कीवर्डहरू -

निर्णय गर्न सघाउने एपः डिसिजन मेन्टर

निर्णय गर्न सघाउने एपः डिसिजन मेन्टर

काठमाडौं । प्रत्येक मानिसका लागि निर्णय क्षमता एउटा अनिवार्य जीवनकला हो । सुखद र सन्तुलित जीवन चाहने हरेकका लागि यो क्षमता अत्यन्तै आवश्यक छ ।

तर यति धेरै आवश्यकता र छनौटका विकल्प तथा प्राथमिकताका आधारहरुलाई लेखाजोखा गरी सही समयमा सही निर्णय लिनसक्नु एकदमै जटिल काम हो । किनकी दिमागको घोडालाई जोडदार दौडाउने सक्ने बस जोकसैमा हुँदैन ।

यस्तो बेला व्यक्ति हत्तारिएर, आत्तिएर अपरिपक्व निर्णय लिन्छन् र बाँकी जीवनभर पछुताउन बाध्य हुन्छन् । यस्ता अवस्था आउन नदिन प्रविधिले पछिल्लो समय यसको पनि समाधान खोजेको छ । दुविधालाई हटाएर सही निर्णय लिन सघाउने यो समाधानको नाम ‘ डिसिजन मेन्टर ’ हो ।

डेभलपमेन्ट डाइनामिक्स प्राली र ट्रुनरी सोल्युसनले संयुक्तरुपमा २०२० सेप्टेम्बरमा सार्वजनिक गरेको डिसिजन मेन्टर एउटा मोबाइल एप हो । यो एप एन्ड्रोइड र एप्पल प्ले उपलब्ध छ ।

यो एउटा ‘मल्टिपल क्राइटेरिया डिसिजन मेकिङ’ एप हो । विभिन्न किसिमका दुविधाहरुलाई  गठजोड गरी उपयुक्त निर्णय लिनमा यस एपले सहयोग गर्दछ ।

कसरी प्रयोग गर्ने त डिसिजन मेन्टरलाई ?

डिसिजन मेन्टर एप, गुगल प्लेस्टोर र एप स्टोर दुबै प्लेटफर्ममा उपलब्ध छ । यसलाई मोबाइलमा डाउनलोड गरी इन्स्टल गरी सोझै प्रयोग गर्न सकिन्छ । अन्य एपमा जसरी यसमा लगइन आईडी बनाएर छुट्टै अकाउन्ट खोल्ने झन्झट छैन ।

एपलाई खोल्ने बित्तिकै तल रहेको ‘लेट्स स्टार्ट’ बटनमा ट्याप गरेपछि यसको मूख्य पेजमा पुग्न सकिन्छ । एपको तलतिर तीनओटा बटन रहेका छन् जसमा क्रमशः होम, न्यूँ डिसिजन र स्याम्पलहरु रहेका छन् ।

यदि तपाई पहिलोपटक यस एपलाई प्रयोग गर्दै हुनुहुन्छ भने यसको होम पेज तपाईंले खाली पाउनु हुनेछ । किनभने यस पेजमा तपाईंले एपमार्फत गर्नु भएको अघिल्लो निर्णयहरु सुरक्षित रुपमा संग्रहित भएर बस्दछ जसलाई ‘डिसिजन आक्राइभ’ पनि भन्न सकिन्छ ।

यसैगरी दोस्रो बटन न्यूँ डिसिजनमा गएर तपाईँले निर्णयका लागि परेको समस्या सृजना गर्न सक्नुहुन्छ । यो बटन ट्याप गरेपछि तपाईंले दुईओटा बक्स देख्नुहुन्छ ।

पहिलो बक्समा तपाईंले आफ्नो ‘डिसिजन अब्जेक्टिभ्स’ राख्नसक्नुहुन्छ अर्थात् सटिकमा आफ्नो समस्या । उदाहरणका लागि कुन कपडा खरिद गर्ने दुविधामा तपाईं हुनुहुन्छ भने सोही अनुसार समस्या सृजना गर्नुहोस् । दोस्रो बक्स ‘डिस्क्रिप्सन’ मा तपाईंले आफ्नो समस्या र समाधानका विकल्पहरुलाई दुई लाइनमा लेख्न सक्नुहुन्छ ।

