कैलाली । युवाको सिर्जनशीलता, नवप्रवर्तन र प्रविधिमा आधारित समस्या समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘उडान ह्याकाथन’ आयोजना हुने भएको छ । युरोपेली संघ ईयूको आर्थिक सहयोगमा सञ्चालित ‘उडान परियोजना’ अन्तर्गत युवा तथा विद्यार्थीलाई लक्षित गरी ह्याकाथन आयोजना गर्न लागिएको हो ।
लम्कीचुहा नगरपालिकासमेत साझेदार रहेको उक्त परियोजना युथ इनोभेसन ल्याब, हेफर प्रोजेक्ट नेपाल, नेपाल एप्लाइड म्याथमेटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) र वुमन इन इन्फर्मेसन टेक्नोलोजी नेपाल (वाइए नेपाल) को साझेदारीमा सञ्चालन भइरहेको छ ।
ह्याकाथनमा सहभागी भएर उत्कृष्ट नवप्रवर्तनकारी समाधान प्रस्तुत गर्ने विजेताले एक लाख रुपैयाँसम्म पुरस्कार प्राप्त गर्ने अवसर पाउनेछन् । नगरपालिकाले सिर्जनशील सोच भएका, समस्या समाधानमा रुचि राख्ने तथा प्रविधिको प्रयोगमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन चाहने नगर क्षेत्रका युवा तथा विद्यार्थीलाई ह्याकाथनमा सहभागी हुन आग्रह गरेको छ ।
ह्याकाथनमा सहभागी हुन इच्छुकले सूचनासँगै सार्वजनिक गरिएको ब्यानरमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन फाराम भर्नुपर्नेछ । त्यस्तै, ‘उडान कम्युनिटी’मा आबद्ध हुन अर्को क्यूआर कोड स्क्यान गर्न सकिने नगरपालिकाले जनाएको छ ।
ह्याकाथनमा सहभागिताका लागि आवेदन दिने अन्तिम मिति २०८३ मंसिर १४ गते तोकिएको छ । नगरपालिकाले तोकिएको समयभित्र दर्ता गरी आफ्नो प्रतिभा र सिर्जनशीलता प्रस्तुत गर्न युवालाई आग्रह गरेको छ । साथै, उक्त सूचना नगरभित्रका सबै शैक्षिक संस्था, विद्यार्थी तथा युवामाझ पुर्याइदिन पनि नगरपालिकाले अनुरोध गरेको छ ।
आईसीटी समाचार