कीवर्डहरू -

कोरोना संक्रमणमा मोबाइल व्यवसाय उच्च, दश महिनामा भित्रिए ३२ अर्बका मोबाइल सेट

कोरोना संक्रमणमा मोबाइल व्यवसाय उच्च, दश महिनामा भित्रिए ३२ अर्बका मोबाइल सेट

मुलुकमा कोरोना संक्रमणले अर्थतन्त्रलाई प्रतिकुल प्रभाव पारिरहेको बेला दूरसञ्चार सेवासँग सम्बन्धित सामानको आयातमा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको बैशाखसम्मको तथ्यांक हेर्ने हो भने मोबाइल सेट मात्रै ३२ अर्ब ९ करोड २९ लाख १७ हजार रूपैयाँ बराबरको आयात भएका छन् ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको चालु आवको दश महिनामा उक्त मूल्यका ६३ लाख ५५ हजार २३४ थान मोबाइल नेपाल भित्रिएका छन् । यो आयात गतवर्षको सोही अवधिको तुलनामा आधाभन्दा धेरैले वृद्धि हो ।

गत आर्थिक वर्षको बैशाखसम्म १४ अर्ब बढीको मोबाइल फोन आयात भएको थियो । उक्त अवधिमा १४ अर्ब ६८ करोड ९० लाख २४ हजार रूपैयाँ बराबरको ३९ लाख ५१ हजार ३०७ मोबाइल सेट आयात भएको थियो ।

गत आवको भन्दा यो आवको बैशाखसम्म दोब्बर बढी मूल्यका मोबाइल आयात भएका छन् ।  चालु आर्थिक वर्षको बैशाखसम्म मोबाइल आयातबाट सरकारलाई ५ अर्ब ७ करोड ९४ लाख ३८ हजार रूपैयाँ राजस्व प्राप्त भएको छ ।

गत आवको बैशाखसम्म मोबाइल आयातबाट सरकारलाई २ अर्ब ३२ करोड ६९ लाख २६ हजार रूपैयाँ राजस्व प्राप्त भएको थियो । यो आवमा मोबाइल आयात वृद्धि भएपछि सरकारले पाउने राजस्वमा समेत वृद्धि भएको छ ।