कीवर्डहरू -

ह्वाट्सएप बिजनेसमा नयाँ शुल्क प्रणाली, अब अर्डर अपडेटमा पनि पैसा लाग्ने

ह्वाट्सएप बिजनेसमा नयाँ शुल्क प्रणाली, अब अर्डर अपडेटमा पनि पैसा लाग्ने

काठमाडौं । मेटाले भारतमा ह्वाट्सएप बिजनेस प्रयोग गर्ने व्यवसायका लागि सन्देश शुल्कसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । नयाँ शुल्क प्रणाली १ अक्टोबर २०२६ देखि लागू भएको हो ।

यसअघि ग्राहकले पठाएको सन्देशको २४ घण्टाभित्र व्यवसायले जवाफ दिँदा तथा अर्डर पुष्टि, डेलिभरीलगायतका ‘युटिलिटी मेसेज’ पठाउँदा शुल्क लाग्दैनथ्यो । अब भने २४ घण्टाभित्र पठाइने त्यस्ता सेवामूलक सन्देशमा समेत शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

यद्यपि, प्रत्येक व्यावसायिक फोन नम्बरका लागि महिनामा पहिलो १ हजार सेवामूलक जवाफ निःशुल्क रहनेछन् । उक्त सीमाभन्दा बढी सन्देश पठाएपछि भने व्यवसायले लागू दरअनुसार शुल्क तिर्नुपर्नेछ ।

कति लाग्छ शुल्क ?
भारतमा अर्डर पुष्टि, डेलिभरी अपडेटलगायतका ‘युटिलिटी मेसेज’ का लागि मेटाले प्रति डेलिभर सन्देश ०.११५ भारतीय रुपैयाँ शुल्क तोकेको छ । १८ प्रतिशत जीएसटी जोड्दा यसको लागत करिब ०.१३६ रुपैयाँ पुग्छ ।

उदाहरणका लागि, कुनै व्यवसायले एक महिनामा १ हजार युटिलिटी मेसेज पठाएमा आधार शुल्क ११५ भारतीय रुपैयाँ हुनेछ । जीएसटीसहित यसको लागत करिब १३५.७० रुपैयाँ पर्न जान्छ ।

त्यस्तै, प्रवर्द्धनात्मक अफर तथा बिक्रीसम्बन्धी ‘मार्केटिङ मेसेज’का लागि प्रति सन्देश ०.८६३१ भारतीय रुपैयाँ शुल्क तोकिएको छ । ‘अथेन्टिकेसन मेसेज’ का लागि भने प्रति सन्देश ०.११५ रुपैयाँ दर कायम गरिएको छ ।

ग्राहकलाई भने शुल्क लाग्दैन
मेटाको नयाँ शुल्क व्यवस्था ह्वाट्सएप बिजनेस प्लेटफर्म प्रयोग गर्ने व्यवसायका लागि मात्र हो । सामान्य ग्राहकले व्यवसायलाई ह्वाट्सएपमार्फत सन्देश पठाउँदा वा प्राप्त गर्दा कुनै शुल्क तिर्नुपर्ने छैन ।

यसैगरी, फेसबुक पेजमा रहेका ‘Click-to-WhatsApp’ विज्ञापन वा ‘Call-to-Action’ बटनमार्फत ग्राहकसँग कुराकानी सुरु हुने अवस्थामा उपलब्ध ७२ घण्टाको नि:शुल्क अवधिलाई पनि मेटाले यथावत् राखेको छ ।

यस अवधिमा व्यवसायले ग्राहकलाई सन्देश पठाउँदा मेटाको सन्देश शुल्क लाग्ने छैन । नयाँ व्यवस्थाले विशेष गरी ह्वाट्सएपमार्फत ठूलो संख्यामा अर्डर अपडेट, डेलिभरी सूचना र अन्य सेवामूलक जानकारी पठाउने व्यवसायको सञ्चालन लागतमा प्रभाव पार्ने देखिन्छ ।