कीवर्डहरू -

किन लोकप्रिय भइरहेको छ क्लबहाउस ?

किन लोकप्रिय भइरहेको छ क्लबहाउस ?

आजभोलि नेपालसहित विभिन्न देशमा क्लबहाउस नामक मोबाइल एप लोकप्रिय छ । क्लबहाउस एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको भ्वाइस च्याटिङ एप हो । यो मार्च २०२० मा सर्वप्रथम अमेरिकामा सार्वजनिक भएको थियो ।

सुरुमा यो एपलाई उद्यम पूञ्जीपतिहरुले मात्रै चलाउने गर्दथे तर मस्क, बिलगेट्स जस्ता प्रख्यात व्यक्तित्वहरुले पनि यो एप चलाउन थाले देखि क्लबहाउस चर्चित बन्दै गइरहेको छ ।

यो भ्वाइस अनली शोहरु गर्नका लागि एकदमै प्रख्यात एप रहेको छ । यसमा पहिले पनि एलन मक्स, मार्क जुकरबर्ग जस्ता व्यक्तिहरुले प्रस्तुती दिईसकेका छन् । क्लबहाउस प्रयोग गर्न पहिले नै क्लबहाउस प्रयोग गरिसकेको व्यक्तिले इन्भाइट गर्नुपर्छ ।

यो एप आईओएसमा ८ मिलियन बढी डाउनलोड भइसकेको छ भने एन्ड्रोइडमा पनि १ मिलियन बढी डाउनलोड भइसकेको छ । एन्ड्रोइडमा क्लबहाउस केही समय अगाडि मात्रै सार्वजनिक भएको थियो ।

विज्ञहरुले अहिलेको समयमा क्लबहाउस एकदमै उपयुक्त पनि भएको बताएका छन् । अहिले घरबाटै काम गर्नुपरेको अवस्थामा सबैजनाले स्क्रीनमा धेरै हेर्न परिरहेको छ र त्यस्तो अवस्थामा स्क्रीनमा नहेरेर प्रयोग गर्न मिल्ने एप पक्कै पनि प्रख्यात हुने देखिन्छ ।

क्लबहाउस प्रयोग गर्दै अरू कामहरु पनि गर्न सकिने भएकाले प्रयोगकर्ताहरुले यसलाई धेरै रूचाएका छन् ।क्लबहाउसमा विभिन्न विषयमा भइरहेका छलफल सुन्दै अन्य काम गर्न सकिन्छ ।

अडियोमा मात्रै कुराकानी

क्लबहाउसले खेल्कुद देखि प्रविधिसम्म विभिन्न विषयहरुमा कुराकानी गर्ने मौका दिन्छ । यसमा कुनै टेक्स्ट मेसेज वा फोटो, भिडियोका लागि अप्सन छैन् । यसमा वक्ताको आवाज र सहभागीहरुको प्रोफाइल फोटो बाहेक केही पनि देख्न पाईदैन् ।

अडियो मात्रै भएकाले प्रयोगकर्ताहरुले कुराकानी अझै घनिष्ट हुने गरेको अनुभव साटेका छन् । क्यामेरामा नआउने हुँदा यसले मान्छेहरुलाई कल्पना गर्न बाध्य बनाएर अझै रुचीपूर्ण बनाएको पनि देखिएको छ ।

पहिले कन्फेरेन्सहरुमा जाँदा पनि महङ्गो टिकेट किनेर जानुपर्थ्यो भने क्लबहाउसको कारणले सजिलै कन्फेरेन्सहरु सुन्न सकिन्छ ।

नेपालमा पनि चर्चित क्लबहाउस

नेपालमा पनि क्लबहाउस दिनप्रतिदिन एकदमै चर्चित बन्दै गईरहेको छ । विशेष गरी युवा पुस्तामा क्लबहाउसको आकर्षण छ । सजिलै साइन इन गर्न नमिल्ने हुँदा पनि यसले धेरैलाई आकर्षित गरिरहको छ ।

प्रयोगकर्ताहरुले यस माध्यमबाट विभिन्न कार्यक्रमहरु पनि गरिरहेका छन् । आजभोली प्रयोगकर्ताले धेरै समय क्लबहाउसमा पनि बिताउने गरेका छन् ।

नेपालका प्रयोगकर्ताले पनि स्टार्टअप, उद्यमशीलता, मार्केटिङ, पब्लिक स्पीकिङ, व्यवसायिक, प्राविधिक र राजनितीक लगायतका विषयमा क्लबहाउसमा रूम बनाइ छलफल गरिरहेका हुन्छन् ।

यो पनि पढ्नुहोस्ः क्लबहाउस कसरी प्रयोग गर्ने, रुम कसरी बनाउने ? (भिडियो)