कीवर्डहरू -

दिगो विकासका लागि नेपालमा युएनडीपी र एनसेलको साझेदारी

दिगो विकासका लागि नेपालमा युएनडीपी र एनसेलको साझेदारी

नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवर्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन् ।

यसका लागि यूएनडीपीकी आवासीय प्रतिनिधी ऐशानी मेडागाङ्गोडा लाबे र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले जेठ २१ गते समझदारी पत्रमा (भर्चुअल रूपमा) हस्ताक्षर गरेका छन् ।

साइकल अभियानलाई ‘ग्रिनवे’ अर्थात् ‘हरितमार्ग’ एपको माध्यम लगायतबाट प्रवर्धन गरिनेछ । शहरी बासिन्दाका लागि दिगो शहरी यातायात र वातावरण–मैत्री जीवन पद्धतिको छनोट प्रवर्धन गर्ने उद्देश्यले यो अभियानको शुभारम्भ गत पुस २०७७ बाटै भएको थियो ।

शहर बासीका लागि स्वच्छ, स्वस्थ र सुपथ रहेको साइकल यात्रा कसरी वैकल्पिक माध्यम हुनसक्छ भन्ने कुराको पुष्टि गर्नु अभियानको ध्येय रहेको एनसेलले जनाएको छ ।

‘विश्व वातावरण दिवस २०२१’ को पूर्व सन्ध्यामा हस्ताक्षर भएको समझदारी पत्र अन्तर्गत यूएनडीपी र एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)को हिस्साका रूपमा काठमाडौं उपत्यका बाहिरका अन्य इच्छुक शहरहरूमा समेत साइकल अभियान विस्तार गर्न सहकार्य गर्नेछन् ।

अभियानले स्वस्थ शहरका लागि साइकल यात्राको नियमन, नक्साङ्कन, विश्वास तथा प्रोत्साहनका लागि विद्यमान प्रविधि प्रयोग गर्नेछ ।

‘यस समझदारी पत्र मार्फत, यूएनडीपी र एनसेलले काँधमा काँध देखि पाउमा पाउ मिलाउँदै एउटै चालमा लय मिलाउने छन् । सरल भाषामा भन्नुपर्दा, जीवनलाई स्वच्छ र सुरक्षित राख्न तथा पृथ्वीलाई संरक्षण गर्न टेवा दिइनेछ,’ यूएनडीपीकी आवासीय प्रतिनिधी ऐसानी मेडा गांगोडा लेबले भने, ‘यूएनडीपी शहरी दिगो प्रतिफल हासिल गर्न र वायु प्रदूषण, सवारी चाप तथा सडक सुरक्षा एवं लाखौं शहरी बासिन्दाको गुणस्तरीय जीवनमा प्रत्यक्ष प्रभाव पार्ने सवालमा सार्वजनिक—निजी साझेदारीको प्रभावकारितामा विश्वास गर्दछ ।’

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यो अभियान दिगो समाज प्रतिको प्रतिबद्धता र मातृ कम्पनी आजियाटाको ‘नेट–जिरो कार्बन’लक्ष्यसँग जोडिएको बताए । उनले साइकल यात्राका अनेकन फाइदासँगै शहरमा यात्रा गर्ने शैलीमा परिवर्तनको सम्भावना देखिएको बताए ।

साइकल सिटी नेटवर्क नेपाल (सीसीएनएन)का अध्यक्ष शैलेन्द्र डंगोलले सबैका लागि पहुँच योग्य र सबैलाई फाइदा पुर्‍याउने एउटा खेल भएको बताए । कुनै पनि व्यक्तिले स्मार्टफोन बिना वायसको साथमा यसमा सहभागी हुन र सुविधा भोग गर्न पाउँने उनले बताए ।

​​​​​​​