कीवर्डहरू -

व्यक्तिगत डेटा दुरुपयोगमा अमेजनलाई अहिलेसम्मकै धेरै एक खर्बभन्दा बढी जरिवाना

व्यक्तिगत डेटा दुरुपयोगमा अमेजनलाई अहिलेसम्मकै धेरै एक खर्बभन्दा बढी जरिवाना

विश्वकै एक ठूलो अनलाइन सपिङ कम्पनी अमेजनले डेटा दुरुयोग गरेको पाइएपछि एक खर्बभन्दा धेरै जरिवान तिर्नु पर्ने भएको छ ।

‘युरोपियन डेटा प्रोटेक्सन ल’ उल्लंघन गरेपछि ‘लक्जेम्बर्ग नेसनल कमिसन फर डेटा प्राटेक्सन’ले ८८६.६ मिलियन अमेरिकी डलर अर्थात झन्डै १ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँभन्दा धेरै जरिवाना तिराइएको हो ।

‘टेक जाइन्ट’ अमेजनलाई तोकिएको उक्त जरिवाना अहिलेसम्म कै धेरै भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

अमेजनले भने आफूले डेटाको कुनै पनि दुरुपयोग नगरेको जनाएको छ । बीबीसीका अनुसार अमेजनले जरिवाना दोषका आधारमा हुनुपर्ने बताउँदै यस जरिवानाको प्रतिरक्षा गर्ने जनाएको छ ।

युरोपियन युनियनको जेनेरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) नियमअनुसार कुनै पनि व्यक्तिको व्यक्तिगत डेटा प्रयोग गर्दा उसको सहमति लिन आवश्यक हुन्छ ।

लक्जेम्बरको डेटा प्रोटेक्सन अथोरिटीले जुलाई १६ मा उक्त जरिवाना तिराउने निर्णय गरेको थियो ।

पछिल्लो समयमा विश्वका ठूला टेक कम्पनीले डाटाको दुरुपयोग र गोपनीयता हनन् गरिरहेको भन्ने समाचार आइरहेको बेला लक्जेम्बर्गले अमेजनलाई कारवाही गरेको छ । साथै, अमेजन जस्ता विश्वका शक्तिशाली टेक कम्पनीले बजारमा एकाधिकार गरेको र शक्तिको दुरुपयोग गरेको पनि आरोप लाग्दै आएको छ ।

अमेजन युरोपियन युनियनबाट जरिवानामा पर्ने पहिलो ठूलो कम्पनी भने होइन तर यसलाई तिराइएको जरिवाना भने सन् २०१८ मा यो कानुन कार्यान्वयमा आएपछिको सबैभन्दा धेरै हो ।

यसअघि गुगल, ब्रिटिस एयरवेज, एच एण्ड एम र मेरिट होटल जस्ता कम्पनी पनि जरिवानामा परेका छन् तर उनीरुको जरिवाना यति धेरै थिएन । यति धेरै ठूलो जरिवाना तिराउने गरी अमेजनले के गरेको भन्ने विषय स्पष्टरुपमा नखुलेको समाचारमा बताइएको छ।

‘ग्राहकको सुरक्षा, सूचना र उनीहरुको विश्वास हाम्रो पहिलो प्राथमिकता हो,’ अमेजनकी प्रवक्ताले बीबीसीलाई भनेकी छन्, ‘डेटाको दुरुपयोग भएको छैन । थर्डपार्टीलाई कुनै पनि ग्राहकको डेटा दिइएको छैन ।’ लक्जेम्बर कमिसनको जरिवानाप्रति पूर्णरुपमा असहमति रहेको उनको भनाइ छ ।

यसअघि नोभेम्बरमा युरोपियन युनियनले अनलाईन व्यवसायमा ठूलो कम्पनी भएको आधारमा शक्ति दुरुपयोग गरेको र प्रतिस्पर्धीबाट अस्वस्थ फाइदा लिएको आरोप लगाएको थियो ।