कीवर्डहरू -

कस्ता मोबाइल ‘अवैध’ हुन् ? यस्तो छ प्राधिकरणको दर्ता प्रक्रिया 

कस्ता मोबाइल ‘अवैध’ हुन् ? यस्तो छ प्राधिकरणको दर्ता प्रक्रिया 

अवैधरुपमा नेपाल प्रवेश गरेका मोबाइल बन्द गर्ने भन्ने सरकारको कुरा नयाँ होइन । केही वर्षदेखि यसको चर्चा सुरु भएको छ ।

खासगरी मोबाइल व्यवसायीहरुले भन्सार छलेर मोबाइल आयात गर्दा आन्तरिक बजारमा प्रभाव पर्यो भन्ने गुनासो गर्दै आएका थिए ।

एकातीर भन्सार छलेर मोबाइल ल्याउने र अर्कोतिर व्यक्तिगत रुपमा पनि मोबाइल ल्याउँदा ति सेट सरकारी सिस्टममा दर्ता हुन सकेका थिएनन् ।

जसले गर्दा एकातिर मुलुकको राजश्वमा प्रभाव परेको थियो भने अर्कोतिर तिनै अवैध मोबाइल प्रयोग गरेर हिंसा प्रर्वद्धन हुने काम भएको घटना पनि छन् ।

यिनै कुरालाई व्यवस्थित गर्न भनेर सरकारले भन्सार छलेर र व्यक्तिगत रुपमा नेपाल भित्रिएका मोबाइल सेटको आइएमईआई नम्बर नेपाल दूरसञ्चार प्राधिकरणको सिस्टम मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एडिएमएस) मा दर्ता गर्न भनेको हो ।

गत शनिबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एडिएमएस) सञ्चालनमा ल्याउँदै त्यस्ता अवैध मोबाइल रोक्ने घोषणा गरेका छन् ।

अब तपाईले थाहा पाइसक्नु भयो अवैध भनेका कस्ता मोबाइल हुन् । यदि तपाईले विदेशबाट ल्याउनु भएको छ वा कसैले पठाइदिएको छ भने त्यसमा आईएमईआई नम्बर दर्ता भएको हुदैन ।

अर्को, यदि तपाईले बजारमा किनेको मोबाइल भन्सार छलेर ल्याएको मध्ये परेको छ भने त्यस मोबाइल सेटको पनि आईएमईआई नम्बर दर्ता भएको हुदैन ।

त्यस्ता मोबाइलमात्र प्राधिकरणमा दर्ता गर्नुपर्ने हुन्छ । यदि तपाईंले चलाइरहेको मोबाइल भन्सारबाट कानुनी रुपमै आएको छ भने भन्सार मै आईएमईआई नम्बर दर्ता भइसकेको हुन्छ । आत्तिनु पर्दैन ।

अवैध मोबाइललाई रोक्न तथा मोबाइलको व्यवस्थित प्रयोगका लागि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याउन लागिएको नेपाल दूरसञ्चार प्राधिकरणका सह प्रवक्ता अच्युता नन्द मिश्रले बताए ।

‘अहिले तपाईले किन्नु भएको मोबाइल अरूकै नाममा हुन सक्छ वा कतै पनि रेकर्ड नभएको हुनसक्छ,’ उनले आइसिटी समाचारसँग भने, ‘त्यो रेकर्ड राख्नलाई पनि मोबाइल डिभाइस म्यानेजमन्ट सिस्टम सञ्चालनमा ल्याउन लागिएको हो ।’

अवैध मोबाइल आयातलाई रोक्न सकेमा सरकारलाई पनि राजस्वमा सहयोग पुग्ने मिश्र बताउँछन् । ‘हामीले धेरै सेवा मोबाइलबाटै लिन्छौं, रेकर्डेड नभएपछि सुरक्षाको दृष्टिले समस्या आइरहेको छ,’ उनी भन्छन्, ‘मोबाइल नै सुरक्षित भएन भने अरू सेवाको विश्वसनीयतामा पनि प्रश्न उठ्छ ।’

आफ्नो नाममा भएको मोबाइल अरूले प्रयोग गर्न नमिल्ने भएपछि सुरक्षित हुने उनले बताए ।

नेपालमा कुनै पनि मोबाइल आयातकर्ताले आयात गर्दा उक्त सेटको आईएमईआई नम्बर नियामक निकायका प्राधिकरणमा दर्ता गराउनु पर्छ । प्राधिकरणमा दर्ता गरेर स्वीकृति प्राप्त गरेपछि मात्र ति मोबाइल सेट आयात गर्न पाइन्छ ।

प्राधिकरणमा दर्ता भएको सेटको लिष्ट प्राधिकरणले भन्सारमा पठाउँछ । भन्सारले आयात भएको मोबाइल सेट र भन्सारमा प्राप्त सेटको आइएमईआई नम्बर मिलेको छ कि छैन भनेर प्रमाणित गरेपछि मात्र नेपाल भित्रिन्छन् ।

