कीवर्डहरू -

नेपालमै बनेको भिडियो कम्प्युनिकेसन प्लेटफर्म मिखा, विदेशमा पनि सेवा दिने तयारी

नेपालमै बनेको भिडियो कम्प्युनिकेसन प्लेटफर्म मिखा, विदेशमा पनि सेवा दिने तयारी

भनिन्छ, ‘समस्या र समाधानको बिचमा उद्यम हुन्छ ।’ जसले समस्या पहिचान गर्न सक्छ र समाधान दिन सक्छ, त्यही हो उद्यमी । केही समय अघिसम्म नेपालमा बैंकमा खाता खोल्न र केवाईसी अपडेट गर्न बैंकमा गएर लामो फाराम भर्नुपर्थ्यो ।

विदेशमा अनलाइनबाटै खाता खोल्न सकिने सुविधा भएपनि नेपालमा त्यस्तो सुविधा थिएन् । यो एउटा समस्याको रूपमा रहेको थियो । तर बिट्सक्राफ्टले यो समस्यालाई पहिचान गर्‍यो र समाधान गर्नका लागि सिस्टम विकास गर्न गर्‍यो ।

त्यो सिस्टमको नाम हो ‘ मिखा ’ । मिखा भनेको नेवारी भाषामा आँखा हो । त्यसबाट उत्प्रेरित हुँदै यसको नाम मिखा रहन गएको हो ।

बिट्सक्राफ्ट एक आईटी कम्पनी हो, जसले सफ्टवेयर विकास, वेबसाइट विकास, मोबाइल एप विकास, डाटा एनालाइसिस, बिजनेस अटोमेसन, आओओटी, रोबोटिक्स लगायतका सेवा प्रदान गर्दै आएको छ ।

कोरोना महामारी अगाडि नै मिखाको आईडिया आएपनि कोरोना महामारीले त्यसमा थप बल दिएको बिट्सक्राफ्टका सह-संस्थापक निरज शाहले बताए ।

‘कोरोना महामारीभन्दा अगाडि नै मिखाको आईडिया आएको थियो । महामारीले त्यो आईडियालाई मूर्त रूप लिन थप बल दियो,’ उनले आइसिटी समाचारसँग भने, ‘महामारीको समय बैंकमा भिजिट गर्न सक्ने अवस्था नभएपछि आईडिया काम लाग्यो ।’

\"\" निरज शाह, सहसंस्थापक, बिट्सक्राफ्ट


मिखा एक भिडियो कम्युनिकेसन प्लेटफर्म हो । सुरूवाती चरणमा भिडियोबाटै बैंकको केवाईसी अपडेट गर्ने, खाता खोल्ने सुविधाबाट सुरू भएपनि मिखालाई अन्य क्षेत्रमा लैजाने योजना उनीहरूको छ ।

‘हामीले सुरूमा बैंकलाई नै लक्षित गरेका हौं । अब स्वास्थ्य, शिक्षा लगायतका अरू क्षेत्रमा पनि जान्छौं,’ उनी खुसी हुँदै भन्छन् ।’

विदेशमा भिडियो केवाईसी सेवा लोकप्रिय भएपनि नेपालका लागि भने नयाँ थियो । नेपालमा यो प्रविधि नयाँ थियो । सुरूवाती चरणमा मानिसहरूले नयाँ प्रविधिलाई आत्मसात गर्छन् की गर्दैनन् भने डर थियो तर भयो उनीहरूको अपेक्षा विपरित मानिसहरू मज्जाले मिखा प्रयोग गर्न थाले ।

मिखा सबैभन्दा बढी प्रयोग गर्नेमा विदेशमा बस्ने नेपाली छन् । सफ्टवेयरको ‘फ्लेक्जिबिलिटी’ कारण मन पराइरहेको कम्पनीको ठम्याइ छ । मिखामा नयाँ नयाँ फिचरहरू पनि थप गर्दै जाने कम्पनीको योजना छ ।

मिखाको एउटा राम्रो पक्ष भनेको, यसलाई कस्टमाइज गरेर आफ्नो आवश्यता र सुविधा अनुसार प्रयोग गर्न सकिन्छ । मुख्यतः यसलाई बैंकको सिस्टममै एकीकृत गर्न सकिन्छ ।

