काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको स्नातकोत्तर तहको मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विश्वविद्यालयको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ । घटनापछि नेपाल प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ भने विश्वविद्यालयले पनि छुट्टै छानबिन प्रक्रिया अघि बढाएको छ ।
त्रिविका अनुसार साउन ८ गते सञ्चालन भएको ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको प्रश्नपत्र परीक्षा चलिरहेकै बेला सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । प्रश्नपत्र बाहिरिएको सूचना फैलिएसँगै परीक्षा व्यवस्थापन र गोपनीयतामाथि प्रश्न उठ्न थालेको हो ।
यस घटनालाई गम्भीर रूपमा लिँदै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका क्रममा प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्तिलाई आइतबार बिहान नियन्त्रणमा लिइएको छ । उनीहरूमाथि डिजिटल माध्यमबाट प्रश्नपत्र सार्वजनिक भएको घटनामा संलग्नताको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको डिन कार्यालयले पनि सम्बन्धित निकायसँग समन्वय गर्दै साइबर माध्यमबाट प्रश्नपत्र सार्वजनिक भएको विषयमा अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि पत्राचार गरेको छ ।
यसैबीच, परीक्षा नियन्त्रण महाशाखाले घटनाको वास्तविकता पत्ता लगाउन प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला तथा केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा सदस्य रहेका छन् ।
समितिलाई प्रश्नपत्र कसरी बाहिरियो, सुरक्षा प्रणालीमा कहाँ कमजोरी रह्यो र भविष्यमा यस्ता घटना दोहोरिन नदिन के–कस्ता सुधार आवश्यक छन् भन्ने विषयमा अध्ययन गरी सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
परीक्षा प्रणालीमाथि पुन: उठ्यो प्रश्न
नेपालका विश्वविद्यालयहरूमा बेला–बेलामा प्रश्नपत्र चुहावट, परीक्षा व्यवस्थापनमा कमजोरी तथा गोपनीयता उल्लंघनका घटना सार्वजनिक हुँदै आएका छन् । यस्ता घटनाले विश्वविद्यालयको विश्वसनीयतामात्र होइन, हजारौं विद्यार्थीको मेहनत र परीक्षाप्रतिको विश्वास समेत प्रभावित हुने शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् ।
विशेष गरी डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै प्रश्नपत्रको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको भन्दै विज्ञहरूले परीक्षा सञ्चालन, प्रश्नपत्र वितरण तथा साइबर सुरक्षामा थप कडाइ आवश्यक रहेको सुझाव दिएका छन् ।
यस घटनाको अनुसन्धानबाट प्रश्नपत्र सार्वजनिक गर्ने वास्तविक समूह पहिचान हुने र दोषीमाथि कानुनी कारबाही हुने अपेक्षा गरिएको छ । साथै, छानबिन समितिको प्रतिवेदनले त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीमा आवश्यक सुधारका लागि महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ ।
आईसीटी समाचार