काठमाडौं । डिजिटल प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धन तथा फिनटेकमा आधारित उद्यमका नवीन आविष्कार प्रदर्शन गर्ने उद्देश्यले आयोजित ‘NRB Fintech Innovation Showcase Event 2026’ सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले आयोजना गरेको उक्त कार्यक्रम शुक्रबार काठमाडौँको बालुवाटारस्थित राष्ट्र बैंक परिसरमा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धनलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्दै आएको बताए ।
उनले नवप्रवर्तनमा आधारित नियामकीय तथा सुपरिवेक्षकीय प्रणालीको विकासका लागि राष्ट्र बैंक प्रयासरत रहेको जानकारी दिए । फिनटेकको विस्तारसँगै सिर्जना भएका चुनौती व्यवस्थापनमा राष्ट्र बैंकको दोहोरो जिम्मेवारी रहेको उनको भनाइ थियो ।
‘एकातर्फ वित्तीय स्थायित्व, सुरक्षित भुक्तानी तथा ग्राहक संरक्षण सुनिश्चित गर्नुपर्नेछ भने अर्कोतर्फ वित्तीय प्रविधि र नवप्रवर्तनको विकाससँगै जोडिएका नयाँ जोखिम तथा चुनौतीको व्यवस्थापन पनि गर्नुपर्नेछ,’ उनले भने ।
गभर्नर पौडेलले फिनटेक नवप्रवर्तनको प्रवर्द्धन र विकासका लागि नेपाल सरकार, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, प्रविधि कम्पनी र वित्तीय क्षेत्रमा क्रियाशील संस्थाहरूबीच समन्वय तथा सहकार्य हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा डेपुटी गभर्नर किरण पण्डितले फिनटेक प्रवर्द्धनका लागि राष्ट्र बैंकबाट भएका नीतिगत तथा संरचनागत प्रयासबारे चर्चा गरेका थिए । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै डिजिटल प्रविधिमा आधारित वित्तीय सेवाका सन्दर्भमा राष्ट्र बैंकले अवलम्बन गरेका व्यवस्थाबारे जानकारी दिएका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा डेपुटी गभर्नर दीर्घबहादुर रावल, राष्ट्र बैंकका उच्च अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सरकारी निकाय, भुक्तानी प्रणाली सञ्चालक, फिनटेक कम्पनीलगायत सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
‘NRB Fintech Innovation Showcase Event 2026’ अन्तर्गत वित्तीय संस्था र फिनटेक कम्पनीका २७ वटा स्टल प्रदर्शनीमा राखिएका थिए ।
प्रदर्शनीमा डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, डिजिटल कर्जा प्रवाह, साइबर सुरक्षा प्रणाली, क्लाउड कम्प्युटिङ, वित्तीय ठगी तथा जोखिम व्यवस्थापन र प्रविधिमा आधारित नियमन (रेगटेक) सेवामा सम्बन्धित संस्था तथा कम्पनीले गरेका नवीन आविष्कार प्रदर्शन गरिएको थियो ।
राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनीलगायत संस्थाका एक हजारभन्दा बढी प्रतिनिधिले प्रदर्शनीको अवलोकन गरेका थिए । कार्यक्रमकै सिलसिलामा ‘Digital Lending and Credit for Underserved’ विषयमा प्यानल छलफलसमेत सञ्चालन गरिएको थियो ।
फिनटेक एलायन्स नेपालको तर्फबाट मनोज घिमिरेले सहजीकरण गरेको छलफलमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारी, ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र एलायन्सका अध्यक्ष अमित अग्रवाल प्यानलिस्टका रूपमा सहभागी थिए ।
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको ‘Fintech Strategy for Digital Financial Services (2026/27-2030/31)’ अन्तर्गत फिनटेक इकोसिस्टमका नवप्रवर्तक र अन्य सरोकारवालासँग समन्वय तथा सहकार्य गर्ने उद्देश्य राखेको छ ।
सोही रणनीतिअन्तर्गत बैंकले Digital Finance Innovation Hub (DiFi Hub) र Regulatory Sandbox लाई प्रभावकारी बनाउन ‘NRB Fintech Nexus’ संयन्त्रसमेत तयार गरेको छ ।
यसै रणनीतिअन्तर्गत आजको ‘Fintech Innovation Showcase’ आयोजना गरिएको हो । आगामी दिनमा Fintech Workshop, Hackathons र Innovation Challenges जस्ता कार्यक्रम सञ्चालन गर्ने राष्ट्र बैंकको योजना रहेको छ ।
आईसीटी समाचार