कीवर्डहरू -

ह्वाट्सएपमा नयाँ साइबर खतरा, साथीको अकाउन्टबाटै आउँदै भाइरसयुक्त फाइल

ह्वाट्सएपमा नयाँ साइबर खतरा, साथीको अकाउन्टबाटै आउँदै भाइरसयुक्त फाइल

काठमाडौं । भारत सरकारको साइबर सुरक्षा निकाय सीईआरटी–इन (CERT-In) ले ह्वाट्सएप डेस्कटप र ह्वाट्सएप वेब प्रयोगकर्ताका लागि गम्भीर साइबर सुरक्षा चेतावनी जारी गरेको छ । कम्प्युटर वा ल्यापटपमा ह्वाट्सएप प्रयोग गर्ने प्रयोगकर्तालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको हो ।

सीईआरटी–इनका अनुसार साइबर अपराधीहरूले अहिले परिचित व्यक्तिको ह्वाट्सएप अकाउन्ट ह्याक गरेर त्यही अकाउन्टबाट भाइरसयुक्त फाइलहरू पठाइरहेका छन् । सन्देश विश्वासिलो व्यक्तिबाट आउने भएकाले धेरै प्रयोगकर्ताले कुनै शंका नगरी फाइल खोल्ने गर्छन्, जसले गर्दा उनीहरूको कम्प्युटरमा खतरनाक मालवेयर (Malware) इन्स्टल हुने र प्रणाली ह्याक हुने जोखिम बढेको छ ।

नक्कली बिल र बैंक स्टेटमेन्टमार्फत आक्रमण
एजेन्सीका अनुसार ह्याकरहरूले प्रयोगकर्तालाई झुक्याउन नक्कली बिल, बैंक स्टेटमेन्ट, पेमेन्ट रेकर्ड तथा अन्य व्यावसायिक कागजातका नाममा फाइल पठाउने गरेका छन् । यी फाइलहरू वास्तविक जस्तै देखिने गरी तयार गरिएकाले प्रयोगकर्ताले सहजै विश्वास गर्ने सम्भावना हुन्छ ।

ह्याकरहरूले सुरुमा कुनै वास्तविक प्रयोगकर्ताको ह्वाट्सएप अकाउन्टमा अनधिकृत पहुँच प्राप्त गर्छन् । त्यसपछि सोही अकाउन्टमा रहेका सम्पूर्ण सम्पर्क (Contacts) मा भाइरसयुक्त फाइल पठाएर साइबर आक्रमण विस्तार गर्ने गर्छन् ।

भिजुअल बेसिक स्क्रिप्ट फाइलमार्फत फैलिँदै भाइरस
प्रतिवेदनअनुसार यो भाइरस मुख्यत: Visual Basic Script (VBS) फाइलका रूपमा पठाइन्छ । प्रयोगकर्तालाई झुक्याउन फाइलको नाम Bill, Payment Record, Bank Statement वा Debt Notice जस्ता राखिएको हुन्छ ।

यति मात्र होइन, फाइललाई विश्वसनीय देखाउन त्यसमा Microsoft Windows Update जस्ता आधिकारिक देखिने विवरणसमेत समावेश गरिएको हुन्छ । यसले गर्दा धेरै प्रयोगकर्ताले उक्त फाइललाई सुरक्षित ठानेर खोल्ने र आफ्नो कम्प्युटर जोखिममा पार्ने सम्भावना रहने सीईआरटी–इनले जनाएको छ ।

कसरी सुरक्षित रहने ?
साइबर सुरक्षा विज्ञहरूले ह्वाट्सएप वेब वा डेस्कटप प्रयोगकर्तालाई अपरिचित मात्र होइन, परिचित व्यक्तिबाट आएका अनपेक्षित फाइल पनि पुष्टि नगरी नखोल्न सुझाव दिएका छन् । कुनै फाइल शंकास्पद लागेमा पठाउने व्यक्तिसँग छुट्टै सम्पर्क गरी पुष्टि गर्न, ह्वाट्सएप र कम्प्युटर नियमित रूपमा अपडेट गर्न तथा विश्वसनीय एन्टिभाइरस प्रयोग गर्न पनि सल्लाह दिइएको छ ।