कीवर्डहरू -

मोबाइल बैंकिङको कारोबार अहिलेसम्म कै उच्च, ११ महिनामा १८२ प्रतिशतले वृद्धि

मोबाइल बैंकिङको कारोबार अहिलेसम्म कै उच्च, ११ महिनामा १८२ प्रतिशतले वृद्धि

डिजिटल भुक्तानीको साक्षरता बढिरहेको बेला मोबाइल बैंकिङ कारोबार अहिलेसम्म कै उच्च भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकअनुसार मोबाइल बैंकिङबाट ५३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो अहिलेसम्म कै उच्च कारोबार हो ।

यसअघिको बैंक जेठमा ४८ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । एक महिना मै ८ प्रतिशतले वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांक हेर्ने हो भने पनि यस अवधिमा १८२ प्रतिशतले वृद्धि भएको छ ।

यस वर्षको पहिलो महिनामा मोबाइल बैंककिङको कारोबार १८ अर्ब ८३ करोड ९० लाख रुपैयाँ थियो । ११ महिनामा आइपुग्दा १८२ प्रतिशतले वृद्धि हुदै ५३ अर्ब बढी भएको हो । यो वर्षभरी मोबाइल बैंकिङ निरन्तर वृद्धि भएको देखिन्छ ।

मोबाइल बैंकिङ कारोबार गर्न बैंक तथा वित्तीय संस्थाहरु लागिरहेका छन् । पछिल्लो एक वर्षदेखि कोरोना संक्रमण बढेसँगै मोबाइल बैंक ह्वात्तै बढेको छ । बैंकहरुले आफ्नो नयाँ डिजिटल प्लेटफर्महरु सार्वजनिक गर्ने र नयाँ फिचरहरु थपिरहेका छन् ।

कनेट आईपीएसको बढ्यो, क्युआर र वालेटको घट्यो

राष्ट्र बैंकको तथ्यांकअनुसार ११ महिनामा कनेट आइपीएसको कारोबार बढेको छ भने क्युआरमा आधारित पेमेन्ट र वालेट पेमेन्ट घटेको छ ।

जेठ महिनामा कनेट आइपीएसबाट १ खर्ब ५८ अर्ब २५ करोड ४० लाख रुपैया बराबरको कारोबार भएको छ । त्यसअघिको महिनामा भने १ खर्ब ४१ अर्ब २७ करोडको कारोबार भएको थियो ।

वालेटबाट हुने कारोबार र क्युआरमा आधारित कारोबार भने घटेको छ ।

जेठ महिनामा वालेटबाट ८ अर्ब ३५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो महिना भनेको १० अर्ब १० करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै, क्युआरमा आधारित पेमेन्ट १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको भएको छ । जब कि त्यसअघिको महिलनामा २ अर्ब ५२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।