कीवर्डहरू -

आजदेखि प्रेस पास र अनलाइन मिडिया दर्ता तथा नवीकरण अनलाइनबाटै, यस्तो छ तरिका

आजदेखि प्रेस पास र अनलाइन मिडिया दर्ता तथा नवीकरण अनलाइनबाटै, यस्तो छ तरिका

अब नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि अनलाइनबाटै निवेदन दिन सकिने भएको छ ।

साउन १० गते आइतबारदेखि नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्यहरुको सेवा प्रवाह अनलाइनबाट हुने भएका हुन् ।

यसका लागि सेवाग्राहीले आवश्यक कागजात सूचना तथा प्रसारण विभागको वेबसाइट गई सूचना व्यवस्थापन प्रणालीमा क्लिक गरी आफुलाई आवश्यक परेको सेवा छनोट गरी आवेदन दिन सक्ने छन् ।

अनलाइनबाट आवश्यक कागजातसहित प्रक्रिया पुरा गरी निवेदन दिएका सेवाग्राहीहरूले प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन सञ्चार माध्यम प्रमाणपत्र कामाडौं उपत्यकाको हकमा भोलिपल्ट उपलब्ध गराइने विभागले जनाएको छ ।

साथै उपत्यका बाहिरका सेवाग्राहीको हकमा अनुकुलता र माग अनुसार विभाग वा सम्बन्धित जिल्ला जिल्ला हुलाक कार्यालयबाट उपलब्ध गराउने व्यवस्था गरिने विभागले जानकारी दिएको छ ।

यस्तो छ तरिका

अनलाइनबाटै प्रेस पाउन, नवीकरण गर्न तथा अनलाइन मिडिया दर्ता गर्न र नवीकरण गर्न शुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ ३ वटा विकल्प देखिने छन् ।

आफुले कुन सेवा लिन चाहेको हो उक्त विकल्पमा छनोट गर्नुहोस् । यदी प्रेस पास लिन वा नवीकरण गर्न चाहनुहुन्छ भने रजिष्टर फर प्रेस पास (जर्नालिष्ट) मा जानुहोस् ।

त्यसपछि त्यहाँ रजिष्टर टाइपमा गएर नयाँ लिने की नवीकरण गर्ने भनेर छनोट गर्नुहोस् । यति गरेपछि त्यहाँ माग भए अनुसार आफ्नो विवरन राखेर प्रेस पासका लागि आवेदन दिन सकिने छ ।

त्यस्तै अनलाइन मिडिया दर्ता वा नवीकरण गर्नका लागि रजिष्टर अनलाइन मिडिया अप्सनमा क्लिक गर्नुहोस् ।

त्यसपछि त्यहाँ रजिष्ट्रेसन टाइपमा गएर नयाँ अनलाइन मिडिया दर्ता गर्ने वा नवीकरण गर्ने त्यो छनोट गर्नुहोस् । अनि त्यहाँ माग भएअनुसार आवश्यक विवरण राखेर अनलाइन मिडिया दर्ता गर्न वा नवीकरण गर्न सकिने छ ।

त्यसैगरी त्यहाँ अनलाइन पोर्टल भन्ने अर्को अप्सन रहेको छ, जसबाट मिडियाको दरबन्दी र श्रमविवरण पठाउन सकिन्छ ।

साथै सूचना तथा प्रसारण विभागले त्यहाँ युजर म्यानुअल पनि राखेको छ, जसबाट पनि माथिका यी अनलाइन सेवा कसरी प्रयोग गर्न सकिन्छ भनेर थाहा पाउन सकिन्छ ।