुमा हामीले ट्राफिक लाईट इन्स्लेसन गर्न सुरु गर्यौं ।’

हालसम्म यार्सा टेक्नोलोजीले ५१ ठाउँमा ट्राफिक लाइट जडान गरेको छ भने अन्य ठाउँमा पनि विस्तार गर्ने तयारी छ । अहिले जडान भएका अधिकांश ट्राफिक लाइट काठमाडौं उपत्यकामा छन् । सडक विभाग, स्थानीय तह र बैंक लगायत निकायहरुले ती ट्राफिक लाइट राखेका छन् ।

\"\"

कस्तो छ त यार्साको स्मार्ट लाईट ?

नेपालमा स्मार्ट ट्राफिक लाइट राख्ने यार्सा टेक्नोलोजी पहिलो कम्पनी होइन । त्यसभन्दा अगाडि कतिपय ठाउँमा जाइकाले पनि ट्राफिक लाइट राखेको थियो तर ती चल्न सकेनन् ।

यार्सा टेक्नोलोजीले यहीँ समस्यालाई चिर्न आफूले लाईटमा प्रोडक्टसँगै मेन्टेनेन्सको सुविधा पनि प्रदान गर्दै आएको छ ।

कम्पनी बनाएको ट्राफिक लाईटले ब्याट्रीको खपत एकदमै कम गर्छ । पहिले लोडसेडिङ हुँदा सोलारबाट पनि सञ्चालन हुन्थ्यो भने अहिले बिजुलीबाट सञ्चालन हुन्छ । यसले एक दिनमा १.५ देखि २ युनिटसम्म विद्युत खपत गर्छ । ट्राफिक लाइट ब्याट्रीमा ब्याकअप सिस्टम पनि राखिएको छ, जसले २–३ घण्टासम्म धान्छ ।

यसको मूल्य सडकहरु अनुसार फरक पर्छ । जुन १८–१९ लाखसम्म पर्दछ ।

‘कुन बोटो र कस्तो खालको बाटोमा ट्राफिक लाईटको राख्ने ? शुल्क त्यसमा भर पर्छ’ अन्सारी भन्छन् ।

यार्साले स्मार्ट ट्राफिक लाइटको डिजाइन र डेभलपमेन्ट नेपालमै गरेपनि त्यसका लागि आवश्यक सामग्री विदेशबाट ल्याउने गरेको छ ।

तर यार्साका लागि एउटा नीतिगत चुनौती पनि रहेको छ । नेपाल सरकारसँग अहिलेसम्म स्मार्ट ट्राफिक लाइट निर्माणका लागि निश्चित मापदण्ड छैन । बन्ने तयारी भईरहेको छ । तर काम त गर्नैपर्छ यसैले अहिले यार्सा टेक्नोलोजी अमेरिकी मापदण्ड अनुसार ट्राफिक लाइट बनाउँदै आईरहेको छ ।

‘नेपाल सरकारले पनि चाढै मापदण्ड ल्याउला त्यसपछि सोही अनुसार हामी लाईट बनाउने छौं ।’ अन्सारी आशाको स्वरमा भन्छन् ।

हल ट्राफिक लाईट बाहेक यार्सा टेक्नोलोजी सिंगो सडक सुरक्षाको क्षेत्रमा पनि काम गर्न अग्रसर छ । यसका लागि यार्साले सडक सुरक्षाका विभिन्न विषय अनुसन्धान र प्रोडक्ट विकास गर्दै आईरहेको छ ।

\"\"

‘हामीले यसअघि करिब ७–८ महिना अघि स्मार्ट स्ट्रिट लाइट पनि तयार गरेका थियौं । उक्त स्ट्रिट लाइटको ललितपुरमा सफल परीक्षण पनि भइसकेको छ ।’ अन्सारी सुनाउँछन् ।

उक्त स्मार्ट स्ट्रिट लाइटमा मान्छेको आवतजावत अनुसार लाइटको ब्राइटनेस म्यानुअलरुपमा घटाउन बढाउन सकिन्छ । स्मार्ट स्ट्रिट लाइटबाट कुन लाइट बलेको छ, कुन लाइटमा समस्या आएको छ त्यो थाहा पाउन सकिन्छ ।

‘अहिले हामीले कन्ट्रोलर दिइरहेका छौं,’ उनले भने, ‘उक्त कन्ट्रोलरको प्रयोग गरेर पूराना स्ट्रिट लाइटलाई स्मार्ट बनाउन सकिन्छ ।’

त्यस्तै यार्सा टेक्नोलोजीले भेहिलक काउन्टिङ र रेड लाइट भ्वाइलेसन सिस्टमको विकासमा समेत काम गरिरहेका छन् । भेहिकल काउन्टिङबाट कुन सडकमा कति सवारीसाधन कुदिरहेको छ भनेर थाहा पाउन सकिन्छ ।

साथै रेड लाइट भ्वाइलेसन सिस्टमबाट कुन सवारीसाधनले रेड लाइट भ्वाइलेसन ग¥यो त्यसको जानकारी प्रहरीलाई जान्छ ।

सडक विभागले बाटो बनाउन मात्र रूची देखाएको र सडक सुरक्षामा कम रूची देखाएकोमा उनको गुनासो छ । सेफ्टि बिलिन्कर र जेब्राक्रसिङमा पनि ट्राफिक लाइट राख्नु पर्ने उनी बताउँछन् ।

तर विभागको चेत यतातिर पनि विस्तारै बढ्दै जानेमा उनी आशावादी छ ।

कम्पनीमा २ संस्थापकसहित ८ जना कार्यरत रहेका छन् ।