कीवर्डहरू -

मोबाइल सेवा प्रदायकले मानेनन् प्राधिकरणको नियम, एकवर्ष हुन लाग्दा प्रयोगमा आएन नयाँ शर्ट कोड

मोबाइल सेवा प्रदायकले मानेनन् प्राधिकरणको नियम, एकवर्ष हुन लाग्दा प्रयोगमा आएन नयाँ शर्ट कोड

नेपाल दूरसञ्चार प्राधिकरणले गत भदौमा ‘दूरसञ्चार सेवामा प्रयोग हुने शर्ट कोड र टोल फ्री व्यवस्थापन कार्यविधि, २०७७’ जारी गरेको थियो ।

उक्त कार्यविधिमा ब्यालेन्स रिचार्ज, ब्यालेन्स ट्रान्सफर र ब्यालेन्स चेकका लागि अब सबै मोबाइल सेवा प्रदायकले एउटै सर्ट कोड प्रयोग गर्नुपर्ने भनिएको थियो ।

यो कार्यविधि लागु भएको ६ महिनाभित्र सबै मोबाइल सेवा प्रदायकले ब्यालेन्स रिचार्ज गर्न १२२, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र ब्यालेन्स चेक गर्न १४४ शर्ट कोड प्रयोग गर्नुपर्ने बताइएको छ ।

तर कार्यविधि जारी भएको एकवर्ष हुन लाग्दा पनि मोबाइल सेवा प्रदायकले यो शर्टकोड प्रयोगमा ल्याएका छैनन् । प्रयोगकर्ताको सहजताका लागि प्राधिकरणले यो व्यवस्था गरेको थियो ।

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ शर्टकोड अनुसार ब्यालेन्स चेक गर्ने व्यवस्था गरेको छ भने अन्य शर्ट कोड प्रयोगमा ल्याएको छैन् । त्यस्तै नेपाल टेलिकम र स्मार्ट टेलिकमले उक्त शर्ट कोड प्रयोगमा ल्याएका छैनन् ।

यसबारे प्राधिकरणको नियमन महाशाखाका निर्देशक अम्बर स्थापितले मोबाइल सेवा प्रदायकलाई सोध्ने बताए । ‘यो प्रयोग भएको छैन् भने हामी सोध्छौं । कार्यविधिमा ६ महिनाभित्र नयाँ शर्टकोड पनि प्रयोग गर्नुपर्ने व्यवस्था छ ।’ उनले भने ।

मोबाइल सेवा प्रदायकलाई कार्यविधिमा उल्लेख भएअनुसार शर्टकोड प्रयोग ल्याउन निर्देशन दिने समेत उनले बताए ।

कार्यविधिमा सेवा प्रदायकले १ वर्षसम्म पुरानो तथा नयाँ दुवै कोडलाई समानान्तर रुपमा सञ्चालन गर्न सक्ने उल्लेख छ । तर कार्यविधि लागु भएको १ वर्षपछि भने कार्यविधिमा उल्लेख भएको कोड मात्रै प्रयोग गर्नुपर्ने व्यवस्था रहेको छ ।