यी दुई बक्समा लेखिसकेपछि तल रहेको सेभ बटनलाई ट्याप गर्नुहोस् । यति गरेपछि तपाईं अर्को पेजमा पुग्नुहुन्छ जहाँ तपाईंले आफ्नो च्वाइज र क्राइटेरिया दुईओटा बटन देख्नुहुनेछ । सुरुमा तपाईंले च्वाइजमा ट्याप गरी आफूसँग भएका कपडाका विकल्पहरुलाई थप गर्दै जानुहोस् । उदाहरणका लागि तपाईंसँग पाइन्ट टिसर्ट, कुर्था सलवार र वान पिसका तीनओटा विकल्प छन् भने तीनैओटालाई एड गर्नुहोस् । यति मात्र होइन तपाईंले आफूसँग भएका अन्य विकल्प पनि थप्दै जानसक्नुहुनेछ ।

अब पुन दायाँमा रहेको क्राइटेरिया बटनमा ट्याप गर्नुहोस् । निर्णय गर्ने आधारहरुलाई अब क्राइटेरियामा थप्दै जानुहोस् । उदाहरणका लागि मूल्य, टिकाउ, सहजता आदी ।

च्वाइज र क्राइटेरिया थप गरेपछि अब तल रहेको क्राइटेरिया कम्प्यारिजनमा जानुहोस् । त्यहाँ प्रत्येक क्राइटेरियाहरुलाई एकअर्काबीच तुलना गर्ने सुविधा दिइएको छ । रोजाईका आधारहरुमध्ये कुनलाई बढि प्राथमिकता दिइन्छ त्यो अनुसार बटनलाई चलाउन सकिन्छ । यति गरेपछि अब यसलाई सेभ गरिदिनुहोस् ।

अब अर्को च्वाइज कम्पेरिजनमा ट्याप गर्नुहोस् । यसमा फेरी तपाईंले प्रत्येक क्राइटेरियाको आधारमा आफ्नै च्वाइजहरुलाई तुलना गर्नुहोस् । यी सबैलाई पेजमा सुरक्षित गर्दै जानुहोस् ।

सबै च्वाइज र क्राइटेरियाहरुबीच तुलना गरिकसेपछि अब अन्तिममा डिसिजन एनालिसिस रिजल्टमा ट्याप गर्नुहोस् । जब तपाईं आफ्नो डिसिजन हेर्नुहुन्छ तब तपाईंको यति धेरै विकल्प र क्राइटेरियाहरुको प्राथमिकता र आवश्यकतालाई मज्जाले केलाएर कुन विकल्प तपाईंका लागि किन उपयुक्त हुन्छ भनेर एपले आफै देखाइदिन्छ ।

यसबाहेक, स्याम्पलको खण्डमा गएर तपाईंले विभिन्न डिसिजन स्याम्पल हेर्नसक्नुहुन्छ । साथै त्यसमा गएर माथि दायाँ कुनामा रहेको कलम आइकनमा ट्याप गरी आफू अनुकूल क्राइटेरिया र च्वाइजलाई इडिट गरी नयाँ डिसिजन कृयट गर्नसक्नुहुन्छ ।

यो एपको सबैभन्दा राम्रो पक्ष भनेको युजर एक्सपिरियन्सलाई सहज बनाउन डेभलपरले पहिलोपटक एप प्रयोग गर्ने सबै प्रयोगकर्ताका लागि एपभित्र देखिने बटनहरुको कार्यबारे जानकारी पपअप गरिदिन्छ । यसबाट कुन बटन ट्याप गर्दा के गर्न सकिन्छ भनेर प्रयोगकर्ताले आफै थाहा पाउन सक्छन् ।

हालसम्म डिसिजन मेन्टर एप ३ हजार पटक डाउनलोड भईसकेको छ । यस एपलाई अनलाइन र अफलाइन दुबै मोडमा प्रयोग गर्न सकिन्छ ।

यसरी फुर्यो डिसिजन मेन्टरको आईडिया

डिसिजन मेन्टर एपलाई २ वर्ष अघि डेभलपमेन्ट डाइनमिक्स प्राली र ट्रुनरी सोल्युसनले संयुक्तरुपमा गुगल प्लेस्टोरमा सार्वजनिक गरेका हुन् ।

डेभलपमेन्ट डाइनमिक्स प्रालीका प्रमुख कार्यकारी अधिकृत शशि भट्टराई एएचपी डोमेन एक्सपर्ट हुन् । कम्प्लेक्स डिसिजन मेकिङको डोमेनमा २२ वर्षदेखि काम गर्दै आइरहेका भट्टराईलाई निर्णय निर्माण सामान्य मानिसहरुका लागि कति जटिल विषय छ भन्ने कुराको राम्रोसँग ज्ञात थियो ।

यसलाई हल गर्न सघाउने एनालाइटिकल, हाईरार्की, प्रोसेस अर्थात् एएचपीको सिदान्त पहिल्यै विकसित छ । भट्टराई आफै पनि यस विषयका प्राज्ञ थिए ।

