कीवर्डहरू -

१६ वटा बैंक लुट्ने ह्याकरको धम्की, ‘इमेल आएको छैन, म्यासेज फरवार्ड मात्र’

१६ वटा बैंक लुट्ने ह्याकरको धम्की, ‘इमेल आएको छैन, म्यासेज फरवार्ड मात्र’

ह्याकरले नेपाल राष्ट्र बैंकसहित १६ वटा बैंकिङ प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्कीसहितको म्यासेज फरवार्ड र कल आएपछि बैंकिङ क्षेत्रमा आतंक फैलिएको छ ।

ह्याकरले बैंकहरु ह्याक गर्ने धम्किसहित नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल र सहप्रवक्ता नायराण प्रसाद पोख्रेललाई फोन गरेका थिए भने इमेल पनि पठाएको भन्दै उक्त इमेलको कपी विभिन्न व्यक्तिलाई फरवार्ड गरिएको छ ।

राष्ट्र बैंकले ह्याकरले इमेल गरेको भन्दै हल्ला फैलाएर आतंक मात्र गर्न खोजेको बताएको छ । राष्ट्र बैंकका सह प्रवक्ता नारायण पोख्रेलका अनुसार ह्याकरले म्यासेज फरवार्ड गरेर हल्लामात्र फैलाएका छन् ।

‘इमेल पठाएको भन्ने हल्ला मात्र हो,’ पोख्रेलले भने , ‘अहिलेसम्म कसैलाई पनि त्यस्तो कुनै इमेल आएको छैन ।’ इमेल गरेको जस्तो देखिने म्यासेज विभिन्न व्यक्तिलाई फरवार्डमात्र गरिएको उनले बताए । उक्त म्यासेज मेलिङ सिस्टममा टाइप गरेको जस्तो देखिन्छ ।

ह्याकरले राष्ट्र बैंकका प्रवक्ता र सहप्रवक्तालाई फोन भनेको गरेका थिए । आफूलाई आएको फोन मालवेयर हो भन्ने थाहा पाएपछि नउठाएको पोख्रेलले बताए ।

उनलाई रातो अक्षर र रातो फ्यागसहितको फोन आएको थियो । नचिनेको नम्बर र मेलवेयर हुनसक्ने भएकाले फोन नउठाएको उनले बताए ।

राष्ट्र बैंकले यस विषयमा अध्ययन सुरु गरेको छ । ‘हाम्रो टिम हिजोदेखि नै लागिसकेको छ,’ पोख्रेलले भने, ‘आइटी टिमले सकेन भने साइबर ब्युरोलाई लगाउँछौं ।’

ह्याकरले फरवार्ड गरेको म्यासेजमा ढकाल, पोख्रेल र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहलाई इमेल गरेको देखिन्छ । उक्त इमेल २०२१ जुलाई २१ को दिन ३ बजेर २८ मिनेटमा क्रियट गरेको देखिन्छ ।

ह्याकरले पठाएको भनिएको इमेलमा १६ वटा बैंकको नाम उल्लेख छ । नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गरिएको छ।

ह्याकरले इमेलमा माथि उल्लेखित बैंकहरुले २४ घण्टामा ठूलो क्षति भोग्नु पर्ने लेखेका छन् । साथै, नोट भन्दै यो हल्ला मात्र हैन, यसलाई जोकका रुपमा नलिनसमेत भनेका छन् । \"\"