कीवर्डहरू -

मस्कको ‘एक्स’लाई झस्काउँदै फेरि फर्कियो ट्विटरको ‘निलो चरा’

मस्कको ‘एक्स’लाई झस्काउँदै फेरि फर्कियो ट्विटरको ‘निलो चरा’

काठमाडौं । ट्विटर फर्किएको छ । चर्चित ‘निलो चरा’को लोगो र ‘ट्विटर’ नाम फेरि सामाजिक सञ्जालको दुनियाँमा देखिन थालेको छ । तर यो एलन मस्कको ‘एक्स’को पुनर्ब्रान्डिङ भने होइन ।

अमेरिकाको भर्जिनियामा आधारित ‘अपरेसन ब्लुबर्ड’ नामक स्टार्टअपले ‘ट्विटर नाउ’ नामक नयाँ सामाजिक सञ्जाल प्लेटफर्म सार्वजनिक गरेसँगै ‘ट्विटर’ नाम पुन: चर्चामा आएको हो । यो स्टार्टअप ट्विटरका पूर्व जनरल काउन्सिल (कानुनी सल्लाहकार) स्टिफन कोट्सले सञ्चालन गरिरहेका छन् ।

‘ट्विटर नाउ’को सुरुवात एलन मस्कको ‘एक्स कर्प’सँगको कानुनी विवादकै बीच भएको हो । ट्विटरसम्बन्धी बौद्धिक सम्पत्तिको प्रयोग रोक्न माग गर्दै एक्स कर्पले डेलावेयरको संघीय अदालतमा ‘अपरेसन ब्लुबर्ड’ विरुद्ध मुद्दा दायर गरेको छ । ‘आर्स टेक्निका’का अनुसार विवाद मुख्यत: ‘ट्विटर’ नाम, ‘ट्विट’ शब्द र चर्चित निलो चराको लोगोको प्रयोगलाई लिएर केन्द्रित छ ।

‘अपरेसन ब्लुबर्ड’ले भने सन् २०२२ मा एलन मस्कले ट्विटर अधिग्रहण गरेपछि कम्पनीलाई ‘एक्स’का रूपमा पुन: ब्रान्डिङ गर्दा एक्स कर्पले ट्विटरको ट्रेडमार्क तथा त्यससँग सम्बन्धित बौद्धिक सम्पत्ति अधिकार त्यागेको दाबी गरेको छ । त्यही कारण आफूहरूले उक्त नाम अपनाएको र ‘ट्विटर नाउ’का रूपमा सेवा सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ ।

कम्पनीले आफूहरू ‘एक्स’ नभएको र एक्स कर्पसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ । यद्यपि, नाम तथा ट्रेडमार्कको स्वामित्वसम्बन्धी विवाद अहिले अदालतमा विचाराधीन छ । ‘ट्विटर नाउ’लाई परम्परागत ट्विटरकै शैलीमा तयार पारिएको छ । यसमा ‘रिप्लाई’ र ‘रिट्विट’जस्ता परिचित सुविधा समावेश छन् । साथै, प्लेटफर्ममा ‘भेरा’ नामक स्वचालित तथा वास्तविक समयको तथ्य जाँच प्रणाली पनि राखिएको छ ।

कम्पनीका अनुसार अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै गलत सूचना फैलिन नदिनु प्लेटफर्मको मुख्य उद्देश्य हो । हाल ‘ट्विटर नाउ’को पहुँच सीमित प्रयोगकर्तामा मात्र राखिएको छ । ट्रेडमार्कसम्बन्धी कानुनी विवाद समाधान भएपछि सेवा सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ ।

अर्बपति एलन मस्कले सन् २०२२ को अप्रिलमा ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेका थिए । त्यसपछि उनले कम्पनीमा व्यापक पुनर्संरचना गर्दै तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) पराग अग्रवालसहित ठूलो संख्यामा कर्मचारीलाई हटाएका थिए । अन्तत: सन् २०२३ को जुलाईमा ट्विटरको नाम परिवर्तन गरी ‘एक्स’ राखिएको थियो ।