कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणले देशभरका १६ हजार १७७ ठाउँमा पुर्‍यायो ब्रोडब्याण्ड इन्टरनेट

दूरसञ्चार प्राधिकरणले देशभरका १६ हजार १७७ ठाउँमा पुर्‍यायो ब्रोडब्याण्ड इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले देशभर ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्‍याएको छ । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी प्राधिकरणले देशभरका कुल १६ हजार १७७ ठाउँमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्‍याएको हो ।

प्राधिकरणले सार्वजनिक गरेको असार मसान्तसम्मको डेटा अनुसार देशभरका ७०८ स्थानीय तह, ५ हजार ९३३ वडा कार्यालय, ५ हजार २९९ माध्यमिक विद्यालय र ४ हजार २३७ स्वास्थ्य संस्था गरी कुल १६ हजार १७७ ठाउँमा ब्रोडब्याण्ड इन्टरनेट पुगेको हो ।

इन्टरनेट जडान भएका ठाउँमा २ वर्षसम्म प्राधिकरणले निःशुल्क इन्टरनेट उपलब्ध गराउने छ । २ वर्ष पूरा भएपछि सम्बन्धित संस्थाले नै इन्टरनेटको शुल्क तिर्नुपर्नेछ ।

प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरेर ब्रोडब्याण्ड इन्टरनेट परियोजनालाई १८ वटा प्याकेजमा विभाजन गरेको थियो ।

दूरसञ्चार प्राधिकरणले देशभर ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारका लागि प्रतिस्पर्धाबाट १८ वटा प्याकेजमा विभिन्न सेवा प्रदायक छनोट गरेको थियो ।

१८ वटा प्याकेज मध्ये १० वटा परियोजनाको मोनिटरिङ तथा भेरिफिकेसन भइसकेको छ । त्यस्तै ५ वटा परियोजनाको परामर्शदाताबाट फेज टु अन्तर्गतको मोनिटरिङ तथा भेरिफिकेसन कार्य सम्पन्न भएको र ३ वटा परियोजनाको फेज टु अन्तर्गतको मोनिटरिङ तथा भेरिफिकेसन कार्य भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।