कीवर्डहरू -

हेटौंडाको \'डिजास्टर रिकभरी केन्द्र\' आगलागी पश्चात पुनः सञ्चालनमा

हेटौंडाको \'डिजास्टर रिकभरी केन्द्र\' आगलागी पश्चात पुनः सञ्चालनमा

हेटौँडाको डिजास्टर रिकभरी केन्द्रमा गत ४ दिन अगाडि भएको आगलागी पश्चात केन्द्र पुनः सञ्चालनमा आएको छ । चार दिन अघि हेटौँडाको प्रकोप रिकभरी केन्द्रको ब्याट्रीमा आगलागी भएर करिब २ करोड बढिको स्रोतको क्षति भएको थियो ।

आइतबार दिउँसो करिब ३ बजेदेखि सेन्टर इलेक्ट्रिक रुमबाट विद्युत् सर्ट भई आगलागी भएको थियो । यो डाटा सेन्टरको ब्याट्री राख्ने कोठाबाट आगो लाग्न थालेको थियो ।

आगो लाग्ने बितिकै काठमाडौँबाट रास्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदिप पौडेल लगायत निर्देशक र इन्जिनियरको समूह हेटौडा पुगेको थियो ।

एकदमै भयावह स्थिति पश्चात पनि त्यहाँ रहेको कर्मचारी तथा इन्जिनियरहरुको लगातार मिहिनेतका कारण चार दिन पछि केन्द्र पूर्णरुपमा सञ्चालनमा आएको कार्यकारी निर्देशक प्रदिप पौडेलले बताए ।

उनले भने 'त्यहाँका कर्मचारीहरु राति २ बजेसम्म आहोरात्र काम गर्दै केन्द्रलाइ थप कुनै क्षती बिना केहि दिनमै संचालनमा ल्याउन सकिएको हो ।'

डिजास्टर रिकभरी केन्द्र कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सीले निर्माण गरेको हो । यो सन् २०१९ देखि सञ्चालनमा रहेको छ । केन्द्रले सरकारी सफ्टवेयर, राष्ट्रिय पोर्टल, इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र सवारी साधन दर्ता, मेसिनले पढ्ने योग्य राहदानी, राष्ट्रिय परिचयपत्र, इलेक्ट्रोनिक हस्ताक्षर, ई–कस्टम सेवाहरू लगायतको ब्याकअप जानकारी भण्डारण गने गर्दछ । कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सीले यस केन्द्र निर्माणका लागि ३७० मिलियन रुपैयाँ सहयोग गरेको थियो ।