कीवर्डहरू -

अनलाइनबाटै मोबाइलको आईएमईआई दर्ता पुनः सुचारू, यसरी गर्नुहोस् दर्ता

अनलाइनबाटै मोबाइलको आईएमईआई दर्ता पुनः सुचारू, यसरी गर्नुहोस् दर्ता

अनलाइनबाटै मोबाइलको आईएमईआई नम्बर दर्ता गर्ने सिस्टम चल्न थालेको छ । केही समय अगाडि अवरूद्ध भएको यो सेवा दूरसञ्चार प्राधिकरणले पुनः सुचारू गरेको हो ।

प्राधिकरणले साउन १ गतेदेखि मोबाइल म्यानेजमेन्ट डिभाइस सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउँदै छ । यो सिस्टम लागु भएपछि नेपाल भित्रिने सबै मोबाइलको आईएमईआई नम्बर दर्ता हुनुपर्छ । यदी दर्ता नभए त्यस्ता मोबाइल चल्दैनन् ।

अहिले यो सिस्टम पूर्ण रूपमा लागु हुनेछैन् । निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय उडान बन्द यो पूर्ण कार्यान्वयनमा आउन २-३ महिना लाग्न सक्ने छ ।

त्यसकारण प्राधिकरणले अहिले राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट प्रारम्भिक काम शुरू गर्नेछ । जसमा नेपाल भित्रिने मोबाइलको जानकारी राखिने छ ।

प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालका अनुसार एमडीएमएसको लागु साउन १ देखि नै सुरु हुन्छ तर यो एकै पटक लागु हुने भन्ने होइन ।

‘हामीले चरणवद्ध रुपमा यसको लागु गर्दै जानेछौं,’ खनाल भन्छन्, ‘विनियमावलीले नै यो सुरु भएको ६ महिनासम्म चरणवद्ध रुपमा लागु गर्ने भनेर समय दिएको छ ।’

मोबाइल सेटको व्यवस्थापन गर्न बनेको विनियमावली ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम–२०७५’को दफा ३ को उपदफा ४ मा एमडीएमएस सञ्चालनमा आएको ६ महिनापछि दर्ता नभएका मोबाइल बन्द गरिनेछ भन्ने प्रावधान राखिएको छ ।

जसअनुसार साउन १ देखि नै दर्ता नभएका मोबाइल बन्द गर्न पाइदैन । ६ महिना कार्यान्वयनको समयावधि रहने स्पष्ट उल्लेख छ ।

खनालका अनुसार यो अवधिमा सबै लिष्टिङ गर्ने, मोबाइल आयातकर्ताहरुलाई जानकारी दिने, मोबाइल आयातकर्ता र भन्सार राजश्वलाई एक्सेस दिने काम हुनेछन् । साथै दूरसञ्चार सेवा प्रदायकसँग पनि सहकार्य गर्न हुनेछ ।

हाल चलिरहेका मोबाइल फोन साउन १ गतेदेखि बन्द नभएपनि यदी दर्ता भएका छैनन् भने मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नुपर्छ ।

यसरी गर्नुहोस् दर्ता

अनलाइनबाटै मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न शुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि इन्डिभिजुअलमा क्लिक गरी त्यहाँ मागिएका आवश्यक विवरण राखेर दर्ता गर्न सकिने छ ।

साथै तपाईले यहाँ क्लिक गरी आफ्नो आईएमईआई नम्बर दर्ता छ की छैन् भनेर थाहा पाउन सक्नुहुनेछ । यदी दर्ता छैन् भने दर्ता गर्नुपर्ने हुन्छ । आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन *#०६# डायल गर्नुहोस् ।

यो डायल गर्दा मोबाइलले एउटा मात्रै सीम सपोर्ट गर्छ भने एउटा मात्रै आईएमईआई नम्बर देखाउँछ भने यदी मोबाइलले २ वटा सिम सपोर्ट गर्छ भने २ वटा आईएमईआई नम्बर देखाउँछ । आईएमईआई नम्बर २ वटा भए प्राधिकरणमा दुबै नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।