कीवर्डहरू -

नविनले तयार गरेको नेपाल अनलाइन स्कुल, जहाँ दैनिक ७० हजारले पढ्छन् नि:शुल्क कक्षा

नविनले तयार गरेको नेपाल अनलाइन स्कुल, जहाँ दैनिक ७० हजारले पढ्छन् नि:शुल्क कक्षा

काठमाडौं, काँडाघारीका नविन भट्टराई सूचना प्रविधि (आईटी) सम्बन्धी तालिम दिन मुलुकका विभिन्न जिल्ला घुमिरहेका थिए । उनी २५ भन्दा धेरै जिल्लाहरु घुम्दा लाखौं विद्यार्थी भेटे ।

मुलुकमा शिक्षाको स्तर कति कमजोर थियो, उनले ठाउँ ठाउँमा पुग्दा प्रत्यक्ष अनुभव गर्न पाए । गणित, विज्ञान, अंग्रेजी जस्ता विषय विद्यार्थीको लागि उत्तिण गर्न हम्मे परिरहेको थियो ।

उनलाई लाग्यो गुणस्तरीय शिक्षाबाट बन्चित यि विद्यार्थीको लागि केही गर्नुपर्छ । जसले गर्दा मुलुकभरका शिक्षाबाट बन्चित र पहुँच नभएका विद्यार्थीले एकै पटक सुविधा पाउन ।

यही सोँचका साथ सन् २०१७ मा ३० वर्षे नविनले खोले नेपाल अनलाइन स्कुल । सबै नेपाली विद्यार्थीलाई निशुल्क शिक्षा दिने उद्देश्यका साथ उनले गैर नाफामूलक संस्था खोले जसले गर्दा आज लाखौं विद्यार्थीहरु निशुल्कका रुपमा अनलाइन कक्षा लिन पाइरहेका छन् ।

‘स्कुल, केलजमा विद्यार्थीले जे पाउनु पर्ने हो त्यो सबैले पाउँदैनन्,’ उनले आईसिटी समाचारसँग कुरा गर्दै भने, ‘त्यो ग्यापलाई पूरा गर्न नेपाल अनलाइन स्कुल स्थापना भएको हो ।’

\"\"

नेपाल अनलाइन स्कुल निःशुल्क अनलाइन लर्निङ प्लेटफर्म हो । कक्षा १ देखि स्नातकसम्मका कोर्षहरु नेपाल अनलाइन स्कुल नामक युट्युब च्यानलमा राखिएको छ । उक्त च्यानल मोनिटाइज गरिएको छैन् । च्यानल मोनिटाइज योजना पनि छैन उनको ।

उनीहरुको टिमले माइक्रोसफ्ट, एप्पल, वाकमलगायतका डिभाइस प्रयोग गरेर पढाइरहेका छन् । एउटा डिभाइसको मूल्य ३ लाखभन्दा बढी पर्ने उनी बताउँछन् ।

नेपाल अनलाइन स्कुल चलाउन उनले अहिलेसम्म कसैलाई पनि सहयोग मागेका छैन् । उनले आफ्नै व्यक्तिगत खर्चमा आवश्यक सामानहरु खरिद गरिरहेको बताए ।

उनका अनुसार यसमा अहिलेसम्म डेढ करोडभन्दा बढी व्यक्तिगत रकम खर्च भइसकेको छ । देशको उन्नति र प्रगतिका लागि यो काम गरेको उनी बताउँछन् । ‘मैले आम नेपालीको लागि सहि काम गरेको छु,’ उनी भन्छन ।

नेपाल अनलाइन स्कुल भोलेन्टिएर रूपमा सञ्चालन छ । यसमा अहिलेसम्म २०० भन्दा बढी भोलेन्टियर आवद्ध भएका छन् । जसमा भट्टराईसहित १० जना दैनिक १८ घण्टा खटिन्छन् । भोलेन्टियरहरुलाई उनले भिडियो बनाउन ३ देखी ५ लाखसम्मका डिभाइसहरु आफ्नै खर्चमा दिदै आएका छन् ।

यसमा देशभरका ७७ जिल्लाबाट र विदेशका नेपाली प्रोफेसरहरुले पनि भोलेन्टियर रूपमा काम गरिरहेको उनले बताए । नेपाल अनलाइन स्कुललाई आफूसँग भएका पुराना किताब तथा नोटहरु पनि दिन सकिन्छ ।

\"\" भिडियो बनाउने डिभाइस

आईटीमा मास्टर्स गरेका भट्टराईले बिल गेट्सले आफै हस्ताक्षर गरेका माइक्रोसफ्टका सर्टिफिकेट पाएका छन् । सीसीएनए, रेडह्याटलगायतबाट सर्टिफिकेट पाएका छन् ।

उनीसँग ११ वटा स्कुलमा काम गरेको अनुभव भएका उनी ३ वटा संस्थामा आइटी हेड भएर काम गरिसकेका छन् । उनले आईटीका साथ साथै एजुकेसन, संगीत, योगसमेत पढेका छन् । उनको रूची अध्यात्मतिर पनि भएकाले २१ वटा आध्यात्मिक किताब प्रकाशन गर्ने उनको योजना छ ।

युट्युब च्यानल

नेपाल अनलाइन स्कुलको युट्युब च्यानल बाट दैनिक ७० हजार विद्यार्थीले पढिरहेका छन् । अबको केही महिनामा त्यो संख्या बढेर १ लाखसम्म पुग्ने उनको अपेक्षा छ । नेपाल अनलाइन स्कुलको युट्युब च्यानलबाट रेकर्ड गरिएका मात्र नभएर लाइभ कक्षा पनि सञ्चालन हुन्छन् ।

यसमा कम्प्युटर बेसिक, लोकसेवा तयारी कक्षा, बीबीए, बीबीएस, बीआईएम, अंग्रेजी भाषा, हिब्रु भाषा, इन्जिनियर, नर्सिङ, प्रवेश परीक्षा तयारी कक्षालगायतका भिडियोहरु राखिएको छ ।

अब मास्टर्सका पनि भिडियो राख्ने तयारी भइरहेको उनले बताए । ‘युकेजी देखि मास्टर्ससम्मका कन्टेन्ट यसमा राखिन्छ । ब्याचलरसम्मको कन्टेन्ट विकास गरेर लगभग सकियो,’ भट्टराई भन्छन्, ‘हामीले प्रत्येक प्रकाशकका किताबअनुसार भिडियो बनाएका छौं । अन्य थप कोर्षहरु पनि तयार भइरहेका छन् ।’

उनले कन्टेन्ट बनाउन २२ लाख बराबरको किताब खरिद गरेको बताए । नेपाल अनलाइन स्कुलमा १८ घन्टासम्मको एउटै भिडियो पनि राखिएको छ ।

युट्युबमा कक्षा र विषयहरु प्लेलिष्ट बनाएर भिडियो राखिएको छ । सेन्ट जेभियर, बुढानिलकण्ठ स्कुल लगायतका देश विदेशका टप विद्यालयमा पढेका विद्यार्थीले कन्टेन्ट बनाइरहेको उनी बताउँछन् ।

\"\"

इन्टरनेट नभएको ठाउँमा डाउनलोड गरेर हार्ड ड्राइभमा भिडियोहरु दिने गरेको उनले बताए । त्यसका लागि स्टोरेजको व्यवस्था भने आफैले गर्नुपर्छ ।

अहिलेसम्म देशभरका १ हजार बढी विद्यार्थीलाई अफलाइनमा भिडियो दिइएको छ । यदी कुनै विद्यालयले पनि मागेको खण्डमा डाउनलोड गरेर कन्टेन्ट दिन्छन् ।

यसमा भोलेन्टिएर गरेकालाई आईटीका ट्रेनिङहरु दिने गरेको भट्टराईले बताए । आईटीको ट्रेनिङ समेत उनले दिन्छन् ।

नेपाल अनलाइन स्कुलमा अहिले २० हजारबढी भिडियो अपलोड भइसकेका छन् । अरू अपलोड हुने तयारीमा छन् । एनिमेसन प्रयोग गरेर पनि अब भिडियोहरु अपलोड हुनेछन् ।

‘यसबाट कुनै पनि विद्यार्थीले घरमै बसेर अध्ययन गर्न सक्छ । समय र पैसाको पनि बचत भयो,’ उनी भन्छन, ‘साथै विद्यार्थीले फोन गरेर वा विभिन्न सामाजिक सञ्जालबाट प्रश्नहरु सोध्न सक्छन् ।’

प्रत्येक विद्यार्थीले ई-लर्निङको एक्सेस पाउनु पर्ने उनको भनाइ छ । सरकारले नगरे पनि आफ्नो रगत, हड्डी बेचेर भएपनि गर्ने इच्छा भएको उनले बताए ।

उनी भन्छन्, ‘नेपालका टप विद्यालयमा दिइने शिक्षा जस्तै हामीले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न त्यसैअनुसार मिहिनेत गरेका छौं । कन्टेन्ट विकास गरेका छौं ।’

उनीहरुले अहिले आँखा नदेख्नेहरूका लागि पनि कन्टेन्ट बनाइरहेका छन् । नेपाल अनलाइन स्कुलमा अहिले ५०० बढीले भोलेन्टिएरका लागि आवेदन दिएका छन् ।

तर उनीसँग अहिले भोलेन्टिएरलाई डिभाइस खरिद गर्नका लागि पैसाको आवश्यकता छ । भोलेन्टिएरका लागि पनि निश्चित मापदण्ड तोकिएको छ । उनीहरुको पनि परीक्षा हुन्छ । त्यसपछि मात्रै छनोट हुन्छन् ।

\"\"

नेपाल अनलाइन स्कुलमा नेपाली र अंग्रेजी दुबै भाषामा कन्टेन्टहरु राखिएको छ । यसमा नेपालका सरकारी तथा निजी स्कुलमा पढाइ हुने पाठ्यक्रमअनुसार कन्टेन्ट तयार गरिएको छ ।

पुराना प्रश्नपत्रका भिडियो बनाएर पनि राखिएको छ । आध्यात्मिक विषयका भिडियोहरु पनि अब यसमा समावेश गर्ने योजना रहेको भट्टराई बताउँछन् ।

यसमा डिजाइनिङ, एआई, डिप लर्निङ, न्युरल नेटवर्क, व्यवस्थापन सीप, लगायतका कोर्षहरु पनि थप हुने उनले जानकारी दिए ।

अब गणित, विज्ञान, अंग्रेजी, आईटी, कम्प्युटर साइन्स लगायतको लेभलअनुसार सिरिज निर्माण गर्ने उनीहरुको योजना छ । विद्यार्थीको माग अनुसार भिडियो निर्माण भइरहेको भट्टराईले बताए ।

नेपाल अनलाइन स्कुल भनेर संस्था दर्ता गर्न नपाएको उनले गुनासो गरे । उनी भन्छन, ‘नियम कानून परिवर्तन गर्नुपर्‍यो ।’

राम्रो काम गरिरहेको छ भने किन दर्ता गर्न नदिने ? उनले प्रश्न गरे । एउटा स्कुल शब्दले दर्ता गर्न नमिलेको उनले बताए । अब उनीहरु एउटा परोपकारी संस्था दर्ता गरेर यसलाई अगाडि बढाउने प्रक्रियामा छन् ।

नेपाल अनलाइन स्कुल अहिलेसम्म १० करोड ६८ लाख माझ पुगेको छ । यसबाट अहिलेसम्म ७० लाखले अध्ययन गरेका छन् । ४८ लाखले लगातार अध्ययन गरिरहेका छन् ।

नेपाल अनलाइन स्कुललाई अझै अगाडि अब आर्थिक सहायताको खाँचो परेको उनले बताए । अहिलेसम्म कुनै पनि संस्था वा व्यक्ति आर्थिक सहयोगका लागि नआएको भट्टराई बताउँछन् ।

\"\"

आर्थिक सहयोग गर्न इच्छुकले ९८४९५९५८९५ मा सम्पर्क गर्न वा इसेवा गर्न सक्ने छन् । सहयोगको पार्दर्शीता राखिने पनि उनले जानकारी दिए ।

साथै आफुसँग भएका पुराना किताब, नोटहरू सहयोग माथिको नम्बरमा सम्पर्क गर्न सक्छन् । नेपाल अनलाइन स्कुललाई आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्न सक्ने उनले बताए ।