तर यसलाई सर्वसाधारण नागरिकहरुको पहुँचसम्म कसरी पुर्याउन सकिन्छ भन्नेमा भट्टराईसँग स्पष्ट योजना थिएन ।

तर कर्पोरेट तहमा भने निर्णय गर्न सघाउने एक्सपर्ट च्वाइज डटकम, डिजिटल ल्याण्डस्क्याप कम, सुपर डिसिजन डट कम, ट्रान्सपरेन्ट च्वाइज जस्ता धेरै सफ्टवेयर पहिल्यैदेखि प्रयोगमा थिए ।

सबैको हात हातमा मोबाइल पुगेसँगै कर्पोरेटलाई  जसरी नागरिकको हातमा पनि निर्णय क्षमताको सुविधा पुर्याउन सकिन्छ भन्ने भट्टराईलाई लाग्यो ।

तर आफ्नो हार्डकोर प्राविधिक पृष्ठभूमी नभएको कारण, एउटा उपयुक्त प्राविधिक साझेदारको खोजीमा थिए उनी । यसबीच ट्रुनरी सोल्युसनका सोभित पौडेलसँग भट्टराईको भेट भयो र यी दुई कम्पनीले सहकार्यमा यो एप निर्माण गरी सार्वजनिक गरेका हुन् ।

डिसिजन मेन्टरलाई कतिपायले गलत बुझेको बताउँदै भट्टराई भन्छन्, ‘धेरैले यसलाई डिसिजन दिने एप भन्ने गरेका छन्, तर एपले कहिल्यै पनि डिसिजन दिदैँन । डिसिजन त मान्छेले नै दिने हो तर हाम्रो एपले निर्णय गर्नका लागि व्यक्ति वा संस्थालाई वस्तुगत आधार दिने गर्दछ, सहजीकरण गर्दछ ।’

डिसिजन मेन्टर मल्टिपल क्राइटेरिया डिसिजन मेकिङ थेउरीमध्येको एउटा एएचपी थेउरी अर्थात् एनालाइटिकल, हाईरार्की, प्रोसेस थेउरीमा आधारित छ । यस एपको प्राविधिक पाटोमा ट्रुनरी सोल्युसनले काम गरेपछि यसमा प्रयोग गरिएको एएचपीको एल्गोरिदममा भने भट्टराई आफैले काम गरेका छन् ।

प्रत्येक वर्ष आयोजना हुँदै आईरहेको अन्तराष्ट्र्रिय एएचपी थेउरी सिम्पोजियम २०२० मा समेत यस एपलाई भट्टराई र पौडेल प्रस्तुत गरेका थिए । इन्टरनेन्शल सोसाइटी अफ मल्टिपल क्राइटेरिया डिसिजन मेकिङले सेप्टेम्बर २०२० को जर्नलमा समेत यस एपबारे लेख प्रकाशित भईसकेको छ ।

सैदान्तिक रुपमै विभिन्न अन्तराष्ट्र्रिय फोरमहरुबाट प्रमाणित भईसकेको एपलाई अब सामान्य मानिसहरुमाझ पुर्याएर उनीहरुको निर्णय क्षमतामा सहयोग पुर्याइ मूल्य सृजना गर्ने भट्टराई बताउँछौं ।

‘हामीले निर्माण गरेको यस एपले थेउरिटिकल्ली भेलिडेसन पाईसकेको छ । अबको हाम्रो लक्ष्य भनेको सामान्य मानिसहरु सम्म यसलाई पुर्याएर उनीहरुको रियल लाइफ प्रबलमलाई समाधान दिने हो ।’ भट्टराईले भने ।

हालसम्म मोबाइल एपमा मात्र उपलब्ध रहेको यस एपको युजर एक्सपिरियन्सलाई अझ राम्रो बनाउने कम्पनीको योजना छ । बुट्सट्रापिङबाट सञ्चालन भईरहेको यो एपको आगामी दिनमा कमर्शियल प्रोडक्टकै रुपमा बजारमा सार्वजनिक गर्ने कम्पनीको सोच छ । यसका लागि हाल कम्पनी वेब एपमा समेत काम गरिरहेको छ ।

‘अहिले त यो पर्सनलाइज भर्सनमा मात्र छ,’ भट्टराईले भने, ‘यसको फाइडेबिलिटी बढाउन र रेभिन्यू स्ट्रिम विकास गर्न यसलाई हामी चाढै नै वेबमा ल्याएर इन्टरप्राइज सोल्युसन समेत प्रदान गर्नेछौं ।’ भट्टराईले भने ।

एप डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।