बैंक र ग्राहक ‘फेस टु फेस’ हुनुपर्ने सबै काममा मिखा प्रयोग गर्न सकिने शाह बताउँछन् । सुरूमा लक्ष्मी बैंकले मिखा प्रयोग गर्न थालेको थियो । त्यसपछि ज्योति विकास बैंक र ग्लोबल आईएमई बैंकले पनि मिखा प्रयोग गरिरहेका छन् ।

उनका अनुसार मिखाबाट ग्राहकको डेटा बाहिर जादैन् र सुरक्षित पनि छ । ‘मिखाबाट डेटा बाहिर जाँदैन् । स्ट्रिमिङ क्लाउडमा हुन्छ । रेकर्डिङहरू सबै बैंकको सर्भरमा आएर बस्छ,’ निरजले भने, ‘मिखाबाट भिडियो कन्युनिकेसन सुरक्षित तरिकाले हुन्छ । यसबाट बिचमा कसैले इन्टरसेप्ट गर्न सक्दैन् ।’

मिखामा ग्राहकको फेसियल रिकग्निसनका लागि एआई सिस्टम पनि राखिएको छ । जीओ लोकेसन ट्रयाकिङ पनि हुन्छ । यदी कुनै संस्थाले क्लाउड स्ट्रिमिङ पनि आफै गर्छु भन्छ भने त्यो सुविधा पनि मिखामा रहेको छ । भौतिक रूपमा भन्दा अनलाइनबाटै गर्दा ग्राहकलाई पहिचान गर्न झन सहज हुने बताउँछन् ।

\"\"

मिखालाई अहिलेसम्म सबैले सकारात्मक प्रतिक्रिया दिएका छन् । मिखा सम्भवत नेपालमा बनेको नेपालकै पहिलो भिडियो कम्युनिकेसन प्लेटफर्म समेत हो ।

मिखाले जस्तै बजारमा विदेशी कम्पनीले त्यस्तो सेवा दिइरहेका छन् । बजारमा प्रतिस्पर्धा छ । ‘बजारमा प्रतिस्पर्धा छ, प्रतिस्पर्धा हुनु राम्रो पनि हो । विदेशीसँग हामीले प्रतिस्पर्धा गरिरहेका छौं, त्यसमा हामीलाई गौरव छ,’ उनी भन्छन् ।

मिखाले नेपालमा एक हदसम्म सफलता पाइसकेको छ । नेपालमा सफलता पएसँगै मिखा अब विदेशमा छिर्ने पनि तयारी गरेको छ । यस वर्षभित्रै नेपाल बाहिर पनि मिखा प्रयोग हुने उनले जानकारी दिए ।

उनले अगाडि भने, ‘जहाँ ‘फेस टु फेस’ भिडियो कम्युनिकेसन चाहिन्छ, त्यहाँ मिखा प्रयोग गर्न मिल्ने गरी काम गरिरहेका छौं ।’

कुनै पनि प्रडक्टको सफलतामा ‘टिमवर्क’ महत्वपूर्ण हुन्छ । प्रडक्ट बनाउन एक्लै सुरू गरेपनि अन्ततः टिम नै महत्वपूर्ण कुरा हो । मिखामा अहिले १२ जनाको डेडिकेटेड टिम छ । टिमवर्कले नै यहाँसम्मको सफलता मिलेको शाह बताउँछन् ।

नेपाली प्रडक्टलाई हत्त न पत्त विश्वास गर्दैनन् । नेपाली प्रडक्ट भन्ने बित्तिकै नाक खुम्च्याउने चलन छ । त्यो चुनौतीलाई मिखाले चिर्न सफल भएको छ । विश्वास जित्नु सबैभन्दा ठूलो चुनौती रहेको उनको अनुभव छ ।

ग्राहकको आवश्यकता अनुसार २४ सै घण्टा सहयोग उपलब्ध गराउने उनले बताए । मिखाले सन् २०२१ मा प्रडक्ट आइसिटी अवार्ड प्रडक्ट समेत पाएको थियो । आइसिटी अवार्डले मिखाको प्रवर्द्धनमा एकदमै ठूलो भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

‘आइसिटी अवार्ड २०२२ को नोमिनेसन खुला भएको छ । त्यसमा आवेदन दिन सबैलाई अनुरोध गर्छु,’ उनले भने, ‘आफ्नो आईडियालाई नयाँ उचाइमा लैजान, परिस्कृत गर्न, नेटवर्किङ बढाउन र लगानीको ढोका खोल्न आइसिटी अवार्ड महत्वपूर्ण छ ।’