काठमाडौं । नेपालमा नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यसहित २४ घण्टे ‘स्टार्टअप ह्याकाथन’ आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा आगामी नोभेम्बर ५ र ६ मा काठमाडौं वर्ल्ड स्कुलमा ह्याकाथन सञ्चालन हुन लागेको हो ।
स्टार्टअप उद्यमशीलताको विकास, नयाँ व्यावसायिक अवधारणाको प्रवर्द्धन तथा सम्भावनायुक्त उद्यमलाई लगानीका अवसरसँग जोड्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
ह्याकाथनमार्फत नवीन व्यावसायिक सोच, प्रविधिमा आधारित समाधान र बजारमा विस्तार गर्न सकिने सम्भावना भएका स्टार्टअप पहिचान गरिनेछ । पहिचान भएका उद्यमलाई लगानीकर्ता, अनुभवी मार्गदर्शक तथा उद्यमशीलता क्षेत्रका सरोकारवालासँग जोड्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
कार्यक्रममा सहभागी टोलीहरूले २४ घण्टाको सीमित समयभित्र आफ्ना व्यावसायिक अवधारणालाई थप परिष्कृत गर्नेछन् । उनीहरूले तयार पारेका समाधानको सम्भाव्यता, व्यावसायिक मोडेल, बजारको आवश्यकता र भविष्यमा विस्तार गर्न सकिने योजनासहित निर्णायक मण्डलसमक्ष प्रस्तुति दिनेछन् ।
ह्याकाथनबाट उत्कृष्ट तीन स्टार्टअप टोली छनोट गरिने आयोजकले जनाएको छ । छनोटमा परेका टोलीले आगामी चरणमा लगानीकर्ता, मार्गदर्शक तथा उद्यमशीलता क्षेत्रका अन्य सरोकारवालासमक्ष आफ्ना व्यावसायिक अवधारणा प्रस्तुत गर्ने अवसर पाउनेछन् ।
आयोजकका अनुसार कार्यक्रमको उद्देश्य उत्कृष्ट व्यावसायिक विचार छनोट गर्नुमा मात्र सीमित छैन । ती विचारलाई वास्तविक र दिगो व्यवसायमा रूपान्तरण गर्न आवश्यक लगानी, व्यावसायिक मार्गदर्शन तथा सञ्जालसँग जोड्नु पनि यसको प्रमुख लक्ष्य हो ।
नेपालमा प्रारम्भिक चरणका स्टार्टअपहरूले लगानीमा पहुँच, बजारमा पहिचान स्थापित गर्ने अवसर, अनुभवी मार्गदर्शक र व्यावसायिक सञ्जालको अभावजस्ता चुनौती सामना गर्दै आएका छन् । यस्तो अवस्थामा ह्याकाथनले युवा उद्यमी तथा नवप्रवर्तकलाई आफ्ना व्यावसायिक समाधान परीक्षण गर्ने, अवधारणा सुधार गर्ने र सम्भावित लगानीकर्तासम्म पुग्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालको सहकार्यले युवा उद्यमीलाई प्रोत्साहन गर्नुका साथै नेपालमा नवप्रवर्तनमा आधारित उद्यमशीलताको संस्कृति विकास गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।
कार्यक्रमले प्रतिभाशाली उद्यमीको पहिचान, उनीहरूलाई प्रतिस्पर्धात्मक मञ्चको उपलब्धता तथा लगानीका सम्भावनासँग जोड्ने प्रक्रियालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । ह्याकाथनमा सहभागी हुन इच्छुक स्टार्टअप तथा नवप्रवर्तकले आयोजकले उपलब्ध गराएको दर्ता माध्यमबाट आवेदन दिन सक्नेछन् ।
आईसीटी समाचार