कीवर्डहरू -

नेपालको आफ्नै स्याटेलाइट राख्न मागिएका सबै प्रस्ताव खारेज, अब नयाँ प्रक्रियाबाट अगाडि बढाइने

नेपालको आफ्नै स्याटेलाइट राख्न मागिएका सबै प्रस्ताव खारेज, अब नयाँ प्रक्रियाबाट अगाडि बढाइने

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै स्याटेलाइट राख्न मागिएको प्रस्ताव खारेज गरेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै सबै प्रस्ताव नन रेस्पोन्सिभ भएकाले खारेज गरेको जानकारी दिएको हो ।

प्राधिकरणका सह-प्रवक्ता अच्युतानन्द मिश्रले चारवटै कम्पनीको प्रस्ताव रेस्पोन्सिभ नभएकाले खारेज गरेको बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको थियो ।

\"\"

सबै प्रस्ताव खारेज गरेको सूचना


प्राधिकरणको प्रस्ताव अनुसार गत पुसमा  देशका नौ कम्पनीले आशयपत्र बुझाएका थिए । आशयपत्र पेश गरेका कम्पनीमध्ये प्राधिकरणले पाँचलाई प्राविधिक रुपमा योग्य ठहर गर्दै आर्थिक प्रस्ताव माग गरेको थियो ।

पाँच कम्पनीसँग प्रस्ताव माग गरिएकामा चार कम्पनीले आर्थिक प्रस्ताव पेश गरेका थिए । जसमा भारतको केपिएमजी इन्सुरेन्स एन्ड कन्सल्टिङ सर्भिस एलएलपी, बेलायतको लन्डन इकोनोमिक्स लिमिटेड, फ्रान्सको युरो कन्सल्ट र संयुक्त अरब इमिरेटसको एसथ्री टेल इन्टरनेशनलले प्रस्ताव पेश गरेका थिए ।

प्राधिकरणले सार्वजनिक खरिद ऐन २०६३ अनुसार सबै प्रस्ताव र खरिद प्रक्रिया खारेज गर्ने निर्णय गरेको हो । अब नयाँ प्रक्रिया अनुसार यसलाई अगाडि बढाउने सह-प्रवक्ता मिश्रले जानकारी दिए ।