कीवर्डहरू -

युरो कपले नेपाली इन्टरनेट ट्राफिकमा नयाँ ‘रेकर्ड’, प्रतिसेकेन्ड ४९ जीबीसम्म पुग्यो

युरो कपले नेपाली इन्टरनेट ट्राफिकमा नयाँ ‘रेकर्ड’, प्रतिसेकेन्ड ४९ जीबीसम्म पुग्यो

फुटबलप्रेमीका लागि यतिबेला ठूलो उत्सव नै चलिरहेको छ । एकै पटक युरो कप र कोपा अमेरिका कपअन्तर्गतका विभिन्न खेलका कारण उनीहरूलाई तालिका मिलाउन भ्याइनभ्याइ छ ।

नेपाली समयअनुसार राति ९:४५ बजेबाट सुरु भएर बिहान ७:४५ बजेसम्म युरो र कोपाअन्तर्गतका चारवटा खेल हुने गर्छन् । नेपाली फुटबलप्रेमी रातभर नै भए पनि यी खेल हेर्न व्यस्त देखिन्छन् । फुटबलप्रमीको यस्तै व्यस्तताले नेपालको इन्टरनेटमा भने नयाँ ‘रेकर्ड’ बनाएको छ ।

रेकर्ड बनेको दिन हो, असार १५ । जुन दिन युरो कपअन्तर्गत राउन्ड १६ का दुई खेल भएका थिए, फ्रान्स र स्विजरल्यान्ड अनि इङ्ल्यान्ड र जर्मनीबीच ।

निकै प्रतिस्पर्धात्मक रहेका यी दुई खेलमा पेनाल्टीसहित १७ गोल बनेका थिए । पौने ९:४५ बजे जब फ्रान्स र स्विजरल्यान्डबीचको पहिलो खेल सुरु भयो, नेपालको आन्तरिक इन्टरनेट ट्राफिक उकालो लाग्दै गयो ।

नेपालभित्रको आन्तरिक इन्टरनेट ट्राफिक मापन गर्ने इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) का अनुसार खेलका दौरान इन्टरनेट ट्राफिक प्रतिसेकेन्ड ४९.८८९ जीबीसम्म पुगेको थियो । संस्थाका प्रमुख कार्यकारी अध्यक्ष रुपेश श्रेष्ठका अनुसार यो नेपालभित्रको अहिलेसम्मकै उच्च इन्टरनेट ट्राफिक हो ।

‘युरो कपको खेल हुँदा एकै पटक ट्राफिक बढ्ने अनि मध्यान्तरमा बिस्तारै घट्ने र त्यसपछि फेरि खेल सुरु भएपछि बढ्ने प्रवृत्ति देखियो’ उनले भने, ‘यही क्रममा अहिलेसम्मकै उच्च ‘रेकर्ड’ पनि बन्यो ।’

सामान्य अवस्थामा नेपालको आन्तरिक इन्टरनेटको ट्राफिक प्रतिसेकेन्ड १२ जीबी हुने गर्छ । यद्यपि पछिल्लो समय त्यस्तो औसत पनि बढेर १५ जीबीसम्म पुगेको छ । ठूला किसिमका फुटबल खेलहरू सुरु हुनासाथ नेपालको आन्तरिक इन्टरनेट ट्राफिक बढ्ने गरेको श्रेष्ठको अनुभव छ ।

‘यसअघि पनि सन् २०१८ मा विश्व कपको समयमा ट्राफिक बढेर ३२ जीबीपीएससम्म पुगेको थियो,’ उनले भने । त्यो नै नेपालभित्रको आन्तरिक इन्टरनेट खपतमा यसअघिको रेकर्ड थियो ।

पछिल्लो समय सेवा प्रदायकहरूले युरो कपजस्ता इन्टरनेट कन्टेन्टको नेपालमै होस्टिङ गर्दा पनि आन्तरिक इन्टरनेट ट्राफिक बढी हुने पुगेको श्रेष्ठको भनाइ छ । यसले अर्कोतिर नेपाललाई आर्थिक रूपमा पनि फाइदा पुगेको उनको बुझाइ छ ।

‘नेपालभित्रै होस्टिङ हुँदा अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत नहुँदा ठूलो रकम बाहिरिनबाट पनि रोकिन्छ,’ उनले भने । पछिल्लो समय चर्चित इन्टरनेट कन्टेन्टहरूको क्यास सर्भर राखेर नेपालमै होस्टिङ गर्ने चलन पनि बढिरहेको उनले जानकारी दिए ।

ओभर दी टप (ओटीटी)मार्फत नै टेलिभिजन हेर्न सकिने सुविधाले पनि यसमा बल पुर्‍याएको उनको बुझाइ छ । अहिले डिस होम गो, नेट टीभी, भाया टीभी, प्रभु टीभीजस्ता एपमार्फत नै प्रयोगकर्ताले टेलिभिजन हेर्न सक्छन् ।

त्यस्तै इन्टरनेट सेवा प्रदायकले इन्टरनेटमै आधारित रहेर आफ्ना प्रयोगकर्तालाई टेलिभिजन सुविधा पनि उपलब्ध गराइरहेका छन् । इन्टरनेट प्रयोगमार्फत टेलिभिजन हेर्ने प्रवृत्तिले पनि ट्राफिक बढेको श्रेष्ठको तर्क छ ।

यसले अन्ततः नेपाललाई नै फाइदा पुग्ने उनले बताए । एनपीआईएक्सले आफ्ना सदस्यहरूबाट प्राप्त तथ्याङ्कका आधारमा नेपालको आन्तरिक इन्टरनेट ट्राफिक मूल्याङ्कन गर्छ । अहिलेका यसका करिब चार दर्जन सदस्य छन् ।

देशका प्रमुख दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक, सूचना प्रविधिसँग सम्बन्धित सरकारी निकाय, होस्टिङ सेवा प्रदायक यसका सदस्य छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखा छन् ।