काठमाडौं । सरकारले साउन १ गते (भोलि) देखि लागू हुने नयाँ कर व्यवस्थाअनुसार घरायसी विद्युत् उपभोक्तामाथि मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने तयारी पूरा गरेको छ । यससँगै नेपाल विद्युत् प्राधिकरणले नयाँ व्यवस्था कार्यान्वयनका लागि आफ्नो बिलिङ प्रणाली तथा सफ्टवेयर अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठका अनुसार साउन १ गतेपछि जारी हुने सबै विद्युत् बिलमा नयाँ कर प्रणाली स्वत: समावेश हुने गरी प्रणाली परिमार्जन भइरहेको छ । यसका लागि प्राधिकरणले भ्याटमा दर्ता हुने प्रक्रिया पनि पूरा गरिसकेको छ ।
नयाँ व्यवस्थाअनुसार मासिक ५० युनिटभन्दा बढी विद्युत् प्रयोग गर्ने घरायसी उपभोक्ताले अतिरिक्त खपतमा ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ । अर्थात् भ्याट सम्पूर्ण बिलमा नभई ५० युनिट नाघेको भागको विद्युत् महसुलमा मात्र लागू हुनेछ ।
उदाहरणका लागि, कुनै उपभोक्ताले एक महिनामा १०० युनिट विद्युत् खपत गरेमा पहिलो ५० युनिटको महसुल यथावत् रहनेछ भने बाँकी ५० युनिटको शुल्कमा मात्रै ५ प्रतिशत भ्याट जोडिनेछ ।
प्राधिकरणका अनुसार देशभरका करिब ५६ लाख ४० हजार घरायसी ग्राहकमध्ये करिब ३० लाख, अर्थात् ५४ प्रतिशत उपभोक्ताले मासिक ५० युनिट वा सोभन्दा कम विद्युत् प्रयोग गर्ने भएकाले उनीहरू नयाँ भ्याट व्यवस्थाबाट प्रभावित हुने छैनन् ।
तर ५० युनिटभन्दा बढी विद्युत् प्रयोग गर्ने करिब २६ लाख ग्राहकले भने नयाँ कर प्रणालीअनुसार अतिरिक्त खपतमा भ्याट तिर्नुपर्नेछ । यसमा ५१–१०० युनिट, १०१–२५० युनिट तथा २५० युनिटभन्दा बढी खपत गर्ने सबै घरायसी ग्राहक समेटिएका छन् ।
यता औद्योगिक, व्यावसायिक तथा अन्य गैर–घरायसी विद्युत् उपभोक्ताका लागि भने साउन १ देखि विद्युत् महसुलमा १३ प्रतिशत भ्याट लागू हुनेछ । भ्याटमा दर्ता भएका उद्योगहरूले भने तिरेको भ्याटलाई प्रचलित व्यवस्थाअनुसार इनपुट ट्याक्स क्रेडिटका रूपमा समायोजन गर्न सक्नेछन् ।
आईसीटी समाचार