कीवर्डहरू -

सूचना तथा प्रविधि क्षेत्रमा ५८ प्रतिशतले घट्यो विदेशी लगानी

सूचना तथा प्रविधि क्षेत्रमा ५८ प्रतिशतले घट्यो विदेशी लगानी

मुलुकको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भित्रिने वैदेशिक लगानीको प्रतिवद्धतामा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा यस क्षेत्रमा आउने विदेशी लगानीको प्रतिवद्धता ५८ प्रतिशतले कमी आएको छ ।

वैदेशिक लगानी भित्र्याउने निकाय उद्योग विभागको गत आर्थिक वर्ष २०७७/७८ को तथ्यांकअनुसार सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा ३ अर्ब रुपैया बराबरको लगानीको प्रतिवद्धता आएको छ ।

उक्त वर्ष १५ वटा परियोजनामा २ अर्ब ९५ करोड ५१ लाख ३० हजार रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको हो । उक्त परियोजनामा ५७० जनाले रोजगारी पाउने पनि उल्लेख गरिएको छ ।

यो त्यसअघिको वर्ष २०७६/७७ को भन्दा धेरै कमी हो । उक्त वर्ष ७ अर्ब ८ करोड १२ लाख ३० हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । उक्त वर्ष ३७ वटा परियोजनामा उक्त लगानी गर्दै २ हजार ८ सय ८ जनालाई रोजगारी दिने प्रतिवद्धता छ।

यस हिसाबले गत आर्थिक वर्षमा ४ अर्ब १२ करोड ६१ लाख रुपैयाँ अर्थात ५८ प्रतिशतले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विदेशी लगानीको प्रतिवद्धतामा कमी आएको छ ।

समग्रमा हेर्दा गत आर्थिक वर्षमा मुलुकमा ३२ अर्ब २ करोड २८ लाख २० हजार रुपैया बराबरको विदेशी लगानीको प्रतिवद्धता आएको छ । १८३ वटा परियोजनामा लगानी गर्ने प्रतिवद्धतासँगै ५ हजार ८ सय ३३ जनाले रोजगारी पाउने उल्लेख छ ।

उक्त वर्ष सबैभन्दा धेरै लगानीको प्रतिवद्धता पर्यटन उद्योगमा आएको छ । यस क्षेत्रमा १८ अर्ब ३१ करोड रुपैयाभन्दा बढीको लगानीको प्रतिवद्धता आएको छ ।

समग्रमा विदेशी लगानीको प्रतिवद्धतामा पनि कमी आएको छ । त्यसअघिको वर्ष ३७ अर्ब ८० करोड रुपैयाको विदेशी लगानीको प्रतिवद्धता आएको थियो ।

सबैभन्दा धेरै लगानीको प्रतिवद्धता चीनबाट

सूचना तथा प्रविधि क्षेत्रमा सबैभन्दा धेरै लगानीको प्रतिवद्धता चीनबाट आएको छ । चीनबाट ११ वटा परियोजनामा १ अर्ब १५ करोड रुपैया लगानी गर्ने प्रतिवद्धता छ । ति ११ परियोजनामा ५ सय ३६ जनाले रोजगारी पाउने उल्लेख गरिएको छ ।

सिंगापुरबाट १ अर्ब ६५ करोड रुपैया लगानीको प्रतिवद्धता गरिएको छ । यस क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता गर्ने अर्को देश हो कतार । कतारबाट १ वटा परियोजनामा ५ करोड रुपैया लगानी गर्ने प्रतिवद्धता जनाइएको छ ।

बेलायत र अमेरिकाबाट पनि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता आएको छ । बेलायत र अमेरिकाबाट एक एकवटा परियोजनामा क्रमशः ५ करोड र ५ करोड ५१ लाख ३० हजार रुपैया लगानी गर्ने प्रतिवद्धता गरिएको छ ।