त्यसरी दर्ता भइसकेकपछि तपाईले विक्रेताबाट मोबाइल खरिद गर्दा गरेर सिम हाल्दा उक्त मोबाइल प्राधिकरणको सूचिमा (ह्वाइट लिष्ट)मा छ की छैन भनेर मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमले चेक गर्छ । उक्त परीक्षणमा उक्त फोन ह्वाइट लिष्टमा देखियो भने चल्छ नभए मोबाइल नै चल्दैन ।

मोबाइल र सिम दुवै आफ्नो नाममा हुनुपर्ने

तपाईको प्रयोग गर्ने मोबाइल र सीम आफ्नै नाममा हुनुपर्नेछ । साउनदेखि मोबाइल फोनको म्यानेजमेन्टको मात्रै हुने र त्यसको केही समयपछि सीमको पनि म्यानेजमेन्ट हुने सह-प्रवक्ता मिश्रले जानकारी दिए ।

मानौं तपाईको मोबाइल हरायो । मोबाइल तपाईको नाममा दर्ता छ । तपाईले मोबाइल ट्रान्सफर नगरेकोसम्म त्यो मेरो नाममा आउँदैन् । तर तपाईको नाममा अरुले सीम निकाल्न सक्दैन ।

‘मोबाइल चलाउन जसको नाममा मोबाइल छ उसैको नामको सिम चाहियो नत्र चलाउन मिलेन,’ उनी भन्छन्, ‘उक्त मोबाइल चलाउन नमिलेपछि त्यो कसैले चोर्दैन वा लिदैन् ।’

एउटाको मोबाइल फोन अरूको नाममा ट्रान्सफर गर्न प्राधिकरणले अनलाइन सिस्टम पनि ल्याउन लागेको उनले बताए ।

उनका अनुसार अहिलेसम्म नेपालमा आएका फोनको आईएमईआई नम्बर दर्ता नभएका भए सो मोबाइलको आईएमईआई नम्बर  दर्ता गर्न समय दिइने छ ।

प्राधिकरणले अनलाइनबाटै आईएमईआई नम्बर दर्ता गर्न सकिने व्यवस्था समेत गरेको छ त्यसका लागि यहाँ क्लिक गर्नुहोस् । त्यसपछि इन्डिभिजुअलमा क्लिक गरी त्यहाँ मागिएका आवश्यक विवरण राखेर दर्ता गर्न सकिने छ । अहिले उक्त साइटको सर्भर डाउन रहेको छ ।

साथै तपाईले यहाँ क्लिक गरी आफ्नो आईएमईआई नम्बर दर्ता छ की छैन् भनेर थाहा पाउन सक्नुहुनेछ । आफ्नो मोबाइलको आईएमईआई नम्बर *#०६# डायल गरेर थाहा पाउन सकिने छ ।

यो डायल गर्दा मोबाइलले एउटा मात्रै सीम सपोर्ट गर्छ भने एउटा मात्रै आईएमईआई नम्बर देखाउँछ भने यदी मोबाइलले २ वटा सिम सपोर्ट गर्छ भने २ वटा आईएमईआई नम्बर देखाउँछ । आईएमईआई नम्बर २ वटा भए प्राधिकरणमा दुबै नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।

साउनपछि रोजगारीका लागि विदेश गएका मानिसले ल्याएका मोबाइल विमास्थलमै वा अनलाइनबाटै दर्ता गर्न सकिने मिश्र बताउँछन् ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम अन्तिम चरणमा

प्राधिकरणले काठमाडौंको चावहिलमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम राख्दै छ । यसको ‘सेकेण्डरी साइटलगायत सिभिल कन्स्ट्रक्सन वर्क तयार रहेको छ । अब सामान ल्याएर जडान गर्ने काम मात्रै बाँकी रहेको उनले बताए ।

प्राधिकरणले यसअघि मोबाइल डिभाइस म्यानेजमेन्टका लागि पहिलो चरणको सामान ल्याएको थियो। उक्त सामान राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखिएको छ ।

अन्तर्राष्ट्रिय हवाइजहाज छिटो खुलेमा थप सामान ल्याएर जडान गरी साउनअघि पनि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा आउन सक्ने छ ।

प्राधिकरणले २०७६ असारमा करिब ७७ करोड ३९ लाख रुपैयाँमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदका लागि मलेसियन कम्पनी एम/एस निउमेरा कन्पनी सँग सम्झौता गरेको थियो । सो कम्पनीले ५ वर्षसम्म यो सिस्टम सञ्चालन तथा व्यवस्थापन गर्ने छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टममा मोबाइललाई सेतो, खैरो र कालो सूचीमा राखिनेछ । यो सिस्टम मोबाइल सेवा प्रदायकको नेटवर्कसँग जोडिनेछ ।