कीवर्डहरू -

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग हस्तान्तरण

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग हस्तान्तरण

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले रसुवामा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुन:स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

NAIMA ले आफ्नो पूर्वनिर्णयअनुसार उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावित समुदायको राहत तथा पुन:स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

सहयोग रकम NAIMA अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा NAIMA का बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, Cimex Inc. (BYD) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, NAIMA का कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा NAIMA को डिजिटल एजेन्सी Digipal का तर्फबाट उत्सव कार्कीको सहभागिता रहेको थियो ।

सहयोग हस्तान्तरणका क्रममा NAIMA अध्यक्ष ऋतु सिंह वैद्यले रकम तुलनात्मक रूपमा सानो भएपनि यसको मूल भावना विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताइन् ।

उनले उक्त सहयोग NAIMA का सदस्य कम्पनीहरूसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट प्रदान गरिएको उल्लेख गर्दै संकट तथा विपद्का समयमा सरकार र प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गरिन् ।

“यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,” अध्यक्ष वैद्यले भनिन् । सहयोग ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले NAIMA ले प्रदान गरेको सहयोगको प्रशंसा गर्दै विपद्को संवेदनशील र कठिन घडीमा प्राप्त यस्तो सहयोग अत्यन्त मूल्यवान् रहेको बताए ।

NAIMA ले यसअघि नै रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।