काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रेग्मीले पदबाट राजीनामा दिएका छन् । कम्पनीले सामाजिक सञ्जालमार्फत रेग्मीको योगदान र नेतृत्वको प्रशंसा गर्दै उनको आगामी व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ ।
कम्पनीका अनुसार रेग्मीको दूरदर्शिता, नेतृत्व क्षमता र मार्गदर्शनले आईएमई खल्तीलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ । कम्पनीले उनको नेतृत्वमा भएका उपलब्धि तथा संस्थाको विकासमा पुर्याएको योगदानको प्रशंसा गरेको छ ।
रेग्मी यसअघि आईएमई डिजिटल सोलुसन लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । खल्ती र आईएमई डिजिटल सोलुसनबीच मर्जर भएपछि उनी संयुक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । मर्जरपछि केही समय उनले खल्ती बाई आईएमई लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए ।
फिनटेक, बैंकिङ तथा डिजिटल रूपान्तरणको क्षेत्रमा डेढ दशकभन्दा बढी अनुभव हासिल गरेका रेग्मीले नेपालको डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । विशेष गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा नगदरहित अर्थतन्त्रको अवधारणालाई अघि बढाउने अभियानमा उनको योगदान उल्लेखनीय रहेको छ ।
उनी नेपालका भुक्तानी सेवा प्रदायकहरूको छाता संगठन ‘पीएसपी संघ नेपाल’का संस्थापक अध्यक्ष समेत हुन् । नेपालमा डिजिटल भुक्तानी प्रणाली विस्तार हुँदै गएको अवस्थामा रेग्मीको नेतृत्व र अनुभवले यस क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको मानिन्छ ।
आईएमई खल्तीबाट बाहिरिए पनि उनले फिनटेक तथा डिजिटल वित्तीय सेवाको क्षेत्रमा आफ्नो संलग्नता र योगदानलाई निरन्तरता दिने बताएका छन् । यद्यपि, उनले आगामी दिनमा सम्हाल्ने जिम्मेवारी वा नयाँ व्यावसायिक योजनाबारे भने सार्वजनिक गरेका छैनन् ।
आईसीटी